महिलाहरु चोरबाटोबाट विदेशः यसरी हुन्छ युवतीको खरिदबिक्री

धनगढी – कैलाली कनरीकी २१ वर्षीया लक्ष्मी चौधरी चार वर्षअघि अवैध बाटो भएर घरेलु कामदारका रूपमा कुवेत पुगिन् । त्यहाँ उनले सोचेजस्तो काम र दाम पाउन सकिनन् । दुई वर्ष नबित्दै फर्किइन् ।

जाँदाजस्तो फर्किन सजिलो भएन, लक्ष्मीलाई । ‘घर फर्कन पाउँछु भन्ने आशा मरिसकेको थियो । मालिकका घरमा जेलसजाय भुक्तान गरिरहेको कैदीजस्ती भएकी थिए,’ उनी भन्छिन्, ‘अनेक जुक्ति लगाई मालिकलाई फकाएर धन्न घर फर्किन पाएँ ।’

भारतको दम्बोली । हो, त्यही ठाउँमा खरिद–बिक्री भएकी थिइन्, लक्ष्मी । ‘मालिक’ ले त्यही ठाउँबाट उनलाई जहाजमा राखेर आफ्नो देश कुवेत लगे । त्यहाँ करिब दुई वर्ष बन्धकझैं बस्नुपरेको उनले बताइन् । ‘बिहान ७ देखि राति १२ बजे काम गर्नुपथ्र्यो,’ उनले सम्झिइन्, ‘भर पेट खान पनि दिन्थेनन्, मालिकले आफूले छाडेको जुठो खाना दिन्थ्यो ।’ बच्चाको स्याहार गर्ने मूल काम भए पनि घर सफाइदेखि भाँडासम्म माझ्नुपथ्र्यो उनले ।

मालिक रिसालु प्रवृत्तिको थियो । गाली नगरेको र नकुटेको दिनै हुन्थेन । घरबाट बाहिर निस्केर पनि कता भाग्ने ? त्यहाँको प्रहरीले पक्रिने डर सधैं रहन्थ्यो । पीडा सहेर बाँच्नुको विकल्प थिएन । उनी मालिकलाई रिझाएर उम्कने जुक्ति लगाइरहेकी थिइन् । ‘दुई वर्षको अवधिमा मेरा हातका रेखा मेटिइसकेका थिए । भाग्यरेखाप्रतिको विश्वास त झनै टुटिसकेको थियो,’ लक्ष्मी भन्छिन् ।

एक दिन ‘मालिक–मालिक्नी’ असाध्यै खुसी मुडमा घर फर्किए । ‘मैले घरमा आमा एक्लै र बिरामी अवस्थामा रहेको भन्दै फर्किने इच्छा व्यक्त गरेँ । सोच्दै नसोचेको कुरो भयो । मालिकले हुन्छ भनिदिए,’ उनले सुनाइन् । तर, कुवेत एयरपोर्टबाट जहाजले भुईं नछोडासम्म उनी ढुक्क थिइनन् । मालिकको मुड परिवर्तन होला कि भन्ने आशंका थियो ।

​दम्बोली: नेपाली युवतीको खरिदबिक्री
दम्बोलीमा नेपाली युवतीको खरिदबिक्री नै हुने गरेको उनले बताइन् । ‘त्यहाँको एउटा हलमा मजस्ता धेरै नेपाली दिदीबहिनीहरूलाई दिनभरि बसाइन्थ्यो । विदेशीहरू आउँथे । सबैलाई उभ्याएर छामछुम गरी हेरिन्थ्यो । मन परेकालाई लैजान्थे । मसँगैकी अर्की महिला साउदी अरब गइन्,’ उनी भन्छिन्, ‘नेपाली मात्र नभएर बंगाली र भारतीय महिला पनि त्यहाँ थिए ।’ दम्बोलीमा दुई महिना बसेपछि मालिकको रोजाइमा परेकी थिइन्, लक्ष्मी ।

उनी अहिले सुरक्षित आप्रवासनका क्षेत्रमा काम गर्ने एक संस्थामा स्वयंसेवा गर्छिन् । उनको काम वैदेशिक रोजगारीमा जाने चाहनेहरूलाई गैरकानुनी प्रक्रियाबाट जानबाट रोक्न यससम्बन्धी परामर्श दिनु हो ।

भारतको बाटो अवैध प्रक्रियाबाट वैदेशिक रोजगारीमा पुगेर कष्ट झेल्ने लक्ष्मी एक्ली होइनन् । पछिल्लो समय अरू थुप्रै चेली भारतीय बाटो भएर खाडी मुलुक पुग्ने गरेका छन् । त्यहाँ सोचेअनुसारको काम नपाएर दु:ख मात्र झेल्दैनन्, श्रम तथा शारीरिक शोषणमा समेत पर्ने गरेका छन् ।

गैरकानुनी प्रक्रियाबाट विदेश पुगेर समस्यामा परेका थुप्रै महिलालाई उद्धार गरिरहेको सुरक्षित आप्रवासन परियोजनाका जिल्ला संयोजक पञ्चराम चौधरीले बताए । उनले कैलालीबाट गैरकानुनी तरिकाले विदेश पुगेका महिलाको संख्या ठूलो भएको बताए । कान्तिपुर दैनिकमा यो समाचार छापिएको छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

22922