तमूहरुको महान चाड ल्होछार / ल्होसारको उपलक्ष्यमा राष्ट्रपतिबाट शुभकामना व्यक्त

काठमाडौँ, १५ पुस- राष्ट्रपति विद्यादेवी भण्डारीले तमूल्होसार पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली तमू गुरुङ समुदायमा सुख, शान्ति, समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ।

तमूल्होसारका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उहाँले नेपालमा विभिन्न जातजातिले मनाउने विभिन्न चाडपर्वहरुले विश्वमा नेपालको छुट्टै पहिचान बनाएको बताउँदै तमू ल्होसार जस्ता राष्ट्रिय पर्वहरुले हिमाल, पहाड, तराइ र मधेसमा बस्ने सबै नेपालीबीच वन्धुत्व र एकताको भावना बढाउन मद्दत गरेका उल्लेख गर्नुभएको छ।

तमू गुरुङ्ग समुदायको यस पर्वले सबैमा उत्साह र उमङ्ग कायम गरी नेपालीबीच आपसी सहिष्णुता कायम गर्दै आर्थिक र सामाजिक रुपले समृद्ध मुलुकको निर्माण गर्न सबैमा प्रेरणा मिलोस् भन्ने कामना गर्दै राष्ट्रपतिले यस्ता संस्कृति र चाडपर्वले नेपालको चिनारी विश्वसामु प्रस्तुत हुन मद्दत पुगेको बताउनुभएको छ।

यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले तमु ल्होसारका अवसरमा सम्पूर्ण गुरुङ समुदायप्रति शुभकामना व्यक्त गर्दै ल्होसार जस्ता चाडपर्वले सामाजिक एकता, सद्भाव र धार्मिक सहिष्णुता कामय राख्ने बताउनुभएको छ।

आज दिनुभएको सन्देशमा उहाँले बुहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं भौगोलिक विविधतायुक्त हाम्रो देशमा यस्ता मौलिक पर्वको ठूलो महत्व रहेको बताउँदै यस्ता पर्वले नेपालीबीच आपसी सद्भाव, सामाजिक एकता र भ्रातृत्व कायम गर्ने विश्वास व्यक्त गर्नुभएको छ।

रासस





Comments

comments

Leave a Reply

21363