गच्छदारलाई सर्वोच्च अदालतले बोलाएपछि टेन्सन

काठमाडौं : सर्वोच्च अदालतले सुनसरी– ३ को पुनःमतगणनाको मुद्दामा सो क्षेत्रका नेपाली कांग्रेसका विजयी उम्मेदवार विजयकुमार गच्छदार र निर्वाचन आयोग दुवैलाई छलफलका लागि बोलाउने भएको छ ।

प्रधानन्यायाधीश गोपाल पराजुली तथा न्यायाधीश दीपकराज जोशी, ओमप्रकाश मिश्र, चोलेन्द्रशम्शेर जबरा र दीपककुमार कार्कीको संवैधानिक इजलासले आज अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफल गर्न गच्छदार र आयोग दुवै पक्षलाई बोलाउने आदेश गरेको हो ।

क्षेत्रमा वाम गठबन्धनतर्फबाट नेकपा (एमाले) की भगवती चौधरीले गच्छदारले निर्वाचन आचारसंहिताविपरीत कर्मचारीलाई लतपतिएको र बदर मतसमेत रुख चिह्नमा गणना गर्न लगाएको जनाउँदै पुनःमतगणना गर्नुपर्ने मागको मुद्दाको सुनुवाइपछि सो आदेश दिएको हो ।

चौधरीले यही पुस ११ गते सो क्षेत्रमा मंसिर २१ गतेको मतगणनामा १९औँ लटमा निर्वाचनको मतगणनाका क्रममा नौ वटा अर्धकट्टीसहितको मतपत्र पाइएको तर निर्वाचन अधिकृतले सिरियल नम्बर हेर्नसमेत नदिएको जिकिर गर्नुभएको छ ।

पाँच मतदान केन्द्रमा रुख चिह्नमा स्वस्तिक छाप फरक रहेको मतपत्र भेटिएको र त्यसलाई पनि सदर गरिएको तथा सूर्य चिह्नमा लागेको स्वस्तिक छापको घेरा स्पष्ट रहँदा रहँदै बदरमा गणना गरिएको जनाइएको छ । सुनसरी– ३ को मतगणनाबाट गच्छदारले ३८ हजार ९७२ र चौधरीले ३८ हजार ६५१ प्राप्त गर्नुभएको थियो । गच्छदार र चौधरीको मतअन्तर ३२१ छ ।रासस





Comments

comments

Leave a Reply

21357