पूर्वमन्त्री पासवानको उपचार खर्चको साढे ४३ लाख निकासा

पाउरोटी खाएदेखि भारु साटेको ३० लाख रोकियो
पूर्वजनसंख्या तथा वातावरणमन्त्री विश्वेन्द्र पासवानले उपचारमा ७३ लाख खर्च भएको बिल पेस गरे पनि सरकारले ४३ लाख ४१ हजार मात्रै उपलब्ध गराएको छ।

स्वास्थ्य मन्त्रालयले औषधोपचारबाहेकको बिल समावेश नगराएपछि अर्थले ३० लाख कटौती गरेर आइतबार रकम निकासा गरेको खबर नयाँपत्रिकामा छ।

केही समयअघि नयाँ पत्रिका दैनिकले ‘पूर्वमन्त्री पासवानको उपचार खर्च ७३ लाख, औषधोपचार मात्र होइन, कालोबजारमा भारु साटेको कमिसन पनि सरकारसँग माग’ शीर्षकमा समाचार प्रकाशित गरेपछि स्वास्थ्य मन्त्रालयले औषधोपचारको बिल मात्रै समावेश गरेर अर्थमा पठाएको थियो ।

‘पासवानले हामीलाई तनाव दिएका थिए । हामीले अन्तिममा उनले उपलब्ध गराएको अस्पताल र औषधिको बिलका आधारमा मात्रै पैसा निकासा गर्न अर्थमा पठायौँ,’ स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने ।

ती अधिकारीका अनुसार पासवानले ७३ लाखकै बिल बनाउन अन्तिमसम्म दबाब दिइरहेका थिए ।

२६ असार ०७४ को निर्णयानुसार तत्कालीन जनसंख्या तथा वातावरणमन्त्री विश्वेन्द्र पासवानलाई प्रचलित ऐन–नियमको परिधिभित्र रही उपचारका लागि आर्थिक सहायता उपलब्ध गराउन ४३ लाख ४१ हजार पाँच सय ५२ रुपैयाँ रकम निकासा गरेको अर्थ मन्त्रालयले जनाएको छ ।

सो निर्णयलाई आधार मान्दै पासवानले शिक्षण अस्पताल महाराजगन्ज र भारतको मेदान्त अस्पतालमा उपचार गर्दा ७३ लाख खर्च भएको जनाउँदै तत्काल उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयमा निवेदनसहित बिल पेस गरेका थिए ।

पासवानले औषधोपचार खर्चबाहेक भारतमा गएर पाउरोटी खाएको, कालोबजारमा भारतीय रुपैयाँ साटेको कमिसन पनि सरकारसँग माग गरेपछि स्वास्थ्य मन्त्रालयले अर्थमा पत्र नपठाई ढिलाइ गरेको थियो ।

अन्तिममा लागेको खर्चबाहेकको २९ लाख ९० हजार ४ सय ४८ रुपैयाँ कटाएर निकासा भएको छ।

यस्ता थिए बिलका शीर्षक
भारतीय रुपैयाँ सटही १५ लाख २ हजार ९ सय ९४ । तर, बैंकमा पैसा नपाएकाले कालोबजारमा साट्दा थप चार रुपैयाँ कमिसन तिर्नुपरेकाले सो पैसा पनि सरकारले दिनुपर्ने उनको मागदाबी थियो ।

होटेलमा बसेको, पाउरोटी र चिया खाएको खर्च १८ लाख ७३ हजार ६ सय ।
यातायात खर्च ८ लाख ९१ हजार ५७
काठमाडौंको शिक्षण अस्पतालमा उपचार ७ लाख १६ हजार
भारतको मेदान्त अस्पतालमा उपचार २३ लाख ४८ हजार ४ सय २८





Comments

comments

Leave a Reply

22477