सिंहदरबारका अघिकांश कर्मचारीको ‘ब्लडप्रेसर हाई’

सिंहदरबारभित्र काम गर्ने अधिकांश कर्मचारीको रक्तचाप उच्च देखिएको छ । सिंहदरबारभित्रको ‘हेल्थ डेस्क’मा जाँच गराउँदा अधिकांश कर्मचारीमा उच्च रक्तचापको जोखिम देखिएको अहेब दीपक मुडभरीले बताए।

कर्मचारीमा कामको चाप र तनावले समस्या भएको हुन सक्ने उनले बताए । चिकित्सकले उपचारका लागि आउने कर्मचारीको दैनिकी बुझ्दा दिनभर चियाको भरमा बस्ने गरेको सुनाएका थिए । सिंहदरबारभित्र करिब सात हजार कर्मचारी छन् ।

उनीहरूमध्ये हालसम्म चार सय १० ले स्वास्थ्य परीक्षण गराएकोमा ७० प्रतिशत अर्थात् दुई सय ८७ मा उच्च रक्तचाप देखिएको मुडभरीले बताए ।

सरकारले स्वास्थ्य उपचारको बहानामा कर्मचारी काम छाडेर बाहिर जाने गरेको भन्दै स्वास्थ्य मन्त्रालयको समन्वयमा तीन साताअघि सिंहदरबारभित्रै हेल्थ डेस्क स्थापना गरेको खबर नयाँ पत्रिकाबाट लिएका हौ।

बिहान ८ बजे खाना खाने, दिउँसो ३ बजे १ गिलास पानी पिउने, अपराह्न ४ः३० मा खाजा खाने, साँझ ७ बजे दुई गिलास पानी खाने र राति ८ः३० देखि ९ बजेभित्र खाना खाने गरेको तालिका अधिकांश कर्मचारीले बताएका थिए । वीर अस्पतालका निर्देशक प्रा.डा. भूपेन्द्र बस्नेतले सिंहदरबारका कर्मचारीको खानपान र जीवनशैली सही नभएका कारण रोगी भएको बताए ।

प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्रै अत्यावश्यक औषधिको अभाव देखिएको छ । भएका औषधिहरू पनि कम गुणस्तरको हुँदा प्रयोगविहीनजस्तो देखिएको छ । सेवा सुरु गर्दा स्वास्थ्य मन्त्रालय आपूर्ति व्यवस्था महाशाखाले दिएको औषधि सकिएको छ ।

तर, कर्मचारीका लागि आवश्यक औषधि अब कोसँग माग्ने भन्ने अन्योल देखिएको छ । मुडभरीका अनुसार निःशुल्क औषधि भने उपलब्ध छ । अहिले दैनिक ५० जना बिरामी स्वास्थ्य उपचारका लागि हेल्थ डेस्क जाने गरेका छन् ।

हेल्थ डेस्क सञ्चालनमा आएको २१ दिनमै अत्यावश्यक औषधि अभाव भएको हो । ग्यास्ट्रिकको औषधि, भिटामिन, एन्टिबायोटिकलगायत सकिएको छ ।

रक्तचापबारे जान्नैपर्ने कुरा

चिकित्सकहरूका अनुसार ३० प्रतिशत व्यक्तिमा उच्च रक्तचापको लक्षण नदेखिन सक्छ । सामान्यतया वयस्कको रक्तचाप १२०/८० एमएमएचजीभन्दा कम हुनुपर्छ । १२०—१३९ / ८०—८९ एमएमएचजीलाई उच्च रक्तचापउन्मुख अवस्था मानिन्छ ।

१४०—१५९/९०—९९ एमएमएचजीलाई उच्च रक्तचाप भनिन्छ । १६०/१०० एमएमएचजी वा सोभन्दा बढीलाई जोखिमपूर्ण उच्च रक्तचाप मानिन्छ । उच्च रक्तचाप मुटु, रक्तनली, हृदयाघात तथा मिर्गाैला बिग्रिने प्रमुख कारण हो ।

सिंहदरबारका कर्मचारीमा तनाव, ग्यास्ट्रिक, प्रेसर, आँखा, टाउको दुख्नेजस्ता समस्या बढी देखिएको छ । महिला कर्मचारीमा आँखा र टाउको दुख्ने समस्या बढी छ भने पुरुषमा तनाव, ग्यास्ट्रिक र प्रेसरको समस्या बढी देखिएको मुडभरीले बताए ।

१६ कर्मचारीको स्वास्थ्यमा समस्या देखिएपछि वीर अस्पतालको इमर्जेन्सीमा भर्ना गरिएको थियो । उनीहरूमा उच्च रक्तचाप र ग्यास्ट्रिक देखिएको हो । चिकित्सकका अनुसार हेल्थ डेस्कमा सेवा लिन आउने कर्मचारी ५० वर्षमाथिका बढी छन् ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

22519