छ वटै चिनियाँ जहाज आए, तर चलेनन्

नेपाल सरकारले ५ वर्षअघि ६ अर्ब ६७ करोड १० लाख रुपैयाँ सहुलियतपूर्ण ऋण लगानीमा चीनसँग खरिद गरेका दुई प्रकारका ६ वटै जहाज यतिबेला काठमाडौंमा आइपुगेका छन् तर पाइलट अभावले यी सबै उडानमा आउन सकेका छैनन्।

फागुन पहिलो साता चीनको हार्बिनबाट ल्याइएका ६ मध्येका अन्तिम दुईवटा साना विमान वाई १२ ई लाई मंगलबार जहाज चिनियाँ सरकारी एजेन्सी एभिक इन्टरनेसनल र काठमाडौंस्थित चिनियाँ दूतावासले एक समारोहबीच नेपाल वायुसेवा निगमलाई हस्तान्तरण गर्‍यो । तर, चिनियाँ विमान उडाउने निगमले यी सबै जहाजलाई नियमित व्यावसायिक उडानमा ल्याउन सकेको छैन।

निगमका अनुसार, प्रशिक्षक पाइलट, क्याप्टेन, स्पेरपार्टस्, महँगो बिमा, निगमकै कमजोर व्यवस्थापन चिनियाँ विमानले बेहोर्दै आएका प्रमुख समस्या हुन् । सडक सञ्जालसँग नजोडिएका दुर्गम र हिमाली भेगका नागरिकलाई सेवा पुर्‍याउने उद्देश्यले नेपाल सरकारले २०७० मंसिरमा ६ वटा विमानका लागि चीन सरकारसँग सम्झौता गरेको थियो ।

जहाज हस्तान्तरण समारोहमा बोल्दै निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले आगामी दिनमा चीन सरकारको सहयोगबिना यी छवटै विमान राम्रोसँग सञ्चालन सम्भव नहुने बताए । ‘नेपाल सरकारले सम्झौताअनुसार, सबै जहाज हामीले प्राप्त गरेका छौं तर चिनियाँ विमान सञ्चालनमा केही समस्या देखिएका छन् । यिनमा केही हाम्रोतर्फबाट छन् भने केही एभिक (चिनियाँ जहाज विक्रेता कम्पनी) का तर्फका रहेका छन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित कार्यक्रममा महाप्रबन्धक कंसाकारले औंल्याए ।

उनका अनुसार यी विमानमा मर्मतसम्भार र सञ्चालनमा समस्या छन् । मर्मततर्फ एकाएक बिग्रेको विमान बनाउन आवश्यक पर्ने स्पेयरपार्टस् चीनबाट ल्याउँदा धेरै समय लाग्ने गरेको छ । ‘एभिकले हवाईमार्गबाट होइन, पानीजहाजको बाटो हुँदै सडकमार्गबाट स्पेयरपार्टस पठाउँछ । यस्ले गर्दा जहाज धेरै दिन ग्राउन्डेड हुन्छन्,’ निगमका एक इन्जिनियरले भने । त्यसैगरी सञ्चालनतर्फ यी विमानसँग दख्खल राख्ने पाइलटको अभाव हो । यो समस्या १७ सिट क्षमताको वाई १२ ई विमानले बेहोर्दै आएका छन् । अहिले पनि यी वर्गका विमान उडाउने पाइलट अभाव छ । यी चार विमान तीन जना क्याप्टेनसहित १० पाइलट छन् । तर, यी पर्याप्त होइनन् ।

पाइलटको समस्या सुगम रुटमा उड्ने ५६ सिट क्षमताको एमए ६० मा भने छैन । दुईटा एमए ६० विमानका लागि चार जना क्याप्टेन र दुई जना कोपाइलट छन् । तर एमए ६० बिग्रिहाले स्पेयर पार्टसै समस्या हुन्छ । ‘चीनबाट ल्याउनुपर्छ,’ एमए ६० का एक पाइलटले भने, ‘उताबाट ल्याउँदा कम्तीमा एक हप्ता लागिहाल्छ । त्यसैले निगमका इन्जिनियरहरूले एउटा विमान बिग्रेपछि अर्को विमानको सामान झिकेर उडानयोग्य बनाउँछन् ।’

निगमका इन्जिनियरहरूले यसो गर्न थालेको वर्षौं भयो । त्यसैले चीनबाट ल्याइएका सबै विमान सँगसँगै उडेको रेकर्ड बिरलै छ । यो ममलामा निजी क्षेत्र धेरै अघि रहेको छ । जस्तो नयाँ विमान नेपाल भित्र्याइएको चार दिनमै निजी क्षेत्रले उडान भरेको रकेर्ड छ । निगमले दुई महिनाअघि ल्याएका साना दुइटा विमान अझै व्यावसायिक उडानमा आइसकेका छैनन् । ‘जहाजको बिमा र उडानयोग्य रहेको प्रमाणको कागजात अझै निगमले पेस गर्न नसकेकाले उडान अनुमति पाइसकेको छैन,’ नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीले भने। कान्तिपुरमा खबर छ।





Comments

comments

Leave a Reply

22874