तामाङ समुदाय अब पछि छैन, राज्यले दमन गर्न सक्दैन – नेता पुन

बुद्ध लोप्चन –
काभ्रे, माओवादी केन्द्रका युवा नेता वर्षमान पुन ‘अनन्त’ ले तामाङ समुदायमाथि अब कोही कसैले पनि दमन गर्न नसक्ने बताएका छन्।

काभ्रेको डाँडापारिस्थित महाभारत टोकेदमारमा डाँडापारि सोनाम ल्होछार मूल आयोजक समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब तामाङ समुदायलाई दमन र उत्पीडनमा राख्न कोही कसैले नसक्ने बताए।

विस्तारै तामाङ समुदाय हरेक क्षेत्रमा अगाडि बढिरहेको बताउँदै पूर्वअर्थमन्त्री समेत रहेका पुनले तामाङ समुदाय अब पछि नरहेको बताए।

आर्थिक सुचाङ्कलाई हेर्दा ६८ प्रतिशतभन्दा बढी तामाङहरु खान नपुग्ने अवस्थामा रहेको औल्याउँदै नेता पुनले त्यसको मुल कारण विगतको राज्यबाट भएको शोषण, दमन र उत्पीडन नै रहेको समेत बताए । ‘तामाङहरु अब राजनीतिक र साँँस्कृतिक अधिकारका निम्ति जुर्मुराउन जरुरी छ’ उनले भने, ‘‘तामाङ समुदाय अब पछि छैन, राज्य वा अरु कोही कसैले तामाङ समुदायमाथि अब दमन गर्न सक्दैन ।’

हेलिकोप्टरबाट कार्यक्रमस्थल पुगेका उनले डाँडापारि क्षेत्रबाट सदरमुकामसम्म पुग्न सिन्धुली र ललितपुर हुँदै जानुपर्ने कुरा थाहा पाउँदा आफूलाई निकै दुख लागेको सुनाए । १८ वैशाखमा वनखुचौरमा महाभारत गाउँपालिकाले आयोजना गरेको एक कार्यक्रममा सहभागी हुन पुग्दा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले महाभारत र खानीखोला गाउँपालिकालाई विशेष क्षेत्र घोषणा गर्न आफूले सक्दो पहल गर्ने बताएको विषयमाथि पूर्ण सहयोग र समर्थन रहने बताउँदै नेता पुनले भने, ‘हाम्रा पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्रीज्युले यस क्षेत्रलाई विशेष क्षेत्रको रुपमा घोषणा गरेर विकास गर्ने घोषणा गर्नुभएको रहेछ । यो क्षेत्रको एकीकृत विकासको लागि, बाटो, शिक्षा यातायात र अन्य क्षेत्रको चौतर्फी विकासका लागि विशेष क्षेत्र घोषणाको काम अगाडि बढाउन म आफैँ पूर्ण लागि पर्ने प्रतिबद्धता म व्यक्त गर्न चाहन्छु ।’

डाँडापारि क्षेत्र राज्य र सम्बन्धित प्रतिनिधिको उपेक्षामा रहेको विषय आफूले पनि अनूभुत गरेको बताउँदै उनले भने, ‘निश्चय पनि म अर्थमन्त्री हुँदा काभ्रेको लागि मेरो ध्यान कम गएको अनुभूति मलाई भयो । म अर्थमन्त्री हुँदा बहुवर्षीया आयोजना वनखु सडकलाई १ करोड राखेको थिए । तर, त्यसपछि निरन्तरता रहेनछ । आज मात्रै थाहा भयो । सानातिनाआयोजनाहरु मैले राखेको थिए, तर त्यसपछि कुनै ५ वर्षसम्म कुनै केन्द्रीय योजना रहेनछ । यो क्षेत्र राज्यको केन्द्रीय निकाय र जनप्रतिनिधिबाट उपेक्षामा रहेको मैले अनूभुति गरे ।’

अब बन्ने नयाँ सरकार र आफ्नो पूर्ण ध्यान डाँडापारि क्षेत्रको बाटो, पूर्वाधारहरुको निर्माणमा रहने बताउँदै उनले काभ्रेका सम्बन्धित निकायलार्य डाँडापारिको विकासका निम्ति घच्घच्याउने समेत बताए ।

कार्यक्रमको अवसरमा महाभारतको विकासको निम्ति गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले राखेको प्रस्तावहरुलाई क्रमश ः प्राथमिकताका आधारमा पूरा गर्ने आगामी सरकार र आफू प्रतिबद्ध रहेको उनको भनाई थियो । नेता पुनले वाम सरकार निर्माण र पार्टी एकताको लागि जनताले दिएको अभिमतको पूर्ण सदुपयोग हुने समेत बताए।

करिब ७० वर्ष लामो समय मुलुकमा राजनीतिक अधिकारका लागि संघर्ष भएको स्मरण गर्दै उनले अबको संघर्ष आर्थिक समृद्धि र विकासमा केन्द्रित हुनुपर्ने बताए । ‘अबको हाम्रो दायित्व भनेको विकास र समृद्धि हो । नयाँ सरकारको ध्यान विकास र समृद्धिमा केन्द्रित रहन्छ । विदेशिएका युवाहरुलाई स्वदेशमै रोजगारीको व्यवस्था गर्ने लगायतका जनताको आधारभूत आवश्यकता पूरा गर्न हाम्रो पूर्ण ध्यान रहनेछ ।’ नेता पुनले भने।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

22036