रञ्जना हत्याको पुनः अनुसन्धान गर्न माग

मृतक रञ्जना शर्मा (बायाँ), पत्रकार सम्मेलनमा मृतकका बुबा रामनारायण शर्मा र आमा प्रभादेवी । तस्बिर : नयाँ पत्रिका

जनकपुरकी रञ्जना शर्माको हत्याकाण्डलाई पुनः अनुसन्धान गर्न परिवारजनले माग गरेका छन् ।

प्रहरी र सरकारी वकिल कार्यालय धनुषाले आर्थिक प्रभावमा परी दोषीहरूलाई उन्मुक्ति दिएको भन्दै परिवारले पुनः अनुसन्धान गर्न माग गरेको हो।

मृतक रञ्जनाकी आमा प्रभादेवीले मंगलबार पत्रकार सम्मेलन गरी घटनाको पुनः छानबिन हुनुपर्ने माग गरेकी हुन् । ६२ वर्षीय वृद्धले २२ वर्षीया युवतीलाई एक्लै घाँटी थिचेर मार्न नसक्ने दाबी गर्दै उनले घटनामा धेरैको संलग्नता भएको आशंका गरिन् ।

प्रभाले घटनाको चार दिनपछि ससुरा ठाकुर, श्रीमान् आनन्दमोहन शर्मा, जेठान अरविन्दकुमार शर्मा, सासू सुमित्रादेवी शर्मा र रिंकुकुमारी शर्माविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी दिएकी थिइन् । प्रहरीले ससुरा र सासूबाहेकलाई सोधपुछसमेत नगरेकोमा उनले आश्चर्यचकित भएको बताइन् ।

छोरीलाई पटक–पटक श्रीमान्सहित घरका अन्य सदस्यले मानसिक यातना दिँदै आएको उल्लेख गर्दै उनले भनिन्, ‘घटना भएको राति ८ बजे छोरीसँग कुराकानी गर्दा उनले घरमा चार–पाँचजना गेस्ट आउन लागेको बताएकी थिइन् । तर, राति ९ बजे सम्पर्क गर्दा फोन लागेन ।’ सोही राति छोरीसँग एक हजार रुपैयाँ लिएर ससुराले दुई किलो मासु र बियर किनेर ल्याएको उनले बताइन् । उनले राष्ट्रिय महिला आयोग, राष्ट्रिय मानवअधिकार आयोगलगायत निकायमा न्यायिक छानबिनको माग गर्दै ज्ञापनपत्र बुझाएकोसमेत जनाइन् ।

८ मंसिरमा जनकपुर उपमहानगरपालिका– २ किशोरी नगर बस्ने २२ वर्षीया रञ्जना शर्माको घरमै बलात्कार गरी हत्या भएको थियो । उक्त घटनामा सरकारी वकिलको कार्यालयले मृतक शर्माको ६२ वर्षीय ससुरा देवनारायण ठाकुरलाई मुख्य अभियुक्त बनाई जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दायर गरेको छ । सो मुद्दामा जिल्ला अदालत धनुषाका न्यायाधीश वासुदेव उप्रेतीले ८ पुसमा ठाकुरलाई पुर्पक्षका लागि जलेश्वर कारागार पठाएका थिए । घटनाका आरोपी मृतककी सासू सुमित्रादेवी ठाकुरलाई सामान्य तारिखमा छाड्न आदेश जारी गरेका थिए ।

एक वर्षअघि सामाजिक रीतिरिवाजअनुसार विवाह गरेकी सिरहाको लहान नगरपालिका– १८ लक्ष्मीनियाँकी रञ्जना शर्मा जनकपुरस्थित घरमा ससुरा र सासूसँग बस्दै आएकी थिइन् । मृतक रञ्जनाका श्रीमान् आनन्दमोहन शर्मा पोखरास्थित वन विज्ञान केन्द्रमा कम्प्युटर अपरेटर पदमा कार्यरत छन् ।

पुनः छानबिन गर्न कांग्रेसको पनि माग
कांग्रेस धनुषाले पनि घटनाको पुनः छानबिन गर्न माग गरेको छ । कांग्रेसले प्रदेश नम्बर २ का प्रहरी प्रमुखलाई छानबिनको माग गर्दै ज्ञापनपत्र बुझाएको हो । घटनाको सत्यतथ्य अनुसन्धान नभएको र केही अभियुक्तलाई बचाउन खोजिएको भन्दै कांग्रेसले दोषी पाइए अनुसन्धान अधिकृतलाई कारबाही गर्नसमेत माग गरेको छ । कांग्रेसको ज्ञापनपत्रमा रञ्जना शर्मा हत्याकाण्ड, वकिल टोलमा भएको सवारी दुर्घटना र प्रकाश मिश्रमाथि भएको छुरा प्रहारको घटनालाई समेत पुनः अनुसन्धान गर्नुपर्ने उल्लेख छ। नयाँ पत्रिकामा खबर छ।





Comments

comments

Leave a Reply

21331