४३ सिटमा वाम गठबन्धनको भागबन्डा : एमालेका २९, माओवादीका १४ उम्मेदवार

ज्ञवालीसहित एमालेका २९, बादलसहित माओवादीका १४ उम्मेदवार –

राष्ट्रिय सभा निर्वाचनमा एमाले र माओवादीले ४३ सिटमा साझा उम्मेदवार उठाउने समझदारी गरेका छन् । एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको वाम गठबन्धन कार्यदल बैठकले ४३ सिटको भागबन्डा टुंगो लगाउँदै साझा उम्मेदवारी दिने निर्णय गरेको हो । यसको अन्तिम छिनोफानो भने शीर्ष नेताहरूले लगाउनेछन्।

सातवटै प्रदेशमा दुवै दलले प्रदेश सभा र स्थानीय तहमा जितेको सिटसंख्या र मतपरिणामलाई मुख्य आधार मानेर सिट बाँडफाँडको निर्णय भएको एमाले नेता सुरेन्द्र पाण्डेले बताए । कार्यदलले सिट बाँडफाँडका लागि निर्वाचनमा प्राप्त परिणाम, पार्टी एकताको स्पिरिट, सम्भावित उम्मेदवारको व्यक्तित्व र कार्यक्षमता तथा सन्तुलन र समावेशितासहित चारवटा मापदण्ड बनाएको थियो । २४ माघका लागि घोषित राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगले १० माघमा उम्मेदवारी दर्ताको कार्यतालिका सार्वजनिक गरिसकेको नयाँपत्रिकामा खबर छ।

साना पार्टीसँगको छलफलपछि १३ सिट टुंग्याउने
कार्यदलले मधेसकेन्द्रित दलसहित अन्य पार्टीसँग पनि छलफल गरेर बाँकी १३ सिटको उम्मेदवारी टुंगो लगाउने भएको छ । जित्ने निश्चित सिटमा मात्र भागबन्डा गरेका दुई दल अन्य साना दलसँग समेत छलफल गरेर बाँकी सिटको उम्मेदवारी टुंगो लगाउने निष्कर्षमा पुगेका हुन् । ‘अरू पार्टीसँग पनि छलफल गरेर बाँकी सिटमा उम्मेदवारी टुंगो लगाउँछौँ,’ बैठकपछि कार्यदलमा एमालेतर्फका संयोजक सुवास नेम्वाङले भने, ‘सिट बाँडफाँडसहित छलफलको निष्कर्ष पार्टी एकता संयोजन समितिको बैठकमा सुझाब प्रतिवेदन पेस गर्नेछौँ ।’ एमाले अध्यक्ष केपी ओली बिहीबार स्वदेश फर्किएलगत्तै प्रतिवेदन बुझाउने कार्यदलको तयारी छ । राजमो, नेमकिपा, नयाँ शक्ति, साझा विवेकशीललगायतका साना दल र स्वतन्त्रबाट जितेका प्रतिनिधिसँगसमेत छलफल गरेर सहयोग लिने वाम गठबन्धनको रणनीति छ ।

३ र ६ नम्बर प्रदेशमा आठै सिटमा उम्मेदवारी
वाम गठबन्धनले प्रदेश नम्बर ३ र ६ का आठवटै सिटमा उम्मेदवारी दिने भएको छ । दुवै प्रदेशमा नयाँ शक्ति, साझा विवेकशील, राजमो, नेमकिपा र स्वतन्त्र जनप्रतिनिधिसँगसमेत तालमेल गरेर सबै सिट जित्ने दुई दलको रणनीति छ । माओवादी नेता मातृका यादवका अनुसार एमालेले ६ सिटका लागि खुलाबाट २, महिला २, दलित र अल्पसंख्यक कोटाबाट १–१ सिटमा उम्मेदवारी दिनेछ । त्यस्तै, माओवादीले खुलातर्फ १ र महिलातर्फ १ सहित २ सिटमा उम्मेदवारी दिनेछ । त्यस्तै, ६ मा एमालेले महिला २, खुला २ र दलित कोटाको १ सिटमा तथा माओवादीले खुला १, महिला १ र अल्पसंख्यक कोटाको १ सिटमा उम्मेदवारी दिने गरी समझदारी भएको यादवले बताए ।

अध्यक्षमा ज्ञवाली र बादलको दाबेदारी
एमाले उपाध्यक्ष युवराज ज्ञवाली प्रदेश नम्बर ५ र माओवादी नेता रामबहादुर थापा ‘बादल’ले प्रदेश नंं. ३ बाट उम्मेदवारी दिने तयारी गरेका छन् । चितवन मतदाता भएका बादललाई माओवादीले खुला पुरुष कोटामा उम्मेदवारी बनाउन लागेको हो । प्रदेश ३ मा एमालेको एकल बहुमत रहे पनि वाम कार्यदलको बैठकमा उनलाई खुला कोटाबाट उम्मेदवार बनाउने गरी समझदारी भएको एक नेताले बताए । ‘एमालेकै नेताहरूको प्रस्तावमा उहाँ प्रदेश नं. ३ बाट खुला कोटामा उम्मेदवार बन्नुहुनेछ,’ माओवादीका एक नेताले भने, ‘पार्टीले अन्तिम निर्णय गर्न मात्र बाँकी छ ।’ त्यस्तै, पदाधिकारीहरूमध्ये ज्ञवालीलाई मात्र राष्ट्रिय सभामा उम्मेदवार बनाउने तयारी गरे पनि एमालेले पनि निर्णय गरेको छैन । ज्ञवाली र बादल दुवै राष्ट्रिय सभाको सम्भावित अध्यक्षका रूपमा चर्चामा रहे पनि सभामुख र उपसभामुख तथा राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षको बाँडफाँड टुंगिसकेको छैन ।

चारवटै समूहमा दुवै दलको उम्मेदवारी
प्रदेश नंं. २ मा एमालेले खुला र माओवादीले महिला कोटामा १–१ सिटका लागि उम्मेदवारी दिनेछन् । यद्यपि, अन्य दलसँग समझदारी गरेर अल्पसंख्यक या दलित कोटामा माओवादीले थप १ सिटमा उम्मेदवारी उठाउने कार्यदलमा सहमति भएको छ । प्रदेश नं. ४ मा एमालेले खुलातर्फ १, महिलातर्फ २ र अपांगता भएका व्यक्तितर्फ १ सहित ४ सिटमा तथा माओवादीले दलित र खुलातर्फ १–१ सिटका लागि उम्मेदवारी दिने समझदारी भएको एमाले नेता सुरेन्द्र पाण्डेले बताए । त्यस्तै, ५ मा एमालेले खुला १ र महिला २ तथा दलित कोटाको १ सहित ४ सिटमा उम्मेदवारी दिने तथा माओवादीले अपांगता भएका व्यक्ति र महिला कोटातर्फ १–१ सिटमा उम्मेदवारी दिने सहमति भएको पाण्डेले बताए । प्रदेश नम्बर ६ मा एमालेले ५ र माओवादीले ३ सिटमा तथा प्रदेश नम्बर ७ मा एमालेले ४ र माओवादीले २ सिटमा उम्मेदवारी दिनेछन् ।





Comments

comments

Leave a Reply

21642