काठमाडौं : बुधबार साँझ सामाजिक सञ्जालमा माओवादी नेता-कार्यकर्ताले एउटा स्ट्याटस पोस्ट गरे, ‘एकीकृत पार्टी अध्यक्ष केपी, प्रधानमन्त्री केपी, राष्ट्रपति भण्डारी, सभामुख नेम्बाङ, विचार बहुदलीय जनवाद, ७०-३० को भागबन्डा अनि पार्टी एकता…!’

सुरुमा यो स्ट्याटस माओवादी केन्द्रका सचिवालय सदस्य सूर्य सुवेदी (पथिक) ले सामाजिक सञ्जालमा पोस्ट गरेका थिए। लगत्तै माओवादीका जनवर्गीय संगठनका अधिकांश नेता-कार्यकर्ताले त्यसैलाई ‘कपी-पेस्ट’ गर्न थाले। सुवेदी माओवादीका यस्ता नेता हुन्, जो अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता रामबहादुर थापासँग समदूरी सम्बन्धमा छन्। सशस्त्र युद्ध सुरुवातमा दाहालका प्रमुख स्वकीय सचिव रहेका उनी प्रतिनिधिसभा चुनावमा पनि दाहालकै चुनावी कमान्डर थिए।

यसले प्रस्टै बुझाउँछ, एमाले-माओवादी मूल नेतृत्वबीच पर्दाभित्र भइरहेको एकता वार्ताको चुरो। निर्वाचनलगत्तै एकता गर्ने संकल्प लिएका यी दुई पार्टीबीच एकताको गाँठो झन् कसिँदो छ। गाँठो के हो भन्ने नेताहरूले लुकाए पनि मूल नेतृत्वको व्यवस्थापनमै समस्या रहेको विस्तारै खुल्न थालेको छ। असोज १७ मा नेपालका यी दुई ठूला कम्युनिस्ट पार्टीले चुनावी तालमेल मात्र होइन, पार्टी एकताकै सैद्धान्तिक घोषणा गरेका थिए। प्रतिनिधिसभा, प्रदेशसभा हुँदै राष्ट्रियसभा चुनाव र प्रदेश सरकार निर्माणको भागबन्डासम्म सहमति जुटाएका दुई पार्टीलाई एकताको गाँठो फुकाउन मुस्किल परेको छ। एकीकृत पार्टीको कार्यदिशा र मूल नेतृत्वका विषयमा दुई पार्टी अध्यक्षले आफ्नै तहमा छलफल गरे पनि विकल्प गोप्य राख्दै आएका छन्।

राजनीतिक विश्लेषक झलक सुवेदीको भनाइमा एमाले-माओवादी एकता अहिले माओवादी अध्यक्ष दाहालको पदीय व्यवस्थापनमा अल्झिएको छ। ‘ओलीजी प्रधानमन्त्री हुन कुनै समस्या छैन। प्रचण्डजीले स्वीकार गरिसकेको कुरा हो। यसबाहेक ठूलो पार्टीको अध्यक्ष भएका हिसाबले उहाँको अन्य अवस्था के ? ’ सुवेदी भन्छन्, ‘त्यस्तै प्रधानमन्त्री र पार्टी अध्यक्षसमेत नबनेपछि प्रचण्डको भूमिका के ? यसैमा अल्झिएको छ एकता।’

वार्तामा रहेका नेताहरूले छलफलका विकल्प सार्वजनिक नगरे पनि अन्तर्य कुरा मूल नेतृत्वको विवाद नै रहेको सजिलै बुझ्न सकिने वामविश्लेषक श्याम श्रेष्ठ बताउँछन्। ‘संगठनात्मक सिद्धान्त, विचार र पद विभाजनका विषयवस्तु मिलाउनुपर्ने छ। सबैभन्दा बढी पेचिलो पद विभाजन नै होला,’ श्रेष्ठ भन्छन्, ‘अहिले समय लिएको पनि पद विभाजनले नै हो जस्तो देखिन्छ। यो सजिलैसँग हुँदैन।’

अल्झिएको विषय यतिमा मात्र सीमित छैन, एमालेले मान्दै आएको बहुदलीय जनवाद र माओवादीले मान्दै आएको माओवाद, एक्काइसौं शताब्दीको जनवादका विषयमा पनि यी दुई पार्टीको शीर्षस्थ नेतृत्व टुंगोमा पुग्न सकेको देखिँदैन। यही जटिलता दुई पार्टी एकताका लागि तगारो देखिन पुगेको विश्लेषकको ठम्याइ छ।

प्रस्ताव आ-आफ्नै
वाम गठबन्धन स्रोतका अनुसार पार्टी एकतामा चुरो विवाद दुई अध्यक्षको व्यवस्थापनमै हो। यसो हुँदा एकता संयोजन समितिका अन्य सदस्यलाई यो विषयमा निर्णय लिन गाह्रो परिरहेको छ। दुई अध्यक्षलाई भावनात्मकदेखि सैद्धान्तिक राजनीतिक तहसम्मका संवाद एक्लै गरेर विषय छिचोल्न संयोजन समितिले समय दिएको हो।

दुई अध्यक्षले त्यसको गृहकार्यका लागि अनगिन्ती छलफल पनि गरेका छन् तर मूल नेतृत्वको छलफलमा दोस्रो तहका नेताले प्रेसर थपिदिँदा निर्णय लिन अप्ठ्यारो परेको छ। राजनीतिक विश्लेषक सुवेदी दुवै पार्टीका जर्नेल (दोस्रो पुस्ता) हरूको रुचि मुखरित हुँदा शीर्षलाई निर्णय लिन अप्ठ्यारो परिरहेको ठान्छन्। ‘दुवै पार्टी अध्यक्षका जर्नेलहरूले आफ्नो स्वार्थ हेरिरहेको देखिन्छ, त्यसले एकतामा केही बाधा पु¥याउन सक्छ। दुई नेताले आफ्ना जर्नेलहरूसँग सल्लाह÷संवाद नै गरेका छैनन् भन्ने होइन, दुवैले गर्दै आएका पनि छन्। त्यही छलफलबाट शक्ति आर्जन गर्दै, बार्गेनिङ पनि गर्दै होलान्जस्तो देखिन्छ,’ उनी भन्छन्।

माओवादीले पदीय भागबन्डा लगाउँदा प्रधानमन्त्री र एकीकृत पार्टी अध्यक्ष, राष्ट्रपति र सभामुखमध्ये रोजी एमाले र छोडी पद आफूले लिने गरी सहमतिको मोडालिटी प्रस्ताव गरेको छ। त्यसको पुष्टि माओवादी नेता देवेन्द्र पौडेल गर्छन्। ‘प्रधानमन्त्री र एकीकृत पार्टी अध्यक्षमध्ये एक तथा राष्ट्रपति र सभामुखमध्ये एक माओवादीले लिने गरी एकताको भागबन्डा मिलाउनुपर्छ, अहिले माओवादीको प्रस्ताव त्यही हो,’ उनी भन्छन्।

एमाले माओवादीको प्रस्तावमा सहमत छैन। उसले सकभर माओवादी अध्यक्ष दाहाललाई एकतापछि सहअध्यक्ष र अन्य पदीय बाँडफाँटमा राष्ट्रियसभा अध्यक्षसम्म दिएर जान सकिने गरी प्रस्ताव अगाडि सारेको छ।

 

एमालेको यस्तो प्रस्तावमा माओवादी सशंकित हुन थालेपछि भने उसले दुई अध्यक्षात्मक प्रणाली र महाधिवेशनपछि अध्यक्षको प्रस्तावमा दाहाललाई मनाउने कोसिस गरिरहेको छ। यस्तो प्रस्तावले एकतामा ब्रेक लाग्न सक्ने खतरा औंल्याउँछन्, अर्का राजनीतिक विश्लेषक हरि रोका। उनी भन्छन्, ‘राष्ट्रपति, पार्टी अध्यक्ष, प्रधानमन्त्रीदेखि मुख्य पद एमालेले मात्र लिने हो भने गिभ एन्ड टेक हुँदैन। आत्मसमर्पणजस्तो हुन्छ। हिजो गणेश शाह माओवादीमा मिलेको वा माले एमालेमा मिलेजस्तो अहिलेको एकता होइन। गिभ एन्ड टेक देखिने गरी पावर सेयरिङ हुनुपर्छ, नत्र म एकता हुने देख्दिनँ।’

एमाले नेता झलनाथ खनाल आवश्यकता पर्दा एमालेले त्याग गरेर भए पनि एकता प्रक्रियालाई निष्कर्षमा पु¥याउने बताउँछन्। ‘हामीले हिजो सानो पार्टीका नेता मनमोहन अधिकारीलाई नै अध्यक्ष बनाएर एकता गरेका हौं, त्यसैले एमाले लचिलो हुँदैन भन्ने होइन,’ उनी भन्छन्, ‘अहिले नै सबै सकिएको छैन, अध्यक्षहरूले सकारात्मक छलफल गरिरहनुभएको छ। सहज रूपमै अगाडि बढ्छ।’

नेता फकाउँदै ओली-दाहाल
एमाले-माओवादी दुवै अध्यक्षले अहिले एकअर्काेलाई गलाउने एउटै अस्त्र प्रयोग गर्न थालेका छन्, एकअर्का पार्टीका दोस्रो पुस्ताका नेतालाई आफ्नो पक्षमा पार्ने, आफूप्रति सकारात्मक बनाइदिने।

माओवादी अध्यक्ष दाहालले त्यसका लागि एमालेका माधव नेपाल, झलनाथ खनालदेखि युवा नेता योगेश भट्टराईसम्ममा प्रभाव बढाउन थालेका छन्। एकताका लागि एमालेले त्याग गरेरै भए पनि उदारता देखाउन सक्नुपर्ने अभिव्यक्ति त्यसैको कडीका रूपमा आएका हुन्।

उता, ओलीले पनि माओवादी नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापासम्मलाई फकाउन त्यस्तै अस्त्र फ्याँक्न थालेका छन्। ‘बादल (थापा) अप्ठ्यारा होलान् सोचेको थिएँ तर उहाँ झन् सहज नेता हुनुहुँदो रहेछ,’ बादलकै कारण भागबन्डाको विषय सहजै टुंगिएको भन्दै ओलीले एकता संयोजन समिति बैठकमै माओवादी नेता थापाको प्रशंसा गर्न थालेको स्रोत बताउँछ।

ओली-दाहाल दुवै नेता राजनीतिका चतुर खेलाडी भएका कारण पनि उनीहरू आफ्नो सामथ्र्य, क्षमता र शक्तिबारे प्रस्ट देखिन्छन्। दुवै नेता आफ्नोमा मात्रै होइन, अर्काे पार्टीबारे पनि प्रस्टै धारणा बुझ्न माहिर छन्। ‘डाइनामिक पर्सनालिटीका कारण ओली-प्रचण्ड दुवैले दुवैलाई बुझ्ने, कसरी प्रयोग गर्ने र शक्ति आर्जन गर्ने भन्ने विषयमा लागेका छन्,’ सुवेदी भन्छन्। दुई अध्यक्षले छलफल आफूमा केन्द्रित गर्न खोज्नुको भित्री उद्देश्य पनि यही भएको उनी ठान्छन्। सुवेदी थप्छन्, ‘दुई अध्यक्षले बाहिर अरूलाई मिसाएर वार्ता गर्दा कसैले खेल्ने मौका पाउँछ कि भनेर डराएको देखिन्छ।’

संगठनात्मक सेटिङ गर्दा एमाले-माओवादीको अहिलेको जनमतकै आधारमा ७०-३० लाई मोडालिटी बनाएर गर्नुपर्ने कुरा पनि उठेको छ। तर, त्यस हिसाबले मात्र दाहालको व्यवस्थापन सोच्ने कुरा एमालेले गर्न खोज्दा एकता भाँडिन सक्नेतर्फ बढी चनाखो हुनुपर्ने औंल्याउँछन् सुवेदी। ‘पार्टीको शक्ति एकातिर र आफू अर्कातिर हुँदा पनि प्रचण्डको वेट पार्टीको शक्ति बराबरजस्तो हुन आउँछ। त्यसले अहिले जनमतमा ३०÷७० को अवस्था देखिएको छ। जनमत त्यत्ति हुँदा पनि राष्ट्रिय राजनीतिमा प्रचण्डको वेट डाइनामिक नै छ, यसमा एमालेले बढी सोच्नुपर्ने देखिन्छ,’ उनी भन्छन्।

उनको भनाइमा ओली-दाहालबीचमा हुने सन्तुलनको विन्दु पहिल्याउन दुवै अध्यक्ष बढी सक्षम भएकाले पनि पदीय व्यवस्थापन मिलाउन सक्ने अनुमान लगाउन सकिन्छ।

पार्टीको पृष्ठभूमि मिलाउने, एक-अर्काेलाई सम्मान गर्ने विषयमा पनि केही समस्या छलफल क्रममा उठेको देखिन्छ। एमालेलाई जबज र माओवादीलाई माओवादको चिन्ता छ। दुईटाको बीचमा सैद्धान्तिक समस्या पनि छ। तैपनि, सिद्धान्तमा त्यति धेरै विभेद नदेखिने विश्लेषक श्रेष्ठ बताउँछन्। ‘राष्ट्रियसभा चुनावसम्ममा उहाँहरू (एमाले-माओवादी) ले सहमति गरेरै जानुभएको छ। यो हिसाबले उहाँहरूको छलफल प्रक्रिया राम्रैसँग गएको देख्छु’, उनी भन्छन्, ‘मुख्य विषय राष्ट्रपति पद कसलाई, अध्यक्ष कसलाई भन्नेतिरै देखिन्छ। यो छिचोलियो भने बाँकी छिचोल्छन् जस्तो लाग्छ।’

सफल होला ?
एमाले-माओवादी मूल नेतृत्व एकताबाट सहजै उम्कन नसक्ने बुझाइ छ वामविश्लेषक श्रेष्ठको। एकता दुवैको आवश्यकताको सिद्धान्तमा आधारित भएर हुन लागेको हो। माओवादीलाई अस्तित्व रक्षा र एमालेलाई शक्ति (जित) को आवश्यकताका कारण एकता प्रक्रिया अगाडि बढेको हो। श्रेष्ठ भन्छन्, ‘दुवैका आवश्यकताकै कारण अब कसैले प्रयत्न गरे पनि एकता प्रक्रिया भाँडिएर अर्काे दिशातिर जाला भन्ने देखिँदैन। अलिक समय लिएर पनि सफल हुनेतिरै देखिन्छ।’

एकता भड्किएमा माओवादीको तुलनामा एमालेलाई अलिक समय टिक्न सजिलो भए पनि कालान्तरमा दुवै पार्टीका लागि घाटा पुग्ने सुवेदी तर्क गर्छन्। माओवादी त्यही कारण एकतामा अलि बढी हतारिएजस्तो देखिएको उनको भनाइ छ। ‘माओवादीको गतिविधि बढी लचिलो देखिएको छ। पुल भत्काएर आयौं, फर्कने ठाउँ छैन भन्याजस्तो, एमालेका निम्ति पनि चुनावमा माओवादीसँग मिल्दा जति शक्ति आर्जन गरेको छ, माओवादीसँग नमिल्ने हो भने फेरि अर्काेचोटि घाटा पुग्ने देखिन्छ,’ सुवेदी भन्छन्, ‘अहिले ओलीजीको पर्सनालिटीका कारण पनि धेरैले विश्वास गरेका छन्। उनले नेतृत्व गर्न छाडेपछि एमाले कमजोर बन्न सक्छ। त्यसकारण पनि एमालेलाई माओवादीसँग मिलेर जाँदा नै फाइदा देखिन्छ।’ अन्नपूर्णपोष्टमा खबर छ।



.

















Comments

comments