रामबजार स्वर्ण महोत्सव सम्पन्न

सुदर्शन रञ्जित / एचकेनेपाल डट कम –
पोखराको रामबजारमा आयोजित रामबजार स्वर्ण महोत्सव मङ्गलबार सम्पन्न भएको छ। शनिवारदेखि शुरु भएको महोत्सव झण्डै तीन लाख दर्शकले अवलोकन गरेको प्रचार संयोजक एवं प्रवत्ता खगेन्द्र क्षत्रीले जानकारी दिए।

महोत्सवको आकर्षणमा रामबजारको पुरानो फोटो तथा चित्र प्रदर्शनी, ख्यातिप्राप्त कलाकार र व्याण्डहरुको साङ्गितिक कार्यक्रम, देउसी भैलो, लोक नृत्य प्रतियोगिता, बाल उद्यान, फुड फेष्टिबल, विभिन्न जातजातीका झाँकी रहेका थिए। रामबजारलाई नै झिलिमिलि वत्तिले सिगांरिएको दृश्य हेर्न साँझमा दर्शकको बढि घुईचो लाग्ने गरेको थियो। साँझ परेपछि झिलिमिलि वत्तिले सिगांरिएको बजारको दृश्य र ख्यातिप्राप्त ब्याण्डहरुको प्रस्तुतीले दर्शकलाई मनोरञ्जन प्रदान गरेको थियो।

महोत्सव सोचेभन्दा बढि सफल भएकोभन्दै क्लवले खुशी व्यक्त गरेको छ। उत्साहजनक सहभागिताका साथ महोत्सव सम्पन्न भएको ठानेका छौ क्लवका अध्यक्ष तिलकबहादुर गुरुङले भने – महोत्सवलाई सघाउनेहरुप्रति आभारी छौ। रामबजारको पहिचान र विकासको मुख्य उदेश्यले महोत्सव आयोजना गरिएको हो। महोत्सवबाट बचत हुने रकम रामबजारमा सोलार वत्ति जडान र शिक्षा क्षेत्रको विकासका लागि खर्च गरिने बताइएको छ।

महोत्सव समापन समारोहमा बोल्दै समाजसेवी सूर्यबहादुर के.सीले युवालाई कुलतबाट जोगाउनु पर्ने बताए। देश बनाउन युवाहरुको ठूलो भूमिका रहेकोभन्दै उनले युवाहरुले गर्ने रचनात्मक कामलाई सवैले सघाउनुपर्नेमा जोड दिए। उनले जात, भाषा र धर्मको कुरा छाडेर राम्रो काम गर्नेलाई सम्मान गर्नुपर्ने आवश्यकता औल्याए।

पूर्वसांसद समेत रहेका के.सीले देशको ठूलो रोगका रुपमा भ्रष्टाचार रहेकोभन्दै चिन्ता व्यक्त गरे। मुलुकले सज्जन प्रधानमन्त्री पाएपनि उनको कार्यक्षमतामा भने प्रश्न उठेको उल्लेख गरे। उनले रामबजारमा सोलार वत्ती जडान गर्नका लागि एक लाखभन्दा बढि रकम सहयोग गर्ने प्रतिबद्वता व्यक्त गरे।

रामबजार र एयरपोर्टलाई जोड्ने चोर साँघुको पुल मर्मत गरी संचालन गर्न सके रामबजारको अझ बढि प्रबद्र्वन हुन सक्नेभन्दै सो पुल मर्मतका लागि काम शुरु गरे पाँच लाख रुपैया सहयोग गर्ने पनि घोषणा गरे। रामबजार सोसाईटी यू.केका सल्लाहकार डा चन्द्रबहादुर गुरुङले रामबजारको पहिचानको लागि महोत्सवले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे। कार्यक्रममा समाजसेवी मनवीर गुरुङ ढासा, सुनचाँदी व्यवसायी सङ्घ कास्कीका कोषाध्यक्ष भविन्द्र वि.क, समाजसेवी खेमकुमारी बराल, प्रकाश बराल, रामबजार टोल विकास संस्थाका अध्यक्ष ध्रुव पोखरेलले बोलेका थिए।

त्यसअवसरमा फुटबल खेलको माध्यमबाट रामबजारको पहिचान बढाएको भन्दै फुटबल खेलाडी विजय गुरुङलाई सम्मान गरिएको थियो। रामबजार युथ क्लवका अध्यक्ष तिलकबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य डा कमल नेपालीले स्वागत, उपाध्यक्ष वीरेन्द्र पुनले धन्यवाद ज्ञापन र सदस्य सचिव ज्ञानबहादुर थापाले कार्यक्रम संचालन गरेका थिए।

तस्वीरः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम





Comments

comments

2338