पाशुपत क्षेत्र अब मगन्तेरहित !

काठमाडौँ, २१ चैत ।  पशुपतिनाथको दर्शनका लागि पाशुपत परिसर पुग्ने जोकोहीले अब सडकमा बसेर माग्ने ‘सडकमानव’ देख्नुपर्ने छैन।

पशुपति क्षेत्र विकास कोषले त्यस्ता सहयोगापेक्षी मानिसलाई मानव सेवा आश्रममा पुर्‍याएर उत्कृष्ट जीवन यापनको व्यवस्था मिलाएपछि यस्तो अवस्था आएको हो। पशुपतिनाथ मन्दिर क्षेत्रलाई मंगलबार मगन्तेरहित क्षेत्र घोषणा गरिएको छ। पछिल्लो समय मानसिक एवं शारीरिक रुपमा अनाथ र असहाय बनेर पाशुपत क्षेत्रमा रहेका एक सय ५२ मगन्तेलाई मानव सेवा आश्रममा पुर्‍याइएको हो।

गाँस, बास र कपासजस्ता मौलिक अधिकार संविधानमै ग्यारेन्टी गरिए पनि सरकारले मानसिक एवं शारीरिक समस्याले सडकमा पुगेकाको व्यवस्थापन नगरिरहेको बेला पशुपति क्षेत्र विकास कोषले आश्रमसँगको सहकार्यमा यस्तो काम गरेको हो। आश्रमका काठमाडौंमा रहेका गोंगबु र बुढानिलकण्ठका दुई घरको दुई वर्षको भाडा काठमाडौं महानगरपालिकाले तिर्ने सम्झौता गरिसकेको छ।

संविधानको मर्म र भावना विपरित मुलुकभर सयौंको संख्यामा अनाथ खुला आकाशमुनि सडकपेटी र सार्वजनिक स्थलहरुमा घरपरिवारविहीन भई कष्टपूर्ण जीवन बिताउन बाध्य भइरहेको बेला पशुपतिनाथ क्षेत्रबाट मगन्तेरहित अभियानको थालनी भएको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री रविन्द्र अधिकारीले महत्वाकांक्षी यो योजना संभव हुन सके सबैका लागि खुसीको कुरो हुने बताए। पशुपतिनाथबाट मगन्तेरहित क्षेत्र घोषणा हुनु धेरै राम्रो कुरा भएको र यसलाई मुलुकभरका सबै मठमन्दिरबाट पनि मगन्तेरहित बनाउन सके नेपाल विश्वकै उत्कृष्ट नमूना पेश गर्न सफल हुने दाबी गरे। आश्रम सुधार गृह बनोस् भन्दै उनले थपे, ‘मानव सेवा आश्रमले गरिरहेको काम सराहनीय छ, आश्रमले आध्यात्मिक र अन्य ज्ञान सिकाएर घर वा जागीरमा फर्काउने काम गरोस् सरकारको पूर्ण सहयोग हुनेछ।’

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पाशुपत क्षेत्रलाई मगन्तेरहित घोषणा गरिरहँदा पशुपतिनाथका आँखाबाट खुसीको आँसु झरिरहेको हुनसक्ने बताए। ‘शारीरिक र मानसिक रुपले काम गर्न नसक्ने गरी अस्वस्थ्य भएकालाई महानगरपालिका सहयोगी बनेको छ मेरै कार्यकालभित्र काठमाडौं महानगरलाई मगन्तेमुक्त बनाउनेछु’, उनले भने।

आफू वृद्धा श्रमको पक्षमा नरहेको तर दिनभर समय बिताउनन ३५ वटै वडामा मनोरञ्जन केन्द्र खोल्न लागेको उनको भनाइ छ। आश्रमका संरक्षक डा. गोविन्द टण्डनले विश्वले कल्पना नगरेको काम नेपालमा भइरहेको दाबी गरे। ‘पशुपतिनाथ, गोरक्षनाथ, मच्छिन्द्रनाथ, स्वयम्भूनाथजस्ता नाथैनाथले भरिपूर्ण देश नेपालमा अनाथ हुनु दुःखद् पाटो भएकाले अभियान अघि बढाएका हौं’, २०६९ सालदेखि हालसम्म एक हजारलाई आ श्रममा ल्याएको जानकारी दिँदै उनले भने। आश्रमले हालसम्म काठमाडौं, मकवानपुर, चितवन, ललितपुर, गोरखा, लमजुङ, कास्कीर रुपन्देहीमा शाखा स्थापना गरी एक हजार भन्दा बढी अनाथलाई आश्रय दिइसकेको छ। उनले भने, ‘२०८२ सालभित्र मुलुकभर कही पनि कोही सडकमा भेटिनेछैनन् भन्ने उद्देश्य राखेर काम अघि बढाएका छौं।’

कोषका सदस्यसचिव डा. प्रदीप ढकालले पाशुपत क्षेत्रलाई गाँजा र चरेश निषेध र लगत्तै केही महिनाअघि सवारीसाधन निषेधा क्षेत्र घोषणा गरेको स्मरण गरे। उनले भने, ‘ढिलै भए पनि पाशुपत क्षेत्र मगन्तेरहित क्षेत्र घोषणा भएको छ। ६ महिनादेखि मगन्तेको अध्ययन र तथ्यांक लिएर आश्रम पठाउने काम थालेका थियौं।’ कोषका कार्यकारीनिर्देशक रमेश उप्रेतीले पाशुपत क्षेत्रमा बच्चा देखाएर, अरु कुनै संस्थाबाट परिचालित भएर र झिँगा भन्किने रंग दलेर माग्ने कामलाई व्यवसाय बनाउनेदेखि यथार्थमै निरीह बनेर मागिरहेकालाई सोहीअनुसार आश्रममा व्यवस्था गरेको जानकारी दिए। आश्रमका अध्यक्ष रामजी अधिकारीले चैत ५ गते नै गोरखा जिल्लालाई नेपालकै पहिलो सहयोगापेक्षी (मगन्तेरहित) सडकमानवमुक्त घोषणा भइसकेको जानकारी दिए। उनले भने, ‘२०७५ सालभित्रै मकवानपुर, लमजुङ, बागलुङ र ललितपुर जिल्लालाई पनि सडकमानवमुक्त गर्दैछौं।’ अन्नपुर्णपोस्टमा खबर छ।





Comments

comments

Leave a Reply

22677