सलमान जेलमै, करोडौं फस्दै…

कालो हरिणको सिकार मुद्दामा पाँच वर्ष जेल सजाय सुनाइएका बलिउडका भाइजान सलमान खानले शुक्रबारको रात पनि जेलमै बिताएका छन्।

सलमानको जमानत याचिकामाथि शुक्रबार सुनुवाइ गर्दै जोधपुरको सेसन कोर्टले आफ्नो फैसला शनिबारसम्मका लागि सुरक्षित राखेको छ ।

जमानतमाथिको फैसला शनिबार दिउँसो सुनाइने भएको छ । जोधपुर जेलमा सलमान कैदी नम्बर १०७ हुन् । उनलाई २ नम्बर ब्यारेकमा राखिएको छ । जेलमा उनलाई दाल, रोटी दिइएको थियो तर उनले खाएनन् ।

करोडौं फस्ने सम्भावना
बालिउडका सफल कलाकार सलमानमाथि अहिले फिल्म निर्माताको करिब ६ सय करोड रुपैयाँ लगानी भइसकेको छ । विवादास्पद निजी जिन्दगीमा ‘भाइ’ को पहिचान बनाएका सलमानसँग राम्रो र खराब दुवै चरित्र जोडिएको छ ।

सलमान खान दोषी ठहरिएसँगै अब उनको प्रोफेसनल प्रोजेक्ट रोकिन सक्ने अड्कल काट्न थालिएको छ । सलमान अहिले धेरै प्रोजेक्टसँग जोडिएका छन्।

अहिले सलमान ‘भारत’ नामक फिल्ममा काम गर्दै थिए । उनी लामो समय जेल गए यो फिल्म त्यसै थन्किनेछ । यसको निर्देशन अली अब्बास जफरले गर्दैछन् । उनले यसअघि सलमानसँग ‘सुल्तान’ र ‘टाइगर जिन्दा हे’ मा काम गरिसकेका छन् । यसैगरी सुपरहिट सिरिज ‘दबंग-३’ मा पनि सलमानले खेल्ने तय भइसकेको थियो । यो फिल्मको सुटिङ पनि यसै वर्षको अन्त्यबाट सुरु हुँदै थियो । उता सलमानको सुपरहिट फिल्म ‘किक’को सिक्वेल पनि बन्ने तयारीमा थियो ।

सलमानको नाम अहिलेसम्म ‘बिग बोस’ को नयाँ सिजनका लागि तय भइसकेको छ । अक्टोबरबाट सुरु हुन लागेको ‘बिग बोस-१२’ का लागि अब सलमानको ठाउँमा नयाँ होस्ट खोज्नु पर्नेछ । उनले यसका लागि ११ करोड पारि श्रमिक बुझ्दै आएका थिए ।

नेपालमा हुने भनिएका सलमानको दबंग टुर पनि प्रभावित हुने भएको छ । आयोजकले सलमानलाई केही अग्रिम पारि श्रमिक दिइसकेको थियो । अब त्यो रकम के हुने भन्ने अन्योल छ । तर आयोजकले कति रकम सलमानलाई दिएको हो भन्ने यकिन तथ्यांक भने खुलाइएको छैन । आजको अन्नपूर्णमा खबर छ।





Comments

comments

Leave a Reply

22729