सहयोगको घोषणा मात्र कि पाउने पनि हो?

भूकम्पपछिको पुनर्निर्माणको दाता सम्मेलनमा गरिएको घोषणा र चार वर्षअगाडि संविधानसभाको विशेष बैठकलाई सम्बोधन गर्दै गरिएको घोषणा कार्यान्वयन गर्न आलटाल भइरहेका बेला भारतले पुनः सहयोग घोषणा गरेको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो नेपाल भ्रमणका क्रममा प्रदेश नं–२ तथा जनकपुर क्षेत्रको विकासका लागि एक सय करोड भारु सहयोग गर्ने घोषणा गर्नुभएको छ। यसअघि आफ्नो पहिलो भ्रमणमा मोदी आफैले नेपालको संसद्लाई विशेष सम्बोधन गर्दै एक सय अर्ब सहयोग गर्ने घोषणा गर्नुभएको थियो।

त्यस्तै दाता सम्मेलनका क्रममा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले पनि उत्ति नै रकम आफ्नो मुलुकका तर्फबाट नेपालको पुनर्निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो। तर सोलगत्तै नेपालमा भारतले लगाएको नाकाबन्दी र राजनीतिक सम्बन्ध चिसिएपछि सहयोग घोषणा लामो समयसम्म पनि कार्यान्वयनमा आउन सकेको छैन।

नेपालको राजनीतिमा हस्तक्षेपकारी भूमिका निर्वाह गरेको र भूकम्पका कारण थिलथिलो भएको अवस्थामा भारतीय पक्षबाट भएको नाकाबन्दी भोगेका नेपालीले यसपटकको मोदी भ्रमणलाई हृदयदेखि नै स्वागत गर्न सकिरहेका छैनन्। नेपालको गरिबीलाई वृद्धि गर्न नाकाबन्दीले प्रत्यक्ष सहयोग पु¥याएको सरकारी तथ्यांक छ। नाकाबन्दीताका २१ दशमलव ६ प्रतिशतमा रहेको नेपालको गरिबी नाकाबन्दीपछि साढे २८ प्रतिशत पुगेको थियो।

जबकि त्यस वर्ष गरिबी १८ प्रतिशतमा झार्ने सरकारी लक्ष्य थियो। त्यो बेला भोग्नुपरेको कष्टकर जीवन र अत्यावश्यक मानवीय आवश्यकता पूर्ति गर्न धौ–धौ भएको तत्कालीन अवस्था नेपाली र विशेष गरी राजधानीबासीले अहिले झलझली सम्झिएका छन्। मोदीको पहिलो नेपाल भ्रमणका बेला जुन किसिमको आत्मीयता भ्रातृत्व प्रकट भएको थियो सो किसिमको आतिथ्यता यसपटक देखिएको छैन। बरु सरकारले नागरिक अभिनन्दन गरेको भन्दै जनआक्रोश बढेको छ।

त्यसैको फलस्वरूप मोदीको भ्रमणलाई लिएर हुन सक्ने सम्भावित विरोध प्रदर्शनप्रति सरकार सचेत भएको देखिन्छ।
नाकाबन्दीबारे असन्तुष्टि अभिव्यक्त गर्नेहरूलाई निरुत्साहित गर्न ठाउँ–ठाउँमा धरपकटसमेत गरेको छ। मोदी भ्रमण र शिष्टाचार भेटघाट र सवारी रुट नै नपर्ने विवेकशील साझा पार्टीको कार्यालय ललितपुरको बखुण्डोलमा राखिएको सांकेतिक विरोधको ब्यानरसमेत सुरक्षाकर्मीले हटाएर मोदीप्रतिको सम्भावित जनविरोधलाई ढाकछोप गर्ने प्रयास भएको छ। नेपाली जनमनलाई जसरी नाकाबन्दीले दुखाइरहेको छ, त्यो दुखाइ काठमाडौं खाल्डोमा मात्रै सीमित नभएर ७ समुद्रपारिका हितैषीको मन पनि दुखाएको प्रष्ट देखिन्छ।

युरोपियन युनियनका तर्फबाट नाकाबन्दीताका नेपालमा राजदूत रहनुभएकी र हाल बंगलादेशकी राजदूत रहनुभएकी रिन्छे टेप्लिजले समेत ट्वीट गदै ‘मिस्टर मोदी नाकाबन्दी अपराध थियो’ भन्दै असन्तुष्टि प्रकट गर्नुभएको छ।
मोदी भ्रमणबारेको असन्तुष्टि सामाजिक सञ्जालमा छताछुल्ल भएको छ। नाकाबन्दीको तुषबारे प्रष्ट जानकार रहँदा रहँदै पनि मोदी यसपटकको भ्रमणमा यो विषयमा मौन रहनुभएको छ। शुक्रबार जनकपुरमा भएका आफ्ना २ वटा सम्बोधनमा नाकाबन्दीको प्रसंग जोड्नुभएन। पूर्वप्रतिबद्धताअनुसार जनकपुर आउन ढिलो भएकोमा भने उहाँले माफी माग्दै भन्नुभयो– ‘२०१४ मा नेपाल आउँदा छिट्टै जनकपुर आउने भनेको थिएँ, तर अलि ढिला भयो त्यसका लागि माफी चाहन्छु।’

आफ्नो सम्बोधनमा मोदीले धार्मिक गन्तव्य, रेलमार्ग, जलमार्ग, सडक पूर्वाधार र कनेक्टिभिटीले दुवै मुलुकलाई नजिक्याउने, सम्बन्ध अझ निकट बनाउने विगतका वर्षकै उदाहरण र प्रसंग दोहो¥याउन समय खर्चनुभयो।
त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका भारतीय समकक्षी मोदीले नेपाल, भारत र श्रीलंकाका धार्मिक गन्तव्य जोड्ने रामायण सर्किटको उद्घाटन गर्नुभयो।

बुद्ध जन्मस्थल लुम्बिनी र भारतीय बौद्ध तीर्थस्थलमार्फत द्विपक्षीय धार्मिक पर्यटन प्रबद्र्धनमा सघाउ पुग्ने बताउनुभएका मोदी आफैंले विगतमा चर्चा गर्नुभएको ‘बुद्धिस्ट सांस्कृतिक सर्किट’ बारे यसपटक प्रष्टरूपमा धारणा राख्नुभएन। भारतीय प्रधानमन्त्री मोदी शुक्रबार बिहान भारतको पटना हुँदै विशेष विमानमार्फत जनकपुर पुगेर जानकी मन्दिरमा विशेष पूजाआजा गर्नुभएको थियो।

त्यहाँको धार्मिक कार्यक्रम र नागरिक अभिनन्दनमा सहभागी भएर अपरा≈न काठमाडौं फर्कनुभएका उहाँ द्विपक्षीय शिष्टाचार र उच्चस्तरीय राजनीतिक भेटघाटमा व्यस्त रहनुभयो। राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुनसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको मोदीले साँझ प्रधानमन्त्री ओलीसँग द्विपक्षीय वार्ता गर्नुभएको छ। नेपाल समाचारपत्रमा खबर छ।





Comments

comments

Leave a Reply

23197