हङकङ पठाउन सेटिङ गर्ने नेवानिका ३ कर्मचारी निलम्बित

काठमाडौ : भारतीय नागरिकलाई अवैध ढंगले हङकङ पठाउन संलग्न भएको आरोपमा नेपाल एयरलाइन्सले आफ्ना तीन कर्मचारीलाई निलम्बन गरेको छ।

नेपाल एयरलाइन्सका कर्मचारीहरूको मिलेमतो र आर्थिक सेटिङमा भारतीयलाई प्रस्थान अनुमति दिने विमानस्थल अध्यागमन कार्यालयका अधिकृत नइन्द्रकुमार पौडेलाई समेत अध्यागमन विभागले फिर्ता बोलाएको छ। पौडलको अध्यागमनका अन्य कर्मचारीहरूसँगको कनेक्सनबारे समेत अनसन्धान भइरहेको छ।

नेपाल एयरलाइन्सका कर्मचारीहरू विजय अधिकारी, घनश्याम चौधरी र हरि साहु सुनारलाई निलम्बन गरिएको हो। नेपाल एयरलाइन्सका प्रवक्ता रवीन्द्र श्रेष्ठले भारतीय नागरिकलाई अवैध ढंगले हङकङ पठाउने प्रकरणमा संलग्न आफ्ना तीन कर्मचारीलाई निलम्बन गरेको पुष्टि गरे। अध्यागमन अधिकृत पौडेलले एयरलाइन्सका कर्मचारीले सेटिङ गरेका ४ भारतीयको आवश्यक कागजात नहेरी प्रस्थान अनुमति दिएका थिए। दिनहुँझैं अध्यागमनमा सेटिङ हुने गरेको र त्यस्ता सेटिङ गुपचुप हुने गरेको स्रोतले बताएको छ।

पौडेलले केही दिनअघि मात्र पनि सेटिङ गरेर भारतीय महिलाहरूलाई हङकङ पठाएका थिए। हङकङले भारतीय नागरिकलाई अनअराइभल भिसा दिने गरेको र त्यसको फाइदा उठाउँदै भारतीय महिलाहरू कामका लागि नेपालको हवाई मार्ग हुँदै हङकङ जाने क्रम बढको छ। नेपालबाट कुनै पनि मुलुक जान भारतीय नागरिकलाई नेपालस्थित भारतीय दूतावासले जारी गरेको ‘नो अब्जेक्सन लेटर’ अनिवार्य चाहिने भए पनि मानव तस्करहरूको सञ्जालले नेपालका एयरलाइन्स, प्रहरी र अध्यागमननमा सजिलै सेटिङ गर्न सक्ने भएकाले भारतीयहरू नेपाल हुँदै अवैध ढंगले हङकङ जाने क्रम बढेको छ।

उनीहरूले अघिल्लो मंगलबार ‘नो अब्जेक्सन लेटर’ नभएका भारतीय नागरिकहरूलाई प्रस्थान अनुमति दिएका थिए। नेपाल एयरलाइन्स र अध्यागमनका कर्मचारीहरूले ‘नो अब्जेक्सन लेटर’ नभएका भारतीयहरूलाई आर्थिक सेटिङमा हङकङ उडाउने तयारी गरेका थिए।

जम्मा १० जना भारतीयले फागुन १५ गतेका लागि सेटिङ मिलाएको तर उक्त कुरा चुहावट भएपछि २ जना विमान भित्रैबाट र अन्य २ जना अध्यागमनबाट पक्राउ परेका थिए। एक जना भारतीयलाई सेटिङ बिग्रिने बित्तिकै विमानस्थलबाटै भगाइएको थियो। प्रहरीले भारतीयलाई भगाएको आशंकामा केही कर्मचारीमाथिसमेत गोप्य निगरानी गरिरहेको छ। ‘अन्य छिरे वा फर्किए थाहा हुन सकेको छैन, एक जनालाई चाहिँ भगाएछन्, विमानस्थल स्रोतले अन्नपूर्णलाई भन्यो, ‘सूचना चुहिएपछि तितरवितर भए। हामीले केही हङकङ पुगिसकको खबरसमेत पाएका छौं।’

उनीहरूले स्थलमार्गबाट नेपाल आएका पाँच भारतीयलाई आर्थिक प्रलोभनमा अवैध ढंगले नेपाल एयरलाइन्सको विमानबाट हङकङ जाने बन्दोबस्ती मिलाएका थिए। स्रोतका अनुसार १० जना भारतीय उड्न लागको सूचना आए पनि प्रहरी र अध्यागमनका कर्मचारीहरूले ४ जनालाई मात्र पक्राउ गरेको थियो। उक्त सेटिङमा विमानस्थलमा कार्यरत केही प्रहरीको समेत संलग्नता रहेको भए पनि उनीहरूमाथि कुनै छानबिन भएको छैन। यो घटनाले नेपाल एयरलाइन्स र अध्यागमनका केही कर्मचारी मानव तस्करजस्तो जघन्य अपराधमा संलग्न हुँदै आएको पुष्टि गरेको छ।

अवैध ढंगले भारतीयहरू उड्न लागेको सूचना पाएपछि प्रहरीले हङकङ उड्न लागेको नेपाल एयरलाइन्सको जहाज झन्डै एक घण्टा रोकेको थियो। ‘पुस ब्याक’ भइसकेकको जहाज रोकेर दुई भारतीयलाई विमान भित्रबाटै निकालेको खबर अन्नपूर्णपोष्टमा खबर छ।





Comments

comments

Leave a Reply

22325