मिस्ड फ्लाइटले बनेका सुपरस्टार

असफलताको अर्थ यो होइन कि सबैथोक समाप्त भयो ! बरु जिन्दगीमा अन्य अवसरहरू इंगित भएका हुन सक्छन् । भनिन्छ, मानिसको जीवनमा एउटा ढोका बन्द भयो भने पाँचवटा नयाँ ढोका खुल्छन् । मान्छेले अवसर चिन्न सक्नुपर्छ र त्यसलाई आफ्नो बनाउन सक्नुपर्छ । स्वर्णिम अवसर हरेकको जिन्दगीमा आउँछ र त्यसले कठिन परिस्थितिलाई पर धकेलिदिन्छ ।

हो, कहिलेकाहीँ जिन्दगी अन्यायपूर्ण पनि हुन्छ । किनकि कतिपय मानिस जन्मिँदै मुखमा ‘चाँदीको चम्चा’ लिएर जन्मिन्छन्, तर कतिलाई त्यो अवसर प्राप्त हुँदैन । र, पनि जसले जिन्दगीमा चुनौतीको डटेर सामना गर्छ ऊ नै विजेता बनेर माथि उभिन्छ ।

‘केनफोलिओज’ले भारतीय फिल्म अभिनेता अक्षयकुमार यस्तै एक उदाहरण हुन् भनेर प्रस्तुत गरेको छ । पन्जाबको अमृतसरमा सन् ९१६७ मा जन्मिएका अक्षयकुमार सन् १९९१ देखि बलिउडमा प्रवेश गरेका हुन् । ‘सौगन्ध’देखि ‘प्याडम्यान’सम्म आइपुग्दा उनले राष्ट्रिय अवार्डदेखि विभिन्न पुरस्कार हात पारेका छन् ।

सयभन्दा बढी फिल्म खेलिसकेका अक्षयकुमार ५० वर्ष टेकिसक्दा पनि बलिउडमा उनकै माग बढी हुने गर्छ । उनको नाम कतिपय बक्स अफिस हिट फिल्ममा जोडिएको छ । अमृतसरमा एक सैन्य अधिकारी हरिओम भाटियाको घरमा जन्मिएका उनले दिल्लीमा पढे, हुर्किए ।

बाल्यकालदेखि नै उनको इच्छा अभिनेता बन्ने थियो । उनी मार्सल आर्ट सिक्न बैंकक गए । बैंककमा उनले जीवनयापनका लागि एक रेस्टुरेन्टमा भान्से र वेटरको समेत काम गरे । त्यहाँबाट स्वदेश फर्किएपछि उनी मुम्बई पुगे । त्यहाँ उनले मार्सल आर्टको प्रशिक्षण दिन सुरु गरे ।

एक दिन अक्षयका निकट एक जल्दाबल्दा फोटोग्राफरले उनलाई मोडलिङमा जान सल्लाह दिए । उनैले अक्षयका लागि एउटा काम पनि लिएर आए । सुटिङको पहिलो दुई महिना अक्षयले त्यति पैसा कमाए, जति उनले महिनामा तलब पाउँदैन थिए । उनले मोडलिङकै बाटोमा अगाडि बढ्ने निर्णय गरे । उनले कतिपय फिल्ममा ब्याकराउन्ड डान्सरका रूपमा पनि काम गरे । त्यस दौरान १८ महिनासम्म फोटोग्राफर सञ्जय सेठसँग आफ्नो करिअरका लागि विनापारिश्रमिक काम गरे ।

एक बिहान अक्षयलाई मोडलिङको कामका लागि जानु थियो । तर, उनको फ्लाइट छुट्यो । एक साक्षात्कार शृंखलामा उनले आफ्नो जीवनमा आएको ठूलो परिवर्तनको खुलासा गरे । उनलाई एक मोडलिङको काम पठाइएको थियो । जसका लागि उनलाई बैंगलोर जानु थियो । उनलाई ‘साँझ ६ बजे’को फ्लाइट समात्नु थियो । बिहान ५ बजेर १० मिनेटमा एअरपोर्टबाट ऐजेन्सीका प्रतिनिधिको फोन आयो र उसले ‘तपाईं कहाँ हो ?’ भनेर सोध्यो । अक्षयले जवाफ दिए, ‘म घरमा छु ।’

अक्षयको गैरव्यावसायिक जवाफपछि एजेन्सीका ती प्रतिनिधिले झर्किंदै भने, ‘तिमी जिन्दगीमा कहिल्यै सफल हुन सक्दैनौ । म यो कुराको ग्यारेन्टी दिन्छु ।’ तब अक्षयलाई थाहा भयो कि फ्लाइट बिहान ६ बजेको समात्नु थियो, साँझको होइन । उनको आँखा रसायो । उनले रुँदै भने, ‘यार, म दगुर्दै, मोटरसाइकलबाट या जसरी हुन्छ अहिले आउँछु ।’ तर, प्रतिनिधि यो कुरामा सहमत भएनन् । अक्षय निकै दुःखी भए । उनको मन भारी भयो ।

त्यही दिन छापाखानाबाट अक्षयको भिजिटिङ कार्ड छापिएर आयो । छोरालाई निरास देखेर अक्षयकी आमा नजिक आइन् । आमाले भनिन्, ‘सब कुरा रामै्र होला, जे हुन्छ, त्यो राम्रैका लागि हुन्छ ।’ तर, अक्षयले आमाको कुरालाई गम्भीर रूपमा लिएनन् । किनकि उनले आमाको मुखबाट यही कुरा धेरैपटक सुनिसकेका थिए । आफ्नो मन हल्का पार्न उनी ‘नटराज’ स्टुडियो गए । त्यहाँ उनको चिनजान फिल्म निर्माता प्रमोद चक्रवर्तीको टिमका मेकअप म्यानसँग भयो ।

जब उनले अक्षयलाई सोधे, ‘हिरो बन्ने हो ?’ अक्षयले ‘हुन्छ’ भनिदिए । ती मेकअपम्यानले अक्षयलाई फोटो देखाउन भने । ‘त्यसवेला हामी सबै फोटोग्राफ, ठूला–ठूला एल्बम लिएर हिँड्ने गथ्र्यौं । किनकि निर्माता÷निर्देशकहरू साना तस्बिर हेर्न चाहँदैन थिए । उनीहरू सबैकुरा नजिकबाट हेर्न चाहन्थे । त्यसैले म एल्बम लिएर मेकअप म्यानसँगै निर्माता प्रमोद चक्रवर्तीको अफिसमा गएँ । प्रमोद चक्रवर्र्तीले त्यसलाई हेरे,’ अक्षयले भनेका छन् ।

अक्षयलाई त्यतिवेला घोर आश्चर्य लाग्यो, जब चक्रवर्तीले तुरुन्त उनलाई तीनवटा फिल्मका लागि एकैपटक अनुबन्धित गरे । प्रमोद चक्रवर्तीले अक्षयलाई पहिलो फिल्म ‘दिदार’का लागि पाँच हजारको चेक दिए (यो फिल्म प्रदर्शनमा भने १९९२ मा मात्रै आयो) । दोस्रो फिल्मका लागि ५० हजार र तेस्रो फिल्मका लागि एक लाख ५० हजारको चेक दिए ।

ती चेक बुझिरहँदा साँझको ६ बजिरहेको थियो । त्यस दिन उनको फ्लाइट नछुटेको भए सायद दुर्भाग्य हुन्थ्यो होला । त्यही वर्ष उनले फिल्म ‘खिलाडी’बाट बलिउडमा दमदार सुरुवात गरे । अक्षयलाई लाग्छ कि जे आमाले भनेकी थिइन्, त्यो सत्य भयो । जे हुन्छ, राम्रै हुनका लागि हुन्छ ।’

(शिवराज योगीद्वारा केनफोलिओजबाट अनुवादित) नयाँपत्रिकाबाट





Comments

comments

Leave a Reply

22569