यस्तो छ – ५ कक्षा पढ्ने विद्यार्थीलाई गाँजा र भाङ खुवाउने बोर्डिङ स्कूल…

कलिला बालबालिका पढ्ने स्कुल, जहाँबाट शिक्षा आर्जन गर्ने मात्रै नभई सम्पूर्ण सुरक्षाको अपेक्षासहित अभिभावकले आफ्ना छोराछोरीलाई पढ्न पठाएका हुन्छन् । गुणस्तरीय शिक्षाको मोहमा महँगो शुल्क तिरेर जलवीरेवासीले बालबालिकालाई बोर्डिङ स्कुल भर्ना गरे ।

तर, शिक्षकले खुवाएको गाँजा र भाङ लागेर तीन विद्यार्थी २४ घन्टा बेहोस भएपछि अभिभावक छाँगाबाट खसेझैँ भएका छन् । शिक्षकले जानाजानी दिएको गाँजाले कक्षा पाँचमा पढ्ने तीन बालक बेहोस भएको खबर नयाँ पत्रिकामा छ।

बलेफी गाउँपालिका–१ जलवीरेमा रहेको ब्रह्मायणी इंग्लिस बोर्डिङ स्कुलमा पढ्ने १२ वर्षका कुन्दन थापा, दीपेश थापा र १३ वर्षका सन्देश सुनारलाई शिक्षकले तरकारीमा गाँजा र भाङ मिसाएर खुवाएका थिए । लामो समय बेहोस भएका कुन्दन थापालाई धुलिखेल अस्पताल लगेर उपचार गरिएको छ । दुई विद्यार्थीको उपचार जलवीरेमै भएको थियो ।

परीक्षा प्रभावित

विद्यार्थी बेहोस भएपछि बुधबारदेखि सुरु भएको अन्तिम परीक्षा प्रभावित भएको छ । अभिभावकले बोर्डिङ प्रशासन र गाँजा खुवाउने शिक्षकको चर्को विरोध गरेका छन् ।

विद्यार्थीलाई गाँजा खुवाएर गलत कार्य गरेको भन्दै तीन शिक्षकलाई जलवीरे प्रहरीले पक्राउ गरेको छ । शिक्षक सुरज बुढाथोकी, रोशन कार्की र समन राना मगरलाई प्रहरीले पक्रेको हो । बुढाथोकी भक्तपुर, कार्की रामेछाप र रानामगर महोत्तरीका हुन् ।

शिक्षकत्रयलाई आवश्यक अनुसन्धान गरिरहेको प्रहरी सहायक निरीक्षक कृष्णप्रसाद खरेलले बताए । शिक्षक गाँजाले लठ्ठेकै अवस्थामा विद्यार्थीलाई पढाउने गरेको अभिभावकत्रय कुश थापा, चिनलाल सुनार र दीपक थापाले बताए । घटना लुकाउन बोर्डिङ स्कुलका फाउन्डर दिनेश खड्का, राम खड्का र राजु श्रेष्ठले बेहोस विद्यार्थीलाई विद्यालयबाट बाहिर निस्कन दिएका थिएनन् ।

तर, आफ्ना बच्चा नआएपछि अभिभावकले खोजी गर्दा बेहोस अवस्थामा भेटेका थिए । अभिभावकले तुरुन्त खबर गरेपछि शिक्षकलाई प्रहरीले पक्रेको थियो ।





Comments

comments

Leave a Reply

22589