ओली–स्वराजबीच पौने घन्टा एक्ला एक्लै वार्ता

काठमाडौँ, १९ माघ । दुईदिने भ्रमणमा नेपाल आइपुगेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले एमाले अध्यक्ष केपी ओलीसँग पौने एक घन्टा एक्ला एक्लै वार्ता गरेकी छिन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दूतका रूपमा आएकी स्वराजले त्यसक्रममा भारत एमालेसँग नयाँ ढंगले सम्बन्ध सुधार गर्न चाहेको संकेत गरेकी छिन् ।

होटल सोल्टी क्राउन प्लाजामा साँझ पौने ७ बाट सुरु भएको वार्ता पौने घन्टा चलेको थियो । ‘एक्ला एक्लै’ भेटवार्तापछि डिनर छलफल भएको खबर नयाँपत्रिकाले छापेको छ।

अध्यक्ष ओलीसहित उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेलसहितका पदाधिकारीहरू डिनर बैठकमा सहभागी थिए ।

त्यसक्रममा दुई देशबीचको सम्बन्ध र पछिल्लो राजनीतिक घटनाक्रममा केन्द्रित रहेर स्वराजले लामो छलफल गरेको एमाले नेताहरूले जानकारी दिएका छन् ।

भारतीय विदेशमन्त्री सुष्मा स्वराज बिहीबार काठमाडौं आइपुगेकी हुन् । उनी भारतीय वायुसेनाको विशेष विमानबाट अपराह्न साढे ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएकी थिइन् । लगत्तै स्वराजले एमाले अध्यक्ष केपी ओलीसँग पहिलो ‘वन टु वन’ भेटवार्ता गरिन् ।

स्वराजको सम्मानमा एमालेले होटेल सोल्टीमै रात्रिभोजको आयोजना गरेको थियो । रात्रिभोजमा एमाले टोली र स्वराजबीच छुट्टै छलफलसमेत भएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले बताए ।

अर्थ राज्यमन्त्री राणाले गरे स्वागत 
स्वराजलाई अर्थराज्यमन्त्री उदयशमशेर राणाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

विमानस्थलमा परराष्ट्रसचिव शंकरदास बैरागी, भारत डेस्क हेर्ने सहसचिव भृगु ढुंगाना र प्रमुख शिष्टाचार महापाल दीपक अधिकारीसमेत उनको स्वागतार्थ उपस्थित थिए । विमानस्थल ओर्लिएलगत्तै उनी सीधै होटेल सोल्टी क्राउन प्लाजा पुगेकी थिइन्।

भारतीय विदेशमन्त्री स्वराजले भ्रमणको कुनै ठोस एजेन्डा नरहेको बताएकी छिन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएलगत्तै सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले त्यस्तो बताएकी हुन्।

‘म यहाँ (नेपाल) मा मित्रहरूसँग भेटघाटका लागि आएकी हुँ, भ्रमणको सिलसिलामा मेरा कुनै एजेन्डा छैनन्,’ विमानस्थलमा स्वराजले भनिन्।

उनको अभिव्यक्तिले बन्दै गरेको वाम गठबन्धन सरकारसँग सम्बन्ध सुधारका लागि भारत आतुर रहेको सन्देश दिएको छ ।

सुरुमै ओलीलाई भेटेर त्यसैको ‘वामअप’का लागि आफू नेपाल आएको उनले स्पष्ट सन्देश दिएकी छिन् ।

शुक्रबार राष्ट्रपति, प्रधानमन्त्री र प्रचण्डसँग भेट 
विदेशमन्त्री स्वराजले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतलाई भेट गर्दै छिन् । स्वराजको भेटको समय तय भइसकेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

स्वराज भ्रमणको प्रमुख उद्देश्य नेपालमा निर्वाचनपछि वाम गठबन्धनले ल्याएको बहुमतसँगै उससँग सम्बन्ध सुधार र सहकार्य गर्ने रहेको जानकार बताउँछन् ।

पछिल्लो जनमतका आधारमा आउँदो सरकारसँग सहकार्य गर्ने सन्देश बोकेर स्वराज आउन लागेको भारतको रक्षा मन्त्रालयसम्बद्ध थिंकट्यांक आइडिएसएका नेपाल मामिला जानकार डा. निहार नायकले बताए ।

हाम्रा आयोजनालाई सहज ढंगले अघि बढाउन चाहन्छौँ
सुष्मा स्वराज, भारतीय विदेशमन्त्री
निर्वाचनमा तपाईंहरूले प्राप्त गर्नुभएको विजयप्रति बधाई भन्न चाहन्छु । मेरोतर्फबाट मात्रै होइन, मेरो दल र भारतका तर्फबाट तपाईंहरूलाई धेरै–धेरै बधाई छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीजीले त टेलिफोन गरेरै बधाई भनिसक्नुभएको छ । तैपनि उहाँले मलाई मेरैतर्फबाट बधाई दिनुहोस् भन्दै सन्देश पठाउनुभएको छ ।

केन्द्र र प्रदेशमा प्राप्त गर्नुभएको जनसमर्थनप्रति भोलिका कामका लागि थप शुभकामना पनि छ।

नेपाल–भारतबीच धेरै लामो गहिरो सम्बन्ध छ । यो सम्बन्धलाई धेरै राम्रोसँग अगाडि लैजानुपर्छ । नेपाल हाम्रा लागि अत्यन्त नजिकको छिमेकी मुलुक हो र छिमेकीप्रति हामीले पहिलो प्राथमिकताको नीति अवलम्बन गर्दै आएका छौँ ।

यो नीतिअनुसार पहिलेका कामलाई प्राथमिकतामा राखेरै सम्बन्ध अघि बढाउने भारत सरकारको नीति छ । हामीले अघि सारेका आयोजनालाई पनि त्यसअनुसार नै अघि बढाउन चाहिरहेका छौँं ।

नेपाल–भारत सम्बन्ध नयाँ उचाइबाट अघि बढाउन चाहन्छौँ
केपी ओली 
काठमाडौंमा यहाँलाई स्वागत छ र बधाईप्रति धन्यवाद व्यक्त गर्दछु । नेपाल–भारतबीचको सम्बन्धलाई हामी नयाँ उचाइबाट अघि बढाउन चाहन्छौँ ।

आजको चेतना, आवश्यकता र आजको अन्तर्राष्ट्रिय र क्षेत्रीय परिवेशमा दुई सार्वभौमसत्ता सम्पन्न र स्वतन्त्र मुलुकहरूबीचको सम्बन्धलाई कसरी लिएर जानुपर्छ भन्ने हिसाबले अघि बढ्न चाहन्छौँ ।

हाम्राबीचमा साझा शत्रु गरिबी छ । हाम्राबीचमा काम गर्न सकिने आर्थिक समृद्धि, विकासको बाटोमा साझा हिसाबले अघि बढ्न चाहन्छौँ । यसमा एक–अर्कालाई सहयोग गरेर जाने हाम्रो उद्देश्य हो।





Comments

comments

Leave a Reply

21839