राजनीतिक र धार्मिक भ्रमणका सिलसिलामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रोपटक आज शुक्रवार नेपाल आउँदै हुनुहुन्छ। जानकी मन्दिरमा हुने विशेष पूजा–आजा, नागरिक अभिनन्दन ग्रहण गर्दै उहाँले रामायण सर्किटको उद्घाटन गर्दै हुनुहुन्छ।

भारतका करिब एक दर्जन धार्मिकस्थलसहित, श्रीलंकाका धार्मिकस्थल, नेपालको जनकपुर र जानकी मन्दिर यो सर्किटमा समेटिएका छन्। मोदी आफैले विगतमा चर्चा गर्नुभएको ‘बुद्धिस्ट सांस्कृतिक सर्किट’ भने ओझेलमा परेको छ। यसपटक यो विषयको चर्चा दोहोरिन्छ/दोहोरिँदैन भन्नेबारेमा कौतुहलताको विषय बनेको खबर नेपाल समाचारपत्रमा खबर छ।

भारतको बोधिगया, सारनाथ र कुशीनगर र नेपालको लुम्बिनीलाई समेटेर ‘बुद्धिस्ट सर्किट’ बनाउने विषय वर्षौंदेखि चर्चामा मात्रै सीमित छ। २०७१ साउन तेस्रो साताको आफ्नो पहिलो नेपाल भ्रमणका क्रममा निकट भविष्यमा लुम्बिनीको दर्शन गर्ने, बुद्धिस्ट सर्किटले मूर्तरूप लिने बताउनुभएको थियो। सोही वर्षको मंसिर दोस्रो साता पुनः नेपाल भ्रमणमा आउँदा उहाँले बुद्धिस्ट सर्किटको प्रसंग दोहो¥याउनुभएको थियो।

भारतले आफ्नो भूमितर्फका बोधगया, सारनाथ र कुशीनगर जोड्ने गरी करिब ७ सय किलोमिटर क्षेत्र समेटेर बुद्ध सर्किट बनाउने कामलाई तीव्रता दिइरहेको छ। गौतम बुद्धले ज्ञान प्राप्त गर्नुभएको बोधगया, आफ्ना पाँच शिष्यलाई पहिलोपटक बुद्धत्वबारे प्रवचन दिनुभएको सारनाथ र उहाँले महापरिनिर्वाण (देहत्याग गर्नुभएको) प्राप्त गर्नुभएको कुशीनगर जोड्ने धार्मिक मार्ग बनाउने काम गरिरहेको छ। बुद्धजन्मस्थल लुम्बिनीसमेत समेटिएपछि मात्र सर्किटको महŒव हुने भारतीय बुझाइ छ।

भारतीय प्रधानमन्त्री मोदीले आफ्नो अघिल्लो नेपाल भ्रमणमा त्यही सोचलाई अभिव्यक्त गर्नुभएको लुम्बिनी विकास कोषका तत्कालीन कार्यकारिणी सदस्य भिक्षु कौण्डन्य बताउनुहुन्छ। विश्वभरका बौद्धमार्गी पर्यटकलाई आकर्षित गर्न सहज हुने ठहर गर्दै लुम्बिनीलाई बुद्ध सर्किटमा जोड्ने उद्देश्य भारतले लिएको जानकारहरू बताउँछन्। यो विषय नेपाल–भारतमा मात्रै सीमित छैन। विगत ५÷६ वर्षयता अन्तर्राष्ट्रिय सम्मेलन र जमघटमा पनि यो विषयले चर्चा पाउने गरेको छ।

चार वर्षअघि काठमाडौंमा भएको १८औं सार्क सम्मेलनका क्रममा पनि ‘बुद्धिस्ट सांस्कृतिक सर्किट’ चर्चाका रूपमा दोहोरिएको थियो।

सन् २०१४को मार्चमा म्यानमारमा भएको तेस्रंो विमस्टेक शिखर सम्मेलनमा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले लुम्बिनी, बोधिगया, कुशिनगर र चीनका समेत केही तीर्थस्थललाई समेटेर बुद्धिस्ट सरकिट बनाउने चर्चा गर्नुभएको थियो। त्यस्तै तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले लुम्बिनीलाई केन्द्रविन्दु बनाउँदै चीन र भारतका तीर्थस्थल समेटिने बुद्धिस्ट सर्किटले धार्मिक पर्यटनमा ठूलो फड्को मार्ने चर्चा गर्नुभएको थियो।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को अध्यक्षतामा ‘गे्रटर लुम्बिनी कमिटी’ गठन भए पनि त्यसले परिणाम देखाउन सकेको छैन। यसपटक मोदी भ्रमण तालिका र गतव्यमा लुम्बिनी पर्न नसेकेकाले स्वभाविक रूपमा बुद्धिस्ट सर्किट ओझल परेको अनुभूति गर्न सकिने परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठको बुझाइ छ।

तर रामायण सर्किट उद्घाटनका बेला यो प्रसङ दोहोरिन सक्ने बताउँदै उहाँले भन्नुभयो– ‘हिन्दुत्वको नारालाई जोड दिने मोदीले जनकपुरलाई प्राथमिकतामा राख्नु स्वभाविक हो, लुम्बिनी उनको भ्रमण सूचीमा भएको भए पक्कै पनि यो विषयले ठूलै चर्चा बटुल्थ्यो।’

नेपालको कूटनीतिक कमजोरीका कारण यसपटक मोदीको लुम्बिनी यात्रा हुन नसकेको श्रेष्ठको ठहर छ। दक्षिण एसियाको आर्थिक विकास, पर्यटन उद्योगको प्रर्वद्धन, रोजगारको सम्भावनालाई मध्यनजर गरेर यो सर्किट चर्चा हुने गर्छ। यस धार्मिक मार्गबाट नेपाल र नेपालीले लाभ लिन सक्ने प्रशस्तै रहेको लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्राडा. नरेशमान वज्राचार्यको बुझाइ छ।

लुम्बिनीको धार्मिक संरक्षण र पर्यटकीय विकासका लागि पूर्वाधार बनाउने जिम्मा पाएको लुम्बिनी विकास कोषको एक्लो पहलले मात्रै यो अवधारणाले मूर्त रूप लिन नसक्ने कोष पदाधिकारी बताउँछन्। बुद्धिस्ट सकिर्ट बारे सरकारले अग्रसरता देखाएको खण्डमा विस्तृत अझ विस्तृत अवधारणा र परिभाषाका साथ अघि बढ्न सकिने उनीहरूको बुझाई छ। भारतको उत्तर प्रदेश पर्यटन निगमले त्यहाँका बोधिगया, कुशिनगर श्रवास्ती, राजगृहलगायतका तीर्थस्थलमा पर्यटक घुमाउँदा लुम्बिनीलाई पनि ‘धार्मिक रुट’मा राख्ने गरेका लुम्बिनी विकास कोषका पूर्व महासचिव अजितमान तामाङले जानकारी दिनुभयो।

‘यो सकारात्मक कुरा हो, यस्तै किसिमले समग्र दक्षिण एसिया समिटने गरी बुद्धिस्ट सर्किट बनाउन सकिन्छ। तर यसबारे एक अर्को मुलुक वीच समन्वय र विस्तृत छलफलको आवश्यक रहन्छ’ –उहाँले भन्नुभयो।

प्रचण्ड पहिलोपटक प्रधानमन्त्री हुँदा गठित बृहत्तर लुम्बिनी विकास समितिका कार्यकारी समेत रहनुभएका भिक्षु कौण्डन्यको अनुभवमा नेपालले ठोस पहल अघि बढाउन सकेको छैन।

बुद्धिस्ट सर्किटमा लुम्बिनीलाई मात्र नभई कपिलवस्तु, देवदेह, रामग्राम लगायतका गन्तव्यलाई पनि समेटिनुपर्ने आवाज विगतदेखिकै भएको उहाँले बताउनुभयो।











Comments

comments