स्वास्थ्यमा लापरबाही: उपचारमा कमिसनको जालो !

– तपाईं एक्कासि बिरामी हुनुभयो र एम्बुलेन्स बोलाउनुभयो भने त्यसका चालकले चाहेको अस्पतालतिर लैजान सक्छन्।

तपाईंले आफैं अस्पताल छान्नुभयो भने उनले तर्क दिएर ‘त्यही अस्पताल राम्रो’ भन्न सक्छन् । त्यति गर्दा पनि मान्नुभएन भने ट्राफिक जाम वा अन्य कुनै बहाना देखाएर आफ्नै रोजाइतर्फ लैजान जोड गर्न सक्छन् ।

– अस्पताल, नर्सिङ होम वा क्लिनिक छिरेपछि चिकित्सकले आवश्यकताभन्दा बढ्ता परीक्षण गरउन सक्छन् । आवश्यक नरहे पनि सिटिस्क्यान, एमआरआई, भिडियो एक्सरेलगायत महँगा परीक्षणमा तपाईंलाई बाध्य पारिन सक्छ । आवश्यक अवस्था नभए पनि आईसीयूमा राख्न सक्छन् । वा, आवश्यक समयभन्दा बढी राख्न सक्छन् ।

– आवश्यक नभए पनि शल्यक्रिया गर्ने, सामान्य प्रसवमा समेत आमा र गर्भस्थ शिशुको ज्यान जोखिममा रहेको भन्दै शल्यक्रियाको प्रयास गर्नेमा तपाईं पनि पर्न सक्नुहुन्छ ।

– उपचारअन्तर्गत अनावश्यक, आवश्यकताभन्दा बढी वा खास कम्पनीको अत्यधिक महँगो औषधि लेख्नेजस्ता समस्या भोग्नुपर्न सक्छ।

– सबैभन्दा ठूलो कुरा त– अस्पताल वा चिकित्सकले तपाईंलाई विदेश रेफरका नाममा ‘बेच्न’ पनि सक्छन् ।

यो सबै कमिसनको चक्कर हो । यो एम्बुलेन्स वा ट्याक्सीबाट सुरु भएर विदेशका अस्पतालसम्म जेलिएको हुन्छ । नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठ स्वयं भन्छन्, ‘उपचार प्रक्रियाअन्तर्गत कमिसनको कुरै गरेर साध्य छैन, बिरामी पठाउनेदेखि लिएर औषधि लेख्ने, विभिन्न परीक्षण गर्ने, आईसीयूमा राख्ने सबैमा कमिसन छ ।’

उपचार विधिमा अस्वस्थ प्रतिस्पर्धा मौलाएको जनाउँदै डा. श्रेष्ठले शल्यक्रिया गर्दा यति प्रतिशत दिने, आईसीयूमा पठाएबापत यति दिने, निजीमा बिरामी ल्याउने एम्बुलेन्सलाई उति दिनेजस्ता विकृतिले स्वास्थ्य क्षेत्रलाई डामाडोल पार्न लागेको बताए । यो खबर कान्तिपुर दैनिकमा छ।





Comments

comments

Leave a Reply

22540