नालापानीको कास्टिङ डाईरेक्टर राजेन्द्र रिमाल

बहुचर्चित निर्माणाधिन चलचित्र ‘नालापानी’ को कास्टिङ डाईरेक्टरमा नाट्यकर्मी राजेन्द्र रिमाल चयन भएका छन्।

विगत ३ दशकदेखि नेपाली रंगमञ्चमा सक्रिय रिमाललाई कास्टिङ डाईरेक्टरमा चयन गरिएपछि अहिले धमाधम अडिसन भईरहेको छ।

नाट्यकर्मी राजेन्द्र रिमाल

नेपाली चलचित्रमा कास्टिङ डाईरेक्टर राख्ने शुरुवात गर्ने रिमालहरुले नै गरेका थिए । यसअघि सर्वप्रथम ‘खाङ्री’ नामक चलचित्रमा सुनील पोखरेलले कास्टिङ डाईरेक्टरका रुपमा काम गरेका थिए।

चलचित्रमा योग्य र राम्रा कलाकारहरुलाई चयन गर्न लामो समय देखिको अनुभव भएकोले रिमाललाई चयन गरिएको निर्माता मनोज शाक्यले बताए । चलचित्रलाई अझ बढी प्रभावशाली बनाउने कोशिशमा निर्माण पक्ष रहेको उनले बताए।

नेपाली वीरताको उदाहरण संसारभरी फैलाएको नालापानीको लडाई र त्यसका कप्तान बलभद्र कुँवर नै चलचित्रको मुख्य कथा हो । विश्व विजय गरेको अंग्रेज फौजलाई तीन पटक पराजित गर्न सफल उक्तः युद्धमा अंग्रेजी फौजले अमानवीय ढंगले पानीको मुहान नै थुनेर नालापानी किल्ला कब्जा गरेको थियो।

चलचित्रमा वास्तविक सैनिकहरुको पनि सहभागिता रहनेछ, भर्खरै नेपाली सेनाबाट कलाकारहरुको अडिसन सम्पन्न भएको छ, अब अन्य कलाकारहरुको चयनको काम अघि बढेको छ । बाँकी कलाकारहरु भने नेपाली रंगमञ्च र चलचित्रका कलाकारहरुबाट चयन गरिने छ – रिमालले बताए।

चयन भएका कलाकारहरुलाई कार्यशालामा सहभागी गराएपश्चात छायांकनमा जाने योजना निर्माण पक्षले बनाएको छ।

चलचित्रको निर्माता मनोज शाक्य रहेका छन् भने निर्देशन रिमेश अधिकारीको रहनेछ । करीब ९ करोड लागतमा निर्माण हुन लागेको ‘नालापानी’ माघ तेश्रो साताबाट छायांकनमा जाँदैछ।





Comments

comments

Leave a Reply

21345