जनप्रतिनिधि नै चोर्छन् बिजुली

काठमाडौ, २ असार । बिजुली चोरीमा जनप्रतिनिधि नै संलग्न भएको पाइएको छ । बिजुली चोरी नियन्त्रण गर्ने अभियान थालेको नेपाल विद्युत् प्राधिकरणले बिजुली चोरेर प्रयोग गरेको भेटेपछि बिहीबार दुई वडाध्यक्ष पक्राउ परे।

चोरी नियन्त्रणका लागि बिहीबार खटिएको विद्युत् प्राधिकरणको टोलीले काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष नारायण लम्साल र सप्तरीको तिरहुत गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष रामानन्द चौधरीलाई पक्राउ गरेको नागरिक दैनिकमा खबर छ।

सुरक्षाकर्मीसहित खटिएको काभ्रे वितरण केन्द्रकोे टोलीले वडाध्यक्ष लम्सालले कुन्ताबेसीमा हुकिङ गरी कुखुरा फर्ममा विद्युत् प्रयोग गरेको फेला पारेपछि उनलाई पक्राउ गरेको हो । लम्साललाई जिल्ला प्रहरी कार्यालय धुलिखेलमा राखिएको थियो । उनी ४१ हजार २ सय ८७ रुपैयाँ जरिवाना तिरी शुक्रबार हिरासतमुक्त भएका छन् ।

यसैगरी राजविराज वितरण केन्द्रको टोलीले तिरहुत गाउँपालिका–५ का वडाध्यक्ष चौधरीले हुकिङ गरी घरमा विद्युत् प्रयोग गरेको फेला पारेको थियो । टोलीले वडाध्यक्षसहित हुकिङ गर्ने २१ जनालाई पक्राउ गरेको थियो । वडाध्यक्ष चौधरी १५ हजार जरिवाना तिरी शुक्रबार छुटेका छन् ।प्राधिकरणले चालू आर्थिक वर्षको वैशाखसम्ममा १० अर्ब रुपैयाँको बिजुली चोरी भएको तथ्यांक सार्वजनिक गरेको छ । बिजुली चोरीका कारण मुलुकले राजस्व गुमाउँदै आएको प्राधिकरणको भनाइ छ।

गृहमन्त्री रामबहादुर थापा, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, गृहसचिव प्रेमकुमार राई, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाललगायतको बुधबारको बैठकले विद्युत् चोरी नियन्त्रणलाई परिणाममुखी बनाउने निर्णय गरेको थियो । यही निर्णयका आधारमा प्रत्येक जिल्ला प्रशासन कार्यालय र प्राधिकरणका शाखा कार्यालयले संयुक्तरुपमा चुहावट नियन्त्रण कार्यायोजना बनाएर काम सुरु गरिसकेका छन्।





Comments

comments

Leave a Reply

23617