प्रदेश प्रमुख र अस्थायी मुकामप्रति एमालेको सहमति छैन : ओली


प्रदेश प्रमुख र अस्थायी मुकामप्रति एमालेको सहमति छैन: ओली

काठमाडौं, माघ ५ । एमाले अध्यक्ष केपी ओलीले सरकारले नियुक्त गरेको प्रदेश प्रमुख र अस्थायी मुकामप्रति पार्टीको सहमति नरहेको स्पष्ट पारेका छन्।

थाइल्यान्डको बैंककमा स्वास्थ्यपरीक्षण सकेर बिहीबार स्वदेश फर्किने क्रममा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने, ‘सरकारले हामीले भनेको मानेन, अन्तिममा प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने कुरामा सहमति दिनुहोस् भनेपछि हामीले सहमति दिएका हौँ, तर को–को तोक्ने, कहाँ तोक्ने सरकारकै कुरा भएकाले त्यसप्रति हाम्रो सहमति छैन ।’ नयाँ पत्रिकामा खबर छ।

ओलीले प्रदेश प्रमुखको नियुक्ति अस्थायी मुकाम तोक्ने निर्णयमाथि पुनर्विचार गर्नसक्ने स्पष्ट संकेतसमेत गरे । ‘त्यस सम्बन्धमा उपयुक्त समय आएपछि पुनर्विचार हुन सक्छ’ ओलीले भने, ‘अनुकूलता, आवश्यकता र सम्भाव्यताका आधारमा प्रदेश सभाले प्रदेशको मुकामबारे पनि उपयुक्त निर्णय लिन सक्छ ।’ ताजा जनादेशपछि नयाँ सरकारले राष्ट्रिय सभा निर्वाचन, प्रदेश प्रमुखको नियुक्ति र मुकाम तोक्नुपर्ने संवैधानिक प्रावधान र प्रचलन रहे पनि वर्तमान सरकारले अनुपयुक्त र असंवैधानिक ढंगले अध्यादेशका नाममा लोकतन्त्रमाथि प्रहार गरेको आरोप पनि लगाए । ‘हामी सुरुदेखि नै सहमतिका साथ अघि बढ्न चाहेका थियौँ, तर त्यसो हुन सकेन, हाम्रो असहमति अध्यादेशप्रति हो’, ओलीले भने ।

पार्टी एकता छिट्टै
ओलीले माओवादीसँगको एकता प्रक्रियाले छिट्टै पूर्णता पाउने दाबी पनि गरे । ‘एकता तीव्रताका साथ अघि बढ्छ, सकेसम्म छिटो हुन्छ, तर यहाँ आशंका बढाउने काम गरिएको छ, त्यसैले आशा गर्नेले पनि आशा नगरून्, आशंका गर्नेले पनि आशंका नगरून्,’ ओलीले नेतृत्व बाँडफाँडको प्रश्नमा भने, ‘हामीबीच जे टुंगो हुन्छ, त्यही हुन्छ ।’

गत २६ पुसमा बैंकक गएका ओलीले बुमरुङगार्डस्थित अस्पतालमा स्वास्थ्यपरीक्षण गराएका थिए । स्वास्थ्यपरीक्षणपछि केही दिन आराम गरेर स्वदेश फर्किएका ओलीले चिकित्सकहरूले आफ्नो स्वास्थ्य राम्रो रहेको प्रतिवेदन दिएको जानकारी पनि दिए । ओलीसँगै उनकी धर्मपत्नी राधिका शाक्य र स्वकीय सचिव राजेश बज्राचार्य पनि स्वदेश फर्किएका छन् । विमानस्थलमा ओलीलाई कार्यवाहक अध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेललगायतका नेताले स्वागत गरेका थिए।





Comments

comments

Leave a Reply

21653