पूर्वयुवराज पारस ट्राफिकको फन्दामा!

घटना गत सोमबार (२८ जेठ)को हो । स्थान, जवलाखेल चोक । दिउँसो एउटा गाडी ट्राफिक नियमको बेपर्बाह गर्दै हुइँकियो । चोकमा तैनाथ ट्राफिक प्रहरीको नजर गाडीमा पर्‍यो । बा.१४प २१३१ नम्बरको गाडी थियो ।

कोसिस गर्दा पनि प्रहरीले गाडी नियन्त्रणमा लिन सकेन । ट्राफिक नियम मिच्दै गाडी पुल्चोकतिर हुइँकियो । जावलाखेल ट्राफिकले तत्काल हरिहरभवनको प्रहरीलाई फोन गरेर भन्यो, ‘एउटा गाडी अनियन्त्रित गतिमा त्यतातिर आउँदै छ । चालक विदेशीजस्तो देखिन्छ । दुर्घटना निम्त्याउन सक्ने खतरा छ । नियन्त्रणमा लिनू ।’

हरिहरभवनको ट्राफिक तयारी अवस्थामा बस्यो । नभन्दै बेतोडले हुइँकिएको गाडी हरिहरभवन आइपुग्यो । नजिकै आइपुगेपछि ट्राफिकले सिठी फुक्दै रोक्न संकेत गर्‍यो । तर, सुनेको–नसुन्यै गरी चालकले झन् गेयर बढायो । हरिहरभवनका ट्राफिक प्रहरी पनि जावलाखेलका झैँ हेरेको–हेर्‍यै भए ।

हरिहरभवनबाट पनि अगाडि बढेपछि गाडी रोक्नुपर्ने खबर कुपन्डोल र थापाथली ट्राफिकमा पुग्यो । कुपन्डोलका ट्राफिक पनि तत्काल ‘एक्सन’मा खडा भए । तर, उनीहरूले रोक्न खोज्दा पनि गाडी रुकेन । कुपन्डोलका ट्राफिकलाई हैरान पार्दै गाडी थापाथलीतिर कुद्यो ।

थापाथली ट्राफिकले नयाँ जुक्ति निकाल्यो । उक्त गाडी थापाथली आइपुग्नै लाग्दा ट्राफिकले त्यस अगाडिका चार–पाँच गाडी रोकिदियो । अब बा.१४प २१३१ नम्बरको गाडी उम्किने अवस्था भएन । त्यसो त त्यहाँबाट फुत्किएको भएपनि माइतीघर र त्रिपुरेश्वरका ट्राफिक पनि तयारी अवस्थामा थिए।

थापाथलीका दुई–तीन ट्राफिक गाडी रोकेर नजिकै पुगेपछि गाडीको सिसा झार्दै चालक बोले, ‘ह्वाट ह्यापन्ड ?’ ट्राफिकले कागजपत्र मागे । चालकले सहजै उपलब्ध गराए । एक ट्राफिकले भने, ‘गाडीको नम्बर पनि स्पष्ट देखिँदैन त ?’ चालक गाडीबाट ओर्लिएर नम्बर प्लेटमा लागेको माटो टालोले सफा गरे । चालक गाडीबाट झर्नेवित्तिकै जाममा परेका मोटरसाइलकमा सवारहरु चिच्याए, ‘पारस शाह ।’ त्यसपछि त सडकमा हल्लीखल्ली नै भयो । जावलाखेल चोकबाट प्रहरीले निगरानीमा राखेका ति चालक पूर्व युवराज पारस शाह थिए । गाडीमा उनी एक्लै थिए ।

नम्बर प्लेट पुछेर पारस गाडीमा बसे । ट्राफिक प्रहरी वाकिटकीमा उपल्लो निकायमा कुरा गर्न थाले । एकैछिनमा पारस फेरि गाडीबाट झरेर ट्राफिककहाँ पुगे र आफ्ना ‘डकुमेन्ट’ फिर्ता मागे । ट्राफिकले जवाफ दिए, ‘एकछिन समय लाग्छ ।’ त्यसपछि उनी गाडीमै गएर बसे । एक मिनेटमै फेरि गाडीबाट ओर्लिए र ट्राफिकसँग उही अनुरोध दोहर्‍याए । ट्राफिक प्रहरीले पनि अघिल्लै जवाफ दियो, ‘समय लाग्छ ।’

त्यतिवेलासम्म पारस निकै आक्रोशित भइसकेका थिए । रिसाएर उनी कड्किए, ‘तैले मलाई चिन्नुपर्छ ।’ यति बोलेपछि पारस लाइसेन्स र ब्लुबुक छाडेर गाडीभित्र पसे र माइतीघरतर्फ हुइँकिए ।

पारसका अंगरक्षक थापाथली प्रहरीमा
लाइसेन्स र ब्लुबुक ट्राफिकलाई छाडेर पारस हिँडेको केही समयपछि उनका अंगरक्षक थापाथली ट्राफिक प्रहरी कार्यालयमा आए । पारसले ट्राफिक नियम उल्लंघन गरेको भन्दै प्रहरीले पाँच सय जरिवाना गरेको रसिद काटेको थियो । रसिदमा चालक/धनीको नाम ‘पारस वि.वि. शाह’ उल्लेख छ । अंगरक्षकले बैंकमा पाँच सय जरिवाना तिरेर पारसको ब्लुबुक तथा लाइसेन्स फिर्ता ल्याए । नयाँपत्रिका खबर छ।





Comments

comments

Leave a Reply

23594