मापसे चेकिङले ‘हेड इन्जुरी’ घट्यो

ट्राफिक प्रहरीले मापसे (मादक पदार्थ सेवन) चेकिङलाई कडाइ गरेपछि ‘हेड इन्जुरी’ (टाउकोको गम्भीर चोट) लागेका बिरामीको संख्या ८५ प्रतिशतले घटेको छ ।

मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा दुर्घटना बढेको भन्दै ट्राफिक प्रहरीले मापसे चेकिङलाई कडाइ गरेको थियो । मापसे चेकिङ सुरु भएको ६ वर्षमा ‘हेड इन्जुरी’ का बिरामी अस्पतालमा ८५ प्रतिशतले घटेको ट्राफिक प्रहरीको भनाइ छ। अन्नपूर्णपोष्टमा खबर छ।

‘ट्राफिक प्रहरीले मापसे जाँच गर्न थालेपछि हामीले धेरै पीडा भोग्नुपरेको छैन,’ वरिष्ठ न्युरो सर्जन डा. समीर आचार्यले भने । न्युरो सर्जनहरूको अनुभवका आधारमा मापसे जाँचपछि हेड इन्जुरीका बिरामी संख्या घटेको तथ्य बाहिर आएको हो । चिकित्सकहरूका अनुसार हेड इन्जुरीका बिरामी अधिकांश १८ देखि ३० वर्ष उमेर समूहका छन् । ‘मापसे जाँच नगर्दासम्म सडक दुर्घटनामा परेर आउने बिरामी हेर्न भ्याइनभ्याई हुन्थ्यो,’ उनले भने, ‘अहिले अपवादमा मात्रै ‘हेड इन्जुरी’ का बिरामी आउने गरेका छन् ।’

यस्तो छ पछिल्लो अवस्था
पाँच वर्षअघिसम्म सातामा ६ वटा ‘हेड इन्जुरी’ का बिरामीको अप्रेसन गर्ने गरिएको चिकित्सकहरूको भनाइ छ । अन्नपूर्ण न्युरो अस्पतालका मेडिकल डाइरेक्टरसमेत रहेका डा.आचार्यले भने, ‘विगतमा महिनामा ३० देखि ४० जनासम्म ‘हेड इन्जुरी’ का सामान्य बिरामी उपचारमा आउनेमा हाल कम्तीमा महिनामा पाँचजना आउने गरेका छन्, कहिलेकाहीँ एक–दुईजनाको अप्रेसन गर्नुपरेको छ, यसलाई ठूलो उपलब्धि मान्नुपर्छ ।’

बाइकको पछाडि बस्नेमा समस्या
वरिष्ठ न्युरो सर्जनहरूका अनुसार दुर्घटनामा परी उपचारका लागि आउने ‘हेड इन्जुरी’ का बिरामीमध्ये ५ प्रतिशत दुईपांग्रे सवारीसाधनका पछाडि बस्ने छन् । ‘हेलमेट नलगाएका कारण गम्भीर चोट लाग्नेमा पछाडि बस्ने रहेका छन्,’ डा. आचार्यले भने, ‘बाइकको पछाडि बस्नेलाई पनि ट्राफिकले हेलमेट लगाउने प्रावधान गरे थप बिरामीको संख्या अस्पतालमा घट्नेछ ।’

‘हेड इन्जुरी’ को अप्रेसन अपवाद मात्र
ट्राफिक प्रहरीले १७ मंसिर ०६८ देखि उपत्यकामा मापसे चेकिङ थालेको थियो । मापसे गरेको पाइए प्रहरीले सवारी नियन्त्रण, लाइसेन्स प्वाल पार्ने, जरिवाना तिराउनुका साथै चालकलाई दुर्घटना सचेतनासम्बन्धी विशेष कक्षा लिन लगाउने भएपछि राति या दिउँसोको समयमा मापसे सेवन गरी सवारी चलाउने कम भएका हुन् । यसको सीधा प्रभाव अस्पतालमा आउने टाउकोका गम्भीर बिरामीको संख्यामा देखिएको वीर अस्पतालका वरिष्ठ न्युरो सर्जन डा. राजीव झाले बताए । उनले उपत्यकाको हकमा ८५ र देशभर ७० प्रतिशतले बिरामी घटेको जानकारी दिए । ‘मापसे चेक नहुँदा २४ घन्टा ‘हेड इन्जुरी’ को अप्रेसन गर्नुपथ्र्यो,’ झाले भने, ‘अहिले वीर अस्पतालमा हेड इन्जुरीको अपवादमा मात्रै अप्रेसन हुने गरेको छ ।’ उनले मापसेमा कडाइ नहुँदासम्म दिनमा १२ वटा ‘हेड इन्जुरी’ को अप्रेसन गर्नुपरेको बताए ।





Comments

comments

Leave a Reply

21270