निर्वाचनबाटै मुख्यमन्त्री छान्ने ‘मुड’मा एमाले

काठमाडौं, १५ माघ । ६ मध्ये चारवटा प्रदेशमा सरकारको नेतृत्व पाउने सहमतिपछि एमाले नेतृत्व तीनवटा प्रदेशमा मतदानमार्फत मुख्यमन्त्री छान्ने ‘मुड’मा देखिएको छ।

वाम कार्यदलमा भएको सहमतिअनुसार एमालेले १, ३, ४ र ५ मा मुख्यमन्त्री पाउने निश्चित भएको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।

प्रदेश ५ मा प्रदेश सभा संसदीय दलको बैठकबाट स्थायी समिति सदस्य शंकर पोखरेल दलको नेतामा निर्वाचित भइसकेकाले संवैधानिक व्यवस्थाअनुसार उनी मुख्यमन्त्री बन्ने करिब निश्चित भएको छ । बाँकी प्रदेशमा दुईभन्दा बढी नेता मुख्यमन्त्रीको दाबेदार देखिएकाले भोटिङमार्फत मुख्यमन्त्री छान्ने मुडमा निष्कर्षमा नेतृत्व पुगेको हो।

‘पार्टीमा छलफल भइसकेको छैन, नेताहरूले पनि परामर्श गर्नुभएजस्तो लाग्दैन, तर स्थायी समितिले नै दलको नेता सर्वसम्मत तोकेर पठाउने सम्भावना धेरै कम छ,’ एक नेताले भने, ‘दाबेदार साथीहरू चुनावकै तयारीमा देखिनुहुन्छ, त्यसैले सम्भवतः प्रदेश सभा दलले नै सर्वसम्मत या भोटिङमार्फत दलको नेता चुन्नेछ।’

दलको नेता संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री बन्नेछ । दलको नेतामा मतदान हुँदा १ बाट सचिव भीम आचार्य र प्रदेश सहसंयोजक शेरधन राई, ३ बाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र पोलिटब्युरो सदस्य राजेन्द्रप्रसाद पाण्डे तथा ४ बाट सचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी समिति सदस्य किरण गुरुङले उम्मेदवारी दिने गरी तयारी गरिरहेका छन्।

अन्य नेताहरू पनि प्रबल दाबेदार रहे पनि उनीहरूले अन्तिममा तीमध्ये कुनै नेतालाई समर्थन गर्ने मनस्थिति बनाएर प्रभावशाली मन्त्रालय या सभामुख पद सुरक्षित गर्ने रणनीति अख्तियार गरेका छन्।





Comments

comments

Leave a Reply

21795