मुख्यमन्त्रीको भागबन्डा टुंग्याउन ओली–प्रचण्डको निर्देशन

काठमाडौँ, १३ माघ । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुख्यमन्त्रीसहित प्रदेश मन्त्रिपरिषद् र सभामुख बाँडफाँड टुंगो लगाउन कार्यदललाई निर्देशन दिएका छन्।

ओलीनिवास बालकोटमा शुक्रबार बसेको बैठकमा दुवै नेताले कार्यदललाई त्यस्तो निर्देशन दिएको खबर नयाँपत्रिकाले छापेको छ।

बैठकमा एमाले नेता सुवास नेम्वाङ र माओवादी नेता रामबहादुर थापा बादलले कार्यदलले बाँडफाँडका विधि र प्रक्रियाका सन्दर्भमा अहिलेसम्म भएका गृहकार्यको ‘ब्रिफिङ’ गरेका थिए । ‘हामीले अहिलेसम्म कार्यदलमा भएको छलफल र गृहकार्य दुवै नेतालाई ब्रिफिङ गर्‍यौँ,’ बैठकपछि एमाले नेता नेम्वाङले भने, ‘उहाँहरूले अहिले भइरहेको छलफलकै आधारमा टुंग्याउने गरी प्रस्ताव तयार पार्नुस् भन्नुभएकाले त्यसअनुसार गृहकार्य गर्छौँ।’

प्रदेश ६ मा छलफल केन्द्रित
एमालेले चार र माओवादी केन्द्रले दुईवटा प्रदेश सरकारको नेतृत्व लिने भनिए पनि प्रदेश ६ मा दुवै दलले मुख्यमन्त्री दाबी गरेका छन् । राष्ट्रिय सभामा मतादाता संख्यालाई आधार मानेर बाँडफाँड गरिए पनि राजकीय मामिलाको पद बाँडफाँड ६०-४० कै अनुपात हुनुपर्नेे दाबी गर्दै माओवादी केन्द्रले प्रदेश ६ मा स्वाभाविक नेतृत्व पाउनुपर्ने कुरालाई प्रतिष्ठाको विषय बनाएको छ । तर, एमालेले भने त्यस क्षेत्रका पार्टी नेता र सांसदहरूको दबाबले विशिष्ट स्थिति उत्पन्न भएको भन्दै लचिलो बन्न माओवादीलाई आग्रह गर्दै आएको छ।

प्रदेश १, ३, ४ र ५ एमालेलाई छाड्न तयार देखिएको माओवादीले ती प्रदेशमा सभामुखको दाबी गर्दै आएको छ । शुक्रबार यिनै विषय केन्द्रित छलफल भए पनि शीर्ष कार्यदलले नेताहरूको निर्देशन सार्वजनिक गरेको छैन।

यी हुन् मुख्यमन्त्रीका आकांक्षी
प्रदेश १ : भीम आचार्य, शेरधन राई (एमाले)
प्रदेश २ : (मधेसकेन्द्रित दलको बहुमत)
प्रदेश ३ : अष्टलक्ष्मी शाक्य, पशुपति चौलागाईं, राजेन्द्रप्रसाद पाण्डे, सानुकुमार श्रेष्ठ र केशव स्थापित (एमाले)
प्रदेश ४ : पृथ्वीसुब्बा गुरुङ र किरण गुरुङ (एमाले)
प्रदेश ५ : शंकर पोखरेल (एमाले)
प्रदेश ६ : महेन्द्रबहादुर शाही र नरेश भण्डारी (माओवादी), प्रकाश ज्वाला र यमलाल कँडेल (एमाले)
प्रदेश ७ : वीरमान चौधरी र झपट बोहरा (माओवादी)

आइतबार बाँडफाँड टुंग्याउने तयारी
दुवै पार्टी अध्यक्षको निर्देशनअनुसार कार्यदलले शनिबार थप गृहकार्य गरेर प्रदेश सभा र प्रदेश सरकारको सिट बाँडफाँड टुंगो लगाउने भएको छ । एमाले नेता नेम्वाङले शीर्ष नेताहरूसँगको परामर्शका आधारमा सिट बाँडफाँड टुंगो लगाइने बताए । बिहीबारको बैठकमा प्रदेश मन्त्रिपरिषद्को आकारबारे समझदारी भएपछि कार्यदलले शीर्ष नेताहरूसँग शुक्रबार परामर्श गरेर सिट बाँडफाँड प्रस्ताव टुंगो लगाउने सहमति गरेको थियो । ओलीनिवासमा सिट भागबन्डामा केन्द्रित रहेर चार घन्टा छलफल भएको हो।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

21772