बजेट भाषणलगत्तै मूल्यवृद्धि, व्यवसायीको मनोमानी

काठमाडौं – बजेट भाषणलगत्तै कोटेश्वर निवासी चन्दा पौडेल फ्रिज खरिद गर्न न्युरोड पुगिन् । व्यवसायीले भन्सार बढेको जनाउँदै बजारभाउ भन्दा थप ५ प्रतिशत बढी रकम असुल्न खोजे।

‘बजेट भाषणको केही दिनपछि मूल्य बढ्नु स्वाभाविक हुन्छ,’ उनले भनिन्, ‘तर, भाषणसँगै बढी मूल्य तिर्न बाध्य भएँ ।’

पौडेलजस्तै इलेक्ट्रोनिक उपभोक्ता मूल्य वृद्धिको मारमा परिसकेका छन् । अत्यावश्यक खाद्य वस्तुमा पनि व्यवसायीले मूल्य बढाएका छन् । जानकारका अनुसार बजेट भाषणलगत्तै मूल्य बढ्दैन । बजेट भाषण हुने दिनमा भन्सार नाकाहरू बन्द हुन्छन् । जसले गर्दा सामान भित्रिन पाउँदैनन् ।

बजेटको भोलिपल्ट सामान भित्रिए पनि उपत्यका आइपुग्न दुई दिन लाग्छ । सामानहरू भन्सारमै थन्किए पनि केही व्यवसायीले मूल्य बढाएका हुन् । खुद्रा व्यापार संघका अनुसार होलसेल (ठूला) व्यवसायीले मनोमानी रूपमा मूल्य बढाएका हुन् ।

‘भाषणलगत्तै होलसेलमा तेलको मूल्य लिटरमा ५/६ रुपैयाँ बढेको छ । चामल, तेल, दाल, चिनी लगायतका अत्यावश्यक वस्तुमा पनि सोहीअनुसार मूल्य बढाएका छन्,’ संघका अध्यक्ष पवित्र बज्राचार्यले भने, ‘तत्काल मूल्य बढ्न नपर्ने हो । तर, ठूला व्यापारीको चलखेल भयो । मूल्यवृद्धि तत्काल रोक्न जरुरी छ ।’ कान्तिपुरमा खबर छ ।





Comments

comments

Leave a Reply

23426