एशियाड बन्द प्रशिक्षणमा व्यस्त खेलाडी भन्छन्–‘करातेमा हामी निराश बनाउने छैनौ’

केशब पाठक, /एचकेनेपाल डट कम –

पोखरा, ९ जेठ । इण्डोनेशियामा हुने १८ औ यशियाली खेलमा नेपालका तर्फ बाट कराते खेलका ८ जना खेलाडी र २ जना प्रशिक्षक पोखरामा बन्द प्रशिक्षणमा व्यस्त रहेका छन्। उनीहरुको एक मात्र ध्येय भनेको यशियाडमा पदक ल्याउनु हो । त्यसैले पनि उनीहरु ढुक्कसंग भन्छन् कराते खेलबाट हामी निराश पार्ने छैनौ।

परशुराम बास्तोला प्रशिक्षणमा व्यस्त मध्ये एक खेलाडी २२ वर्षदेखि लगातार कराते खेलिरहेका छन । १७ औ एशियाली खेलमा ५ औ स्थान भएका उनी यस पटक पदक प्राप्त गर्ने आशाका साथ प्रशिक्षणमा व्यस्त छन । उनी ११ औ दक्षिण एशियाली खेलकुद (साग) मा काश्य पदक बिजेता समेत हुन । उनले १८ औ एशियाडमा व्यक्तिगत कातातर्फ खेल्दै छन्।

कातातर्फ महिला तर्फकी खेलाडी चञ्चला दनुवार १५ वर्षदेखि खेलिरहेकी छन । यस पटक बन्द प्रशिक्षणको अवधि छोटो भए पनि आफू पदक जित्नेमा विश्वस्त रहेको उनले बताइन्।

१२ वर्षदेखि करातेको कुमुतेमा खेल्दै आएकी अनु अधिकारी ५५ केजी मुनीको तौल समूहबाट एशियाडमा सहभागिता जनाउँदै छिन । उनी ११ औ साग खेलेकी रजत पदक बिजेता समेत हुन । १७ औ एशियाडमा उनले सहभागिता जनाएकोले पनि आफू यस पटक पदक प्राप्त गर्ने लक्ष्यका साथ रिङ्गमा उत्रिने बताइन्।

बन्द प्रशिक्षणमा ब्यस्त मध्येका दिवश श्रेष्ठ सागका तिन पटकका गोल्ड मेडलिष्ट हुन । उनी भन्छन–‘नौ वर्ष भयो खेल्न थालेको त्यसमा १७ औ एशियाडमा समेत म ५ औं स्थानमा आउन सफल भएको छु यस पटक पक्कै मेडल ल्याउनेमा ढुक्क छु ।’ यस अघि उनले दुवइ वोदोकान, अष्ट्रेलियन ओपन र थाइलैण्ड ओपनमा समेत मेडल ल्याएका छन्।

साग खेलमा दुइ पटकका गोल्ड मेडलिष्ट कुमुतेका तर्फका प्रशिक्षक हुन । २०५४ साल बाट लगातार करातेमा व्यस्त श्रेष्ठ यति बेला सम्पूर्ण ध्यान प्रशिक्षणमा नै रहेको बताए । उनी भन्छन–‘हामी मेडलको टारगेट प्राप्त गर्ने दिशा तर्फ अघि बढेका छौं ।’ उनले खेलाडीहरुलाई स्वदेशमा कम र विदेशमा बढी समय प्रशिक्षणमा राख्नुपर्ने बताए । ‘खेलाडीलाई अन्तर्राष्ट्रिय एक्सपोजर दिन सक्ने हो भने मेडलको सम्भावना रहन्छ ।’ उनले पोखरामा राम्रो प्रशिक्षण भइरहेको समेत बताए।

देशले यति बेला करातेबाट धेरै अपेक्षा गरेको बताउँदै प्रशिक्षक श्रेष्ठले युरोप वा जापानमा खेलाडीलाई प्रशिक्षणमा पठाउन चाहेको बताए । युरोपमा पठाइयो भने खेलाडीले धेरै सिक्ने अवसर प्राप्त गर्ने र त्यहाँका राष्ट्रिय खेलाडीसंग पनि खेल्ने मौका पाउने उनले बताए । उनले अन्य देशको दाँजोमा नेपालको प्रशिक्षण अवधी कम भए पनि पदकको आश गरेको बताए । उनले भने –‘उनीहरु ४ वर्ष देखि प्रशिक्षणमा छन हामी ४ महिनाको प्रशिक्षणमा।’

एक सातादेखि प्रशिक्षणमा व्यस्त काता तर्फका प्रशिक्षक हिरा सिंह डंगोल पोखराको वातावरणमा खेलाडीले प्रशिक्षण लिने मौका पाउनु सुखद रहेको बताए । इण्डोनेशिया र पोखराको हावा पानीमा खासै फरक नर्पने भएकोले पनि पोखरालाई रोजिएको बताए । उनी राष्ट्रिय खेलकुद परिषद प्रशिक्षण तथा तालिम विभागमा समेत कार्यरत छन।

नेपालमा २०३९ सालमा स्थापना भएको कराते खेल १९९४ को १२ एशियाली खेलकुदमा काश्य पदक प्राप्त गरेको थियो । सिता राइले उक्त पदक ल्याएकी थिइन । थाइलैण्डमा सम्पन्न १६ औ एशियाडमा सम्मर बहादुर गोलेले रजत पदक र इन्चोइनमा सम्पन्न १७ औ एशियाडमा बिमला तामाङले रजत पदक ल्याएकी थिइन्।

तस्वीरः सुदर्शन रञ्जित





Comments

comments

Leave a Reply

23348