गुराँस टिप्नेलाई ‘जंगलमै कारबाही’

घुम्न आउनेले गुराँसको फूल टिपेर लैजान थालेपछि गुराँसको राजधानीु तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रमा जिल्ला वन कार्यालयले फूल टिप्न प्रतिबन्ध लगाएको छ। पर्यटकले फूल टिप्दा हाँगा समेत भाँच्न थालेपछि वन कार्यालयले फूल टिप्न नै प्रतिबन्ध लगाएको हो।

फूल टिप्दा सौन्दर्य गुम्ने र हाँगा भाँच्दा अर्को वर्ष समेत असर पर्ने भन्दै वन कार्यालयले सार्वजनिक सुचना नै प्रकाशित गरेर फूल टिप्न प्रतिबन्ध लगाएको खबर कान्तिपुर दैनिकमा छ।

सूचना बेवास्ता गरी कसैले फूल टिप्ने र हाँगा भाँच्ने कार्य गरेको पाइए कार्यस्थलमै कारबाही गरिने वन अधिकृत देवीचन्द्र पोखरेलले बताए।

थोरै मात्रामा फूलेको गुराँसका फूल समेत पर्यटकले टिपेर लैजान थालेपछि ‘गुराँसको फूल जोगाऔं’अभियान सुरु गरिएको वन कार्यालयले जनाएको छ।

फूल टिप्दा हाँगासमेत भाँचिने हुँदा गुराँसका प्रजाति मासिन सक्ने अधिकृत पोखरेलको भनाइ छ। फूलसँगै हाँगा भाँच्दा गुराँसको बोट सुक्ने वन प्राविधिकहरुको भनाइ छ। यो क्षेत्रमा २८ प्रजातिका गुराँस फूलीरहेका छन्।

लालीगुराँस नगरपालिकाको देउरालीबाट सुरु हुने गुराँस क्षेत्रमा यतिबेला दैनिक ५ सय बढीको संख्यामा पर्यटक आइरहेका छन्।

गुराँसको सौन्दर्यमा रमाउन र घना गुराँसे जंगलमा घुम्न आउने पर्यटकले गुराँसको फूल टिपेर लैजाने गरेका छन्। सवारी साधनमा आउने यस्ता आन्तरिक तथा बाह्य पर्यटकले फूल टिपेर गाडीमा लोड गरेर समेत लैजाने गरेका छन्।

फूल टिप्दा हाँगा भाँचिने भएकाले बोट सुक्ने र अर्को वर्ष नफूल्ने सहायक वन अधिकृत ललनकुमार मण्डलले बताए । ‘फूल टिप्दा कि त बोट सुक्छ, बोट नसुके अर्को वर्ष फुल्दैन’ उनले भने।

वसन्तपुरदेखि मिल्के हुँदै ताप्लेजुङको साँघुसम्म सडक निर्माण भइसकेकाले पनि यो सडकमा यात्रा गर्ने जोकोहीले फूल टिपेर लैजाने गरेका छन् । यो सडकको दायाँबायाँ राताम्मे भएर गुराँस फुलेका छन्।

स्थानीयले गुराँस टिपेर जुस, वाईन र रक्सी समेत बनाउने गरेका छन्। जसले गर्दा पनि गुराँसे जंगलमा फूल मासिने क्रम बढेको इलाका वन कार्यालय वसन्तपुरका सहायक वन अधिकृत देवनाथ शाहले बताए। फूल टिप्ने क्रम रोक्न वन कार्यालयले सामुदायिक वन उपभोक्ता समितिका पदाधीकारी र वन कर्मचारी समेत परिचालन गरेको छ।

आवश्यक परे प्रहरीसमेत परिचालन गरेर भए पनि गुराँसको फूल टिप्ने काम रोकिने वन अधिकृत पोखरेलको भनाइ छ। वन कार्यालयले पर्यटक फर्किने मुख्य नाका, सहायक नाका, गौंडा तथा जंगलबाट फर्किंदा पहिले भेटिने बजारका चौक र जंगल क्षेत्रमै गोप्य रुपमा सुराकी खटाएको छ ।

छद्मभेषमा खटिएका निगरानीकर्ताले फूल टिपेको भेटेमा समाएर वन कार्यालयलाई बुझाउनेसम्मको अधिकार पाएका छन् । पक्राउ परेकाहरुलाई वन ऐन तथा नियमावलीअनुसार कारबाही गरिने वन कार्यालयले जनाएको छ।

जलवायु परिवर्तनका कारण प्रत्येक वर्ष गुराँस कम फूलीरहेको कार्यालयले जनाएको छ । थोरै मात्रामा फूलेको गुराँससमेत पर्यटकले टिपेर लैजान थालेपछि ‘गुराँसको फूल जोगाऔं’अभियान सुरु गरिएको वन कार्यालयले जनाएको छ । पर्यटकले फूल टिपेर लैजाने गरेकाले यस क्षेत्रको सौन्दर्य गुमेका कारण पर्यटक आगमनको संख्या घट्न थालेको घुर्मिसेका सञ्जीव लिम्बूले बताए।

पहिले आउने पर्यटकले फूल टिपेर लैजाने गर्दा पछि आउनेले नदेख्ने गरेको उनको भनाइ छ । नयाँ वर्षको पहिलो दिन वैशाख १ गते यहाँ घुम्न आएका ५० हजार बढी आन्तरिक तथा बाह्य पर्यटकले गुराँसको फूल टिपेर लगेका थिए।

गुराँसभूमि टिएमजे क्षेत्रको मुख्य प्रवेशद्वार लालीगुराँस नगरपालिकाले भने गुराँस टिप्न रोक्ने विषयमा कुनै पहल नै नगरेको सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष तुलसी संग्रौलाले आरोप लगाए।

यहाँको पर्यटन व्यवसायको मुख्य आधार बनेको गुराँस फूल जोगाउने अभियानमा नगरपालिकाले चासो दिनुपर्ने उनले बताए । गुराँसका कारण प्रदेश नम्बर १ कै प्रमुख पर्यटकीय गन्तव्य बन्दै गएको टिएमजे क्षेत्रको गुराँस वन संकटमा पर्ने डरमा संरक्षणकर्मी र पर्यटन व्यवसायीहरु परेका छन्।
फोटोः @ReetuSubba

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

22997