कोलोराडोमा यसरी मनाइयो नेपाली नयाँ वर्ष


नातिबाबु भट्ट
/ एचकेनेपाल डट कम –
अप्रिल १५, कोलोराडो, अमेरिका। नेपाली नयां बर्ष २०७५ को उपलक्ष्यमा कोलोराडो निवासी नेपालीहरुले “नेपाल डे परेड” आयोजना गरी एक आपसमा शुभकामना साटासाट गरेका छन्।

रकि माउन्टेण्ड फ्रेन्डस् अफ नेपाल आयोजनामा तथा हेल्पिङह्याण्डको सहयोगमा बोल्डर नगरमा सम्पन्न “नेपाल डे परेड” कार्यक्रममा नेपाली राजदूतावासका आर्थिक सल्लाहकार कैलासराज पोख्रेलको प्रमुख आतिथ्य रहेको थियो । त्यस्तै कार्यक्रममा गायक सन्जिव प्रधान, स्थानीय संघ संस्थाका प्रतिनिधि, गन्यमान्य, बुद्धिजीवी, कलाकार, पत्रकार, व्यवसायी तथा सर्बसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।

भौगोलिक हिसावले नेपालसंग मिल्दो जुल्दो सुन्दर बोल्डर नगरमा आयोजित परेड कार्यक्रममा नेपालीहरुले नेपाल र अमेरीकाको झण्डा, प्लेकार्ड ब्यानर बोकी धिमेबाजाको तालमा नेपाली गीत गाउंदै, शुभकामना साटासाट गर्दै हर्सोउल्लास र मनोरञ्जनका साथ नगर परिक्रमा गरेका थिए।

स्थानीय खुल्लामञ्चबाट सुरु भएको परेडमा सहभागी कतिपय नेपालीहरु दौरा सुरुवाल, ढाकाको टोपी, साडी चोलो लगाएर आएका थिए । कोही आफ्नो जातीय भेषभूषा संस्कृति झल्कने पहिरहन लगाएर आएका थिए । अमेरीकी भूमिमा नेपालीहरुले नेपालको झण्डा हल्लाउंदै हिड्दा गौरबले छाती फुलेको महसुस हुन्थ्यो।

बालक बृद्ध सबै उमेर समूहका नेपालीको उपस्थिति रहेको उक्त कार्यक्रममा नेपाल र नेपाली संस्कृतिप्रति माया र सद्भाव राख्ने अमेरीकी नागरिकहरुको पनि सहभागीता रहेको थियो । बाटाका छेउछाउका दर्शकहरुले भने हेप्पी न्यु एयर, नमस्ते भन्दै ताली पिटेर स्वागत गरेका थिए । कार्यक्रममा सहभागी सबै उमेरका नेपालीहरुले आ– आफ्ना दौतरीसंग आफ्नो रिती र परम्परा अनुसार शुभकामना साटासाट गरिरहेका थिए।

नगर परिक्रमा गर्नु अगाडि कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि कैलासराज पोख्रेलले नेपालीको शिर उच्चा पार्ने यस्तो महत्वपूर्ण तथा सुन्दर कार्यक्रममा सहभागी हुन पाएकोमा आफू धेरै हर्षित भएको बताउदै अमेरिकामा नेपाल डे परेड भनेर कोलोराडोबासीले पहिला शुरुगरेकोमा कोलोराडोबासी नेपालीलाई धन्यवाद दिए।

गायक सन्जिब प्रधानले राष्ट्रिय गीत गाएर थिए भने, कोलोराडोमा कृयाशिल सबै संघ संस्थाका पदाधिकारीहरुले शुभकामान मनतब्य दिएका थिए । हेल्पिङ्ग हेण्डका तर्फबाट पद्यराज तामाङले सबैलाई स्वागत गरेका थिए । त्यस्तै आयोजक संस्थाका अध्यक्ष बिनोद त्रिपाठीले नेपाल र नेपालीको पहिचान दिने यस कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने सबैलाई धन्यवाद दिएका थिए।

बोल्डर शहरमा नेपालीहरुको बसोबास बाक्लो हुदै गएपछि यहाका स्थानीयलाई नेपाली भाषा संस्कृति पहिचान गराउन हेल्पिङ्ग हेण्डका अध्यक्ष नारायण श्रेष्ठको पहलमा आज भन्दा १४ बर्ष अगाडि “नेपाल डे परेड”को सुरुआत गरिएको थियो। कोलोराडोस्थित बोल्डर सिटी एण्ड काउन्टीको कार्यालयले सन् २००४ देखि हरेक बर्ष अप्रिल महिनाको तेश्रो आईतबार नेपालीहरुको नया ंबर्षको उपलक्ष्यमा “नेपाल डे परेड” हुनेछ भन्ने औपचारिक घोषणा गरेपछि “नेपाल डे परेड ”कार्यक्रम आयोजना गर्न थालिएको हो। नेपालीहरुको दिवस भनेर अमेरीकी सरकारबाट स्वीकृत भएको यो पहिलो सूचीकृत कार्यक्रम हो।

थप फोटोहरु यहाँ क्लिक गरेर हेर्नुहोस्





Comments

comments

Leave a Reply

22862