पाइलट अवालेले जहाज उडाउन नपाउने

काठमाडौँ, २८ फागुन । नेपाल नागरिक उड्डयन प्राधिकरणले विदेशी मुद्रा अपचलन मुद्दामा धरौटीमा छुटेका नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट (क्याप्टेन) सुवर्ण अवालेलाई जहाज उडाउन नदिने निर्णय गरेको छ । निर्णयअनुसार उनले उक्त अभियोगमा सफाइ नपाएसम्म जहाज उडाउन पाउने छैनन्।

फौजदारी अभियोग लागेपछि अवालेको स्वास्थ्य अवस्था जाँच गरी प्रतिवेदन बुझाउने जिम्मा पाएको समितिको सिफारिसपछि उड्डयन क्षेत्रको नियामक निकाय प्राधिकरणले उनलाई जहाज उडाउन दिन नमिल्ने निर्णय गरेको हो।

प्राधिकरणका स्वास्थ्य सुपरीवेक्षक डाक्टर खगेन्द्र श्रेष्ठको संयोजकत्वमा गठित उक्त समितिले महानिर्देशक सञ्जीव गौतमलाई अवालेको ताजा स्वास्थ्य अवस्थासम्बन्धी प्रतिवेदन बुझाएको छ। प्राधिकरणले तोकेका चिकित्सकले क्याप्टेन अवालेको स्वास्थ्य तथा मनोवैज्ञानिक परीक्षण गरेका थिए । त्यसपछि उनलाई जहाज उडाउन दिन नमिल्ने निष्कर्षमा समिति पुगेको हो।

‘फौजदारी अभियोग लागेपछिको अवस्थामा क्याप्टेन सुवर्ण अवाले मानसिक तनाब र दबाबमा हुन सक्ने भएकाले यात्रु र जहाजको सुरक्षा दृष्टिले उडानजस्तो संवेदनशील कार्यमा उनलाई संलग्न गर्न नमिल्ने र उडान गर्न दिन नसकिने’ प्रतिवेदनको ठहर छ । ‘समितिबाट सिफारिसहितको प्रतिवेदन प्राप्त भएपछि क्याप्टेन अवालेलाई जहाज उडान गर्न दिन नमिल्ने निर्णय गरेका छौं,’ प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले आइतबार नागरिकसँग भने, ‘हाम्रो निर्णयसम्बन्धी जानकारी नेपाल वायुसेवा निगमलाई पठाइसकेका छौं । अवालेले अभियोगबाट उन्मुक्ति नपाएसम्म जहाज उडाउन पाउँदैनन्।’ नागरिक दैनिकमा खबर छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

22382