ओमनमा नेपाली युवतीको अपहरणपछि सामूहिक बलात्कार

काठमाडौं – ओमनको मावेलामा ६ बंगालीद्वारा अपहरणपछि बलात्कृत भएकी एक नेपाली घरेलु कामदारलाई ओमनी प्रहरीले शनिबार उद्धार गरेको छ । प्रहरीले उनलाई निर्माणाधीन घरको शौचालयबाट उद्धार गरेको हो। उनी प्रहरीको संरक्षणमा छिन्।

शुक्रबार दिउँसो ३ बजे अपहरणमा परेकी बुटवलकी ती पीडितलाई प्रहरीले शनिबार बिहान ३:३० बजे उद्धार गरेको हो । अपहरणकारी फरार छन् । ‘राम्रो घरमा काम लगाइदिन्छु’ भनी बोलाएर ती युवतीलाई बंगालीहरूले एउटा भवनमा लगेर बलात्कार गरेको पीडितले बताइन् ।

उनका अनुसार बलात्कार घटना सार्वजनिक हुने डरले उनीहरूले हत्या योजनासमेत बनाएका थिए । तर तीमध्ये एक बंगाली हत्याको विपक्षमा उभिएपछि उनीहरूवीच विवाद भएको थियो । त्यही मौकामा आफू भागेर शौचालयमा लुकेको उनले बताइन् ।

‘मलाई त्यत्तिकै छाडिदिए जबर्जस्ती करणी र अपहरणको पोल खुल्ने डरले मारेर नजिकैको पानी ट्यांकीमा फ्याँकिदिने योजना बनाए । एउटा ठूलो बोरा र घन पनि ल्याए । बुर्काले मेरो मुख बन्द गरिदिए,’ उनले सुनाइन्, ‘मलाई बोलाउने बंगाली हत्याको विरुद्धमा उभिएपछि अरूले उसलाई घाँटी थिचेर कुटपिट गर्न थाले । त्यही मौकामा भागेर शौचालयभित्र छिरेर ढोका बन्द गरें र प्रहरीलाई फोन गरें ।’ आफूले फोन गरेको २० मिनेटमै प्रहरी आएर उद्धार गरेको पीडित युवतीले बताइन् । प्रहरी आउँदा उनीहरू भागिसकेका थिए ।

ती युवती १४ महिनाअघि घरेलु कामदारका रूपमा ओमन पुगेकी थिइन् । मालिकनीबाट यातना भोग्दै आएकी उनी तलबसमेत नदिएपछि ८ महिनाअघि घर छाडेर अवैध रूपमा बाहिर काम गर्दै आएकी थिइन् । ‘एउटा बंगाली नागरिकसँग सम्पर्क भएको थियो । उसले राम्रो तलब सुविधासहित राम्रो घरमा काम लगाइदिने आश्वासन दिएर मावेलामा बोलायो । घरछेउमा पुगेपछि मालिकनीलाई बोलाउँछु भन्दै घरभित्र गयो । एकछिनमा अर्को बंगालीसहितको टोली आएर नजिकैको नयाँ घरमा लिएर गए । त्यहीँ बन्दी बनाएर जबर्जस्ती गरे,’ उनले भनिन् ।

उनले आफ्नो गुमिसकेको जीवन पुन: पाएकोमा खुसी व्यक्त गरिन् । ओमनस्थित गैरआवासीय नेपाली सामाजिक क्लबका अध्यक्ष दीपक श्रेष्ठका अनुसार मृत्युको मुखबाट जोगिएकी पीडित युवती क्लबको सम्पर्कमा छिन् । प्रहरीले घटनाको छानबिन थालेको छ । ‘अपहरण गर्ने बंगालीलाई खोजी गरी कारबाहीका लागि पहल गर्न नेपाली दूतावासलाई आग्रह गरेका छौं,’ श्रेष्ठले भने।

यसैबीच, ओमनको राजधानीस्थित अल हेलको सडक दुर्घटनामा पोखराकी गंगा राईको घटनास्थलमै मृत्यु भएको छ । चितवनकी लेटनी गुरुङ घाइते भएकी छन् । उनीहरू दुवै जना ओआईजी कम्पनीमा कार्यरत थिए । गुरुङको सुल्तान काबुस अस्पतालमा उपचार भइरहेको छ । उनी खतरामुक्त रहेको एनआरएन क्लबका अध्यक्ष श्रेष्ठले बताए ।

घाइतेकी भान्जी निरु गुरुङका अनुसार शुक्रबार बेलुकी सडक पार गर्ने क्रममा दुर्घटना भएको थियो । दुर्घटनापछि तत्काल ओमन प्रहरीले उद्धार गरेको कान्तिपुरमा खबर छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

23033