बेवारिस शवले आरोही त्रसित

दशकौंदेखि हिमालमा रहेको बेवारिस शवलाई राज्यले व्यवस्थापन गर्न नसक्दा आरोही त्रसित बन्ने गरेका छन्।

आरोही र गाइड कीर्तिमान कायम गर्न हिमाल आरोहणमा जाँदा बाटैभरि शव कुल्चिनुपर्ने बाध्यता छ।
आठ हजारमाथिका अधिकांश हिमालमा बाटैभरि प्रशस्त शव भेटिन्छन्। चुचुरो चुम्ने लक्ष्यमा हिँडेका आरोही शव देख्दा झस्किँदै खिन्न मन पारेर अघि बढ्न बाध्य रहेको पर्वतारोहण प्रशिक्षक संघका अध्यक्ष तथा आरोही गाइड लाक्पा नुर्बु शेर्पाले बताए। ‘आफ्नै साथीको शव भेटिन्छ, कतिपय चिनजानकै विदेशीको शव देखिँदा मन झस्किन्छ। यसको व्यवस्थापन राज्यले तत्काल गर्नुपर्छ’, उनले भने।

आरोही लाक्पा शेर्पाले धौलागिरि हिमाल (८१६७ मि) चुम्नै लाग्दा विदेशी नागरिकको शव देखेपछि हातखुट्टा नै कमजोर बनेको बताए। त्यो विदेशी शव करिब २० वर्ष पुरानो हुन सक्ने उनले अनुमान लगाए। तर चिसोले जस्ताको तस्तै छ। करिब २५ वर्षदेखिका शव हिमालका क्याम्प र बाटामा अलपत्र अवस्थामा भेटिने गरेका छन्।

विदेशी आरोहीको हिमालमा मृत्यु भए शव त्यहीँ छाड्न परिवारको इच्छा हुने, जीवन बिमा नहुँदा शव ल्याउन नसक्ने, रकम महँगो पर्ने भएकाले आधार शिविरसम्म नल्याउने र कम्पनीले समेत कानुनी आधार नमान्दा समस्या हुने गरेको सगरमाथा आरोही संघका अध्यक्ष माया शेर्पाले बताए। राज्यले आरोहणमा मनग्गे राजस्व उठाएकाले पुराना शवलाई आधारशिविर ल्याएर व्यवस्थापन गर्नुको विकल्प नभएको भन्दै पर्यटन विभागसँग अध्यक्ष मायाले माग गरे।

हिमपातले पुरिने र हिउँ पग्लिएपछि फेरि देखिने गर्दा शवको संख्या यकिन भएको छैन। पर्यटन विभागको निगरानी नपुग्दा बिनाअनुमति हिमाल आरोहणमा जानेहरूको मृत्यु भएको हुँदा शवको यकिन तथ्यांक विभागसँग समेत छैन। अनुमति लिएर आरोहणमा जाने मृत्यु भएमा सम्बन्धित ट्रेकिङ कम्पनीले आशार शिविरसम्म ल्याएर व्यवस्थापन गर्नुपर्ने कानुनी व्यवस्था छ।

हिमालबाट शव ल्याउन महँगो हुँदा कम्पनीले शव नल्याउँदा नयाँ आरोहीको आरोहण प्रभावित बन्ने गरेको नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामाले बताए। सगरमाथाको बाल्कोनीभन्दा (८३०० मि) मुनि र बालकोनी (८४०० मि) भन्दा माथि अझै २० वर्ष अघिदेखिका शव छन्।

सगरमाथा, कञ्चनजंघा, मकालु, लुबुचे, ल्होत्से, मनास्लु, आमादब्लम, छ्यो यूलगायत दर्जनभन्दा बढी हिमालका विभिन्न क्षेत्रमा शव फेला पर्ने गरेको आरोहीहरूको भनाइ छ। हिमालमा वर्षौंदेखि बेवारिस शवको व्यवस्थापन नहुँदा आरोहीमा नकारात्मक असर पर्ने गरेकाले आरोहण क्षेत्र नै प्रभावित बनेको भन्दै यसको तत्काल व्यवस्थापन गर्न सरकारसँग गाइडहरूले माग गरेका छन्।छेटु शेर्पाले आजको अन्नपूर्णमा लेखेका छन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

22429