दाहाललाई र्‍याखर्‍याखी, जनविद्रोह गर्छु भनेको के ?

काठमाडौं, २ कात्तिक। संविधान लेखनमा सहमति जुटाउन प्रयास भइरहेका बेला ‘विद्रोह गर्ने’ भन्‍ने एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको चेतावनीलाई कांग्रेस-एमालेले प्रतिकार गरेका छन्। संविधानका विवादित विषयमा छलफल गर्न शनिबार बसेको तीन दलको बैठकमा कांग्रेस-एमालेका नेताले दाहाललाई र्‍याख र्‍याखती पारेका थिए।

संसद् सचिवालयमा भएको तीन दल बैठकमा एमाले उपाध्यक्ष भीम रावल र कांग्रेस महामन्त्री कृष्ण सिटौलाले सहमति प्रयास भइरहेका बेला विद्रोह गर्ने भन्ने दाहालको भनाइप्रति आपत्ति जनाए। ‘कांग्रेस र एमालेले धोखा दिए, लडाकु समायोजन गर्नु गल्ती थियो, अब विद्रोहको नेतृत्व गर्छु भन्ने भनाइको अर्थ के हो?’ बैठकमा एमाले उपाध्यक्ष रावलले भने, ‘एकातिर दलहरूबीच समझदारी बनाउने भनेर राजनीतिक समितिको नेतृत्व गर्ने, अर्कोतिर सडकमा गएर यस्तो भाषण गर्ने?’

२२ दलीय मोर्चाद्वारा शुक्रबार आयोजित विरोधसभामा दाहालले ‘शान्तिपूर्ण विद्रोह’ को नेतृत्व आफूले लिने चेतावनी दिएका थिए।

तीन दलको बैठकमा रावललाई समर्थन गर्दै सिटौलाले दाहालको अभिव्यक्तिले अन्योल उत्पन्न गरेको समाचार अन्नपूर्णपोष्टमा छापिएको छ। जबाफमा दाहालले आफ्नो भनाइ समग्रतामा बुझ्न आग्रह गरेका थिए। उनले भने, ‘सहमति भएन भने शान्तिपूर्ण विद्रोहको कुरा गरेको हुँ। एकपक्षीय रूपमा बुझ्नु भएन।’ त्यसपछि कांग्रेस-एमालेका नेताले सहमतिका लागि प्रयास भइरहेका बेला अबदेखि कुनै पनि पक्षबाट यस्तो धारणा ल्याउन नहुनेमा जोड दिएका थिए।

‘सहमति भएन भने शान्तिपूर्ण विद्रोहको कुरा गरेको हुँ।

संवैधानिक-राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले प्रमुख दलबीच रहेका आशंका हटाएर विश्वासको वातावरण बनाउनुपर्ने बताए। उनले भने, ‘तीन दलबीच विश्वासको वातावरणले नै सहमतिका लागि गम्भीर वार्ता प्रक्रियामा प्रवेश गर्न सहयोग मिल्छ।’ भट्टराईले प्रमुख दलहरूबीच संघीय ढाँचा, शासकीय स्वरूप र निर्वाचन प्रणालीबारे छलफल केन्द्रित गरेर माघ ८ गतेको समयसीमाभित्र संविधान जारी गर्नेमा ध्यान जानुपर्ने बताएका थिए।





Comments

comments

2318