ईन्डीपेन्डेन्ट युथ अर्गनाईजेसन एक्सन ग्रुप अफ धरान र बीपी प्रतिष्ठान – राजेन्द्र रिमाल

राजेन्द्र रिमाल –
पैतालिस सालमा भूकम्प जांदा धरानका घरहरु भत्किएका, चर्र्किएका, मक्किएका मात्र होईन धरानको सपना, भाग्य र भविष्यहरु पनि भत्किएका थिए। मनहरु भत्किएका थिए, भाग्यहरु मक्किएका थिए, भविष्यहरु चर्किएका थिए। त्यो भौतिक भूकम्प जानु केही समय अघि नै धरानस्थित ब्रिटिश क्याम्प उठेर पोखरामा समाहित हुनु धरानको लागि एउटा ठूलो भूकम्प थियो। त्यो भूकम्पले धरानको बजार, अर्थ राजनीति र भविष्यमाथि नै प्रश्नचिन्ह खडा गरेको थियो। पछि गएको भूकम्प त झन रक्तचापको रोगीलाई चिनी रोग थपिएजस्तै भयो।

राजेन्द्र रिमाल
धरान क्रमशः मृत शहर हुने तीब्र गतिमा थियो। यहांका सरकारी कार्यालयहरु निरन्तर सारिंदै थिए। तत्कालिन अवस्थामा धरानलाई कोशी अञ्चलको सदरमुकाम भनिएको थियो, मानिएको थिएन । कोशी अञ्चालधिशको कार्यालय धरानमा होईन बिराटनगरमा राखिएको थियो। भएको अञ्चल अदालत बिराटनगर सारिएको थियो। अन्य अञ्चलस्तरीय कार्यालयहरु पनि विभिन्न नाम र बहानामा सार्ने उपक्रम चलिरहेको थियो। पछि त अञ्चलस्तरीय सबै संरचनाहरु नै खारेज गरियो। बांकी रहेका केही कार्यालयहरु पनि आज पर्यन्त सार्ने क्रम निरन्तर जारी छ।

त्यसैबेला धरानलाई मृत शहर हुनबाट जोगाऔं भन्ने नाराका साथ “ईन्डीपेन्डेन्ट युथ अर्गनाईजेसन एक्सन ग्रुप अफ धरान” नामक संस्था स्थापना गरिएको थियो। जसमा पत्रकार, साहित्यकार तथा रंगकर्मीहरु समेत युवाहरुको सहभागिता रहेको थियो। पत्रकारको तर्फबाट राजकुमार कार्की र आनन्द श्रेष्ठ, रंगकर्मीहरुको तर्फबाट राजेन्द्र रिमाल र विशाल भण्डारी, साहित्यकारबाट अविराम, व्यापारीबाट महेश श्रेष्ठ र सरीता राईद्वारा संस्थापित यो संस्थाले स्थापनालगत्तै धरानको भाग्य र भविष्यका लागि आक्रामक ढंगबाट कार्यक्रम अघि सारेको थियो।


फाइल तस्वीर

त्यसबेला भारतीय मुलका अमेरिकीहरुको समूहले नेपालमा बनाउन खोजिरहेको १ हजार शैय्याको अस्पताल सहितको मेडिकल कलेज अर्गनाईजेसनकै पहलमा धरानको घोपाक्याम्पमा बनाउन सहमत गराउन सफल समेत भईसकेको थियो। जसकालागि सरकारी सहमति आवश्यक थियो। प्रस्ताव सरकार समक्ष पनि पुग्यो । तर सरकारमा पुग्ने बित्तिकै अर्कै चलखेल शुरु भयो।

गिरिजाप्रसाद कोईराला प्रधानमन्त्री भएको तत्कालिन नेपाली कांग्रेसको सरकारले उक्त मेडिकल कलेज मोरङ्गमा बनाउने भए मात्र स्वीकृति दिने अडान राख्यो। सात साल मै राजा त्रिभुवनलाई कालो झण्डा देखाउने र सत्यको पक्षमा सदैव अग्रपंक्तिमा रहने धरानप्रति राज्यको ऊ बेलादेखि नै बक्रदृष्टि रहंदै आएको हो।

सानो आन्दोलनको रुपमा शुरु भएको यो अभियानले चाँडै नै ठूलो आकार लियो । धरानलाई बचाउन “डु अर डाई” गर्न तयार युवाहरुलाई सहभागी हुन आव्हान गर्ने बित्तिकै यो अभियानमा युवाहरुको लर्को नै लाग्यो। करीब ३ हजार युवाहरु यसका लागि तयार भएका थिए। त्यसमध्ये २ सयलाई कमाण्डो तालिम पनि शुरु गरिएको थियो। सरकारको चरीत्र नै त्यस्तै हुन्छ शायद, सानो स्वरमा नसुन्ने, विस्तारै बोल्दा नबुझ्ने, जनतालाई नटेर्ने। त्यही भएर कमाण्डो फोर्स नै तयार गर्नु पर्छ भन्ने मान्यताले बल पाएको थियो। शिरमा कात्रो बाँधेर निस्केका युवाहरुको यो अर्गनाईजेसन यति लोकप्रिय भयो कि यसको प्रभाव अन्य जिल्लामा पनि पर्न थालेको थियो।

यो संस्थाको सांगठनिक स्वरुपलाई अर्धभूमिगत बनाईएको थियो। त्यसैले कतिपय संरचनालाई सार्वजनिक गरिएको थियो भने कतिपयलाई भूमिगत नै राखिएको थियो। त्यसबेला धनकुटा, झापा, संखुवासभामा पनि सपोर्ट ग्रुपको विस्तार भएको थियो। धनकुटाको सपोर्ट ग्रुप कमान्डरको रुपमा रकम चेम्जोङ्ग थिए भने संखुवासभाका सपोर्ट ग्रुपको कमाण्डर हरि वैरागी दाहाल र झापा सपोर्ट ग्रुपको कमान्डर स्व. दोर्णाचार्य क्षेत्री रहेका थिए।

अर्गनाईजेसनको स्थापनासंगै यसले सरकारी चलखेलको भण्डाफोर गर्न थाल्यो। मोरङ्गको डाईनियामा स्थापना गर्न वार्गेनिङ्ग गरिरहेको बारे सर्वसाधारणलाई सुसुचित गर्न थाल्यो। सरकारी पक्षले मोरङ्गमा स्थापना गर्न दवाब दिए पनि मेडिकल कलेज स्थापना गर्न चाहने अमेरिकीहरु भने धरानमा बनाउन दिए बनाउने नत्र नबनाउने अडानमा थिए। उनीहरुले धरानलाई चयन गर्नुको मुख्य कारण भने यहाँको मौसमी वातावरण, ब्रिटीश क्याम्पको बनिबनाऊ भौतिक संरचना, सदभावपूर्ण समुदाय र पूर्वाञ्चलकै केन्द्र भएकोले थियो। जुन नेपालभरि कहीं पनि प्राप्त हुन सक्ने अवस्था नै थिएन।

अभियानको सफलताको लागि खासगरि सूचनाको प्रभावकारी सम्प्रेषणलाई महत्व दिईएको थियो। त्यहीबेला ईन्डीपेन्डेन्ट युथ अर्गनाईजेसनको बुलेटिनको रुपमा ब्लाष्ट टाईम्स पत्रिका प्रकाशन शुरु गरिएको हो जसको व्यावसायिक स्वरुप अहिले तपाईहरुको हातमा छ। त्यो बेला ब्लाष्ट बसस्टेन्ड मै रहेको पूर्वेली छापाखानामा छापिन्थ्यो। अर्गनाईजेसनको गतिविधि र आगामी कार्यक्रम समावेश गरी प्रकाशन गरिने उक्तः बुलेटिनका हजारौं प्रति हाताहात बिक्री हुन्थ्यो। हामीमा उत्साह र धरानलाई बचाउने अभिलाषा यति उत्कट थियो कि भानुचोक, छाताचोकमा हामी आफै पत्रिका बेच्थ्यौं।

आम मानिसलाई यो विषयमा सुसूचित गर्न बुलेटिनका साथै आफू आफू कार्यरत पत्रिकामा समाचार सम्पे्रषण गरिन्थ्यो। राजधानीबाट प्रकाशित हुने त्यसबेलाका अग्रणी पत्रपत्रिकाहरु नेपालीपत्र, देशान्तर, मातृभूमि, गोरखा एक्सप्रेस, जनज्योति, नेपाल आवाज, जनता, द ईन्डीपेन्डेन्ट, छलफल आदिले यो आन्दोलनलाई अत्यन्तै महत्वका साथ स्थान दिने गर्दथे। त्यसैबेला राजधानीबाट प्रकाशित हुने जनज्योति साप्ताहिकमा अर्गनाईजेसनका संयोजक राजकुमार कार्कीको विस्तृत अन्तर्वार्ता छापिएपछि त्यसले एकातिर धरानबासीमा व्यापक तरंग पैदा गर्यो भने अर्कातिर सरकारलाई पनि दबाव सिर्जना गरेको थियो। त्यही दबावको प्रभावका कारण पनि अर्गनाईजेसनको आन्दोलनको साम घुंडा टेक्न बाध्य बनाएको हो।

त्यस्तै यो सबै घटनाक्रमलाई समेटेर एउटा अडियो रेकर्डिङ्ग पनि तयार पारिएको थियो। जसलाई धरानका मुख्य मुख्य चोकहरुमा बजाईन्थ्यो। हजारौं पर्चा पम्प्लेट प्रकाशन गरी वितरण गरिएको थियो। तत्कालिन अवस्थामा सञ्चारमाध्यमहरुको अति सीमित उपलब्धता भएको बेला यसरी विभिन्न तरिकाले जनतालाई सुसूचित गराईएकाले आन्दोलनप्रति समर्थन, ऐक्यबद्धता र सहभागिता व्यापक भएको थियो।

राज्यको पूर्वाग्रह, निरन्तर निरिह बनेर हेरिरहनु परेको पीडा र अवसरबाट सँधै बञ्चित धरानबासीहरुले विद्रोह गरेका थिए। जसलाई नेतृत्व दिएको थियो ईन्डीपेन्डेन्ट युथ अर्गनाईजेसनले। आन्दोलन निरन्तर उत्कर्षतिर बढिरहेको थियो। त्यसैबेला तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोईरालाको धरानमा कार्यक्रम आयोजना गरिएको थियो। अर्गनाईजेसनले मेडिकल कलेज धरानको सट्टा मोरङ्गमा राख्ने षडयन्त्रको विरुद्धमा प्रधानमन्त्रीलाई कालो झण्डा देखाउने निर्णय गर्यो र आफ्ना कमाण्डो फोर्सका साथै युवा दस्तालाई समेत तयार गर्यो।

निर्धारित मितिमा प्रधानमन्त्रीको सवारी भयो। अर्गनाईजेसनका साधारण सदस्य तथा कमाण्डो फोर्सका युवा दस्ताका साथै आम मानिसको स्वतस्फूर्त सहभागितामा व्यापक कालो झण्डा देखाईयो। राम मन्दिरबाट शुरु भएको कालो झण्डा प्रदर्शन कार्यक्रम स्थल महेन्द्र क्याम्पससम्मै अटुट रुपमा रह्यो। सभास्थलमा जनताको घेराबन्दीमा परेका प्रधानमन्त्रीसंग जनताले मेडिकल कलेजको बारेमा गरेको प्रश्नबारे नाजवाफ हुंदै धरानमा नेपालकै सबैभन्दा ठूलो अस्पताल बनाउने जहाँ डाक्टर उत्पादन गर्ने मेडिकल कलेज पनि हुने उदघोष गर्न बाध्य भए।

त्यसरी आजको वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग स्थापना भएको हो। यद्यपि अमेरीकीहरुले बनाउने भनेको अस्पताल त बनेन तर भारत सरकारको सहयोगमा मोरङ्गमा बनाईने भनिएको यो प्रतिष्ठान धरानमा ल्याउन सफल भयो। त्यही भएर मोरङ्गियाहरुको यो प्रतिष्ठानप्रति सकारात्मक दृष्टिकोण रहने गरेको छैन। यसलाई उनीहरुले गास खोसिएको महशुश गरेर प्रतिशोधको भावना राख्ने गरेको पाईन्छ।

लामो संघर्षपश्चात प्रतिष्ठानको स्थापना भएपछि हाम्रो लक्ष्य प्राप्त भएको निष्कर्षसहित अर्गनाईजेसन पनि निस्क्रिय रहेको हो। यो निस्क्रियता गल्ती भयो कि भन्ने अहिले आएर महशुश हुन्छ। अर्गनाईजेसनको आक्रामक छवि प्रतिष्ठान बलियो नभईन्जेलसम्म कायम राख्नु पर्ने थियो र जसका कारण जो कसैले मनपरि गर्न नसकोस भन्ने कुरामा सचेत हुन पथ्र्यो भन्ने हाम्रो कमाण्डो फोर्सका युवाहरुले जोडदार ढंगले उठाएको कुरा सही भएको छ। तर प्रतिष्ठानमा हाम्रो अनावश्यक हस्तक्षेप राम्रो हुन्न, हाम्रो नाममा फेरि अर्को चलखेल नहोस्, र हामीमा कुनै किसिमको आग्रह, पूर्वाग्रह र लालच पैदा नहोस् भनेर अर्गनाईजेसनलाई निस्क्रिय बनाईएको थियो।

यस्तो विराट पृष्ठभूमि भएको वीपी प्रतिष्ठान अहिले आएर बेथितिको राजधानी भएको छ। यही बेथिति र बिधिबाट विमुख भएपछि प्रतिष्ठान अधोगतितर्फ उन्मुख भएको सबैलाई थाहा भएकै कुरा हो।

त्यसैले धरानको भाग्य र भविष्यसंग जोडिएको यो प्रतिष्ठानलाई बचाउन स्वाभाविक रुपमा ईन्डीपेन्डेन्ट युथ अर्गनाईजेसनको चासो बढेको छ। अहिलेसम्म शान्त बसे पनि बेखबर भने रहेको होईन। अतः संकटमा पर्दै गईरहेको वीपी प्रतिष्ठानलाई ठीक बाटोमा ल्याउन सबै धरानबासी सचेत हुन जरुरी छ। सबैले आफ्नो ठाउंबाट योगदान नगरी प्रतिष्ठानलाई बचाउन नसकिने त देखिसकियो। त्यसैले अब क्षणिक समाधान मात्र नभएर दीर्घकालिन समाधानमा जानुको विकल्प छैन।

धरानका सबै राजनैतिक दल, नागरिक समाज तथा विभिन्न नामका समितिहरुको संलग्नतामा भएका समाधानहरु दीर्घकालिन हुनै पर्छ। नत्र उनीहरुको बौद्धिकतामै प्रश्न गर्ने ठाउं रहन्छ। अतः यो विषयमा संवेदनशील हुन आग्रह पनि छ। त्यसैगरि प्रतिष्ठानभित्रका कर्मचारीहरुको पनि प्रतिष्ठानलाई बचाउने जिम्मेवारी हुन्छ। बुझ्न जरुरी के छ भने प्रतिष्ठान भए मात्र कर्मचारी रहन्छन्, प्रतिष्ठान नै नभए के कर्मचारी। त्यसैले कर्मचारी, नर्स, डाक्टर सबै मिलेर नै प्रतिष्ठान बचाउन सकिन्छ। त्यसलाई धरानका सम्पूर्ण नागरिक समाज, राजनैतिक दल, संघसंस्थाहरुले समर्थन गर्नेछ।

प्रतिष्ठान अहिलेसम्म आईसोलेटेड टापु जस्तो छ धरानको लागि, त्यो प्रवृति तोड्नु पर्छ। बेथिति चरम उत्कर्षमा छ। भ्रष्टाचार छ, मनपरि छ। वीपी प्रतिष्ठानको प्रशासनलाई विधिको शासन भित्र ल्याउन जरुरी छ। थिति र विधि अनुसार प्रतिष्ठान चल्ने बित्तिकै यी देखिएका र गरिएका विवादहरुको फेरि फेरि विवादै नहुने गरी दीर्घकालिन समाधान हुनेछन्। हरेक साना साना कुराहरुमा राजनीति गर्ने, कर्मचारी, नर्स, डाक्टरहरुलाई त्यही फोहरी राजनीतिको आहालमा जाक्ने निकृष्ट काम तुरुन्तै रोक्नु पर्छ र कर्मचारी, नर्स अनि डाक्टरहरु पनि त्यो फोहर राजनीतिको आहाल हो भन्ने जान्दा जान्दै पौडी खेलिरहनु उनीहरुको स्वभाव र प्रतिष्ठाजन्य छैन भन्नेमा सचेत भएको पाईदैन। र तमाम बेथितिहरुलाई थाहा नपाएजस्तो गरी बस्नु पनि शोभा दिंदैन किनभने ती समाजका सचेत वर्ग हुन्, र ती जीवित पनि हुन् मृत प्रवृति छाडिहाल्नु पर्छ।

फेरि दोहोर्याउन जरुरी छैन होला– ईन्डीपेन्डेन्ट युथ अर्गनाईजेशन शान्त रहेको मात्र हो, बेखबर रहेको होईन। त्यसैले सम्बन्धित सबै सावधान हुन जरुरी छ। अहिले पनि अर्गनाईजेसन वीपी प्रतिष्ठानको संरक्षणका लागि सचेत छ। कुनै पनि बेला युवा दस्ता प्रतिष्ठानमा हस्तक्षेपको लागि तयार छ तर सबै भन्दा पहिला प्रतिष्ठानले आफ्नो समस्या आफै हल गरोस् भन्ने मात्र हो। निकै रस्साकस पछि प्रतिष्ठानको ताला त खुलेको छ तर ताला खुल्नु मात्र सम्पूर्ण समाधान भने होईन। यो तात्कालिक समाधानको भ्रम मात्र हो। त्यसैले यसको सम्पूर्ण र दीर्घकालिन समाधानले मात्र प्रतिष्ठानको उन्नति हुन्छ भन्नेमा कसैमा भ्रम रहनु हुन्न।

प्रतिष्ठानको कतिपय समस्याहरु प्रतिष्ठान भित्रैबाट समाधान हुने खालका छन् भने कतिपय स्थानीय सहभागितामा समाधान हुन सक्ने खालका छन्। कतिपय समस्या भने हाम्रो काबु बाहिर छ, सरकारको निकायले मात्र गर्न सक्ने खालका पनि छन्। कतिपय समस्या वर्गीय छन् कतिपय सुनियोजित तवरले बनाईएका समस्याहरु पनि छन्। ती सबै समस्याहरुलाई नछुट्याई समाधान खोज्ने गल्ती हामी गरिरहेका छौं कि जस्तो पनि लाग्छ।

मानिसमा कहिलेकाहीं धेरै खाले रोग एकै पल्ट लाग्दछ। जस्तो कि प्रेसर, सुगर, मुटु, आँखा, किड्नी, फोक्सो, कलेजो आदि। यस्तो अवस्थालाई मल्टिपल अग्र्यान डिसअर्डर भनिन्छ क्यारे। यस्तो अवस्थामा रोग पहिचान गरी एउटा रोग निको पारेर मात्र अर्को रोग निवारणको काम शुरु गर्छ स्वयं मेडिकल साईन्सले। अहिले वीपी प्रतिष्ठान त्यस्तै रोगको शिकार भएको छ जसको एकै पटक उपचार गर्न खोज्नु मुर्खता सिवाय केही हुन्न। त्यसको उपचार त्यहीं भित्रमात्र सम्भव छ, बाहिर उपचार गर्न खोज्नु पनि गलत नजीर हुन सक्छ र भविष्यमा अर्को खाले चलखेलको लागि मार्गप्रशस्त हुन सक्ने सम्भावना प्रति सबै सचेत हुन जरुरी छ।

(लेखक ईन्डीपेन्डेन्ट युथ अर्गनाईजेसन एक्सन ग्रुप अफ धरानका संस्थापक सदस्य हुन्।)





Comments

comments

2159