विवादास्पद अवालेलाई उडान भर्न दिन माग

काठमाडौं – विदेशी मुद्रा अपचलन मुद्दामा काठमाडौं जिल्ला अदालतबाट करिब १ करोड रुपैयाँ जरिवाना ठहर गरिएका वरिष्ठ पाइलट (क्याप्टेन) सुवर्ण अवालेलाई पुनः जहाज उडाउन दिन नेपाल वायुसेवा निगमले नागरिक उड्डयन प्राधिकरणलाई पत्राचार गरेको छ।

मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले विदेशी मुद्रा अपचलन मुद्दामा राजस्व अनुसन्धान विभागमा धरौटी बुझाएर तारेखमा छुटेका वायुसेवा निगमका उनै क्याप्टेन अवालेलाई अनिश्चितकालका लागि उडान गर्न दिन नमिल्ने निर्णय २०७४ फागुन २७ गते गरेको थियो।

अवाले २०७३ चैत २८ गते ९३ हजार ६ सय अमेरिकी डलरसहित जहाज कमान्ड गरेर दुबई उड्न लाग्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए। ‘प्रतिवादी सुवर्ण अवालेलाई विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ को दफा १७(१) बमोजिम बरामद भएको डलरको नेपाली बिगो ९६ लाख ९० हजार ४ सय ८ रुपैयाँबराबरको रकम जरिवाना हुने ठहर गरिएको छ’, अवालेविरुद्ध एक वर्षभन्दा बढी चलेको मुद्दामा काठमाडौं जिल्ला अदालतले २०७४ चैत २२ गते गरेको फैसलामा उल्लेख छ, ‘अवालेले उक्त रकम राजस्व अनुसन्धान विभागमा धरौटी राखेको देखिँदा त्यही रकम यस अदालतमा झिकाई जरिवानाबापत सदरस्याहा गर्नू।’

त्यसपछि राष्ट्रिय ध्वजावाहक निगम व्यवस्थापनले क्याप्टेन अवालेलाई पुनः जहाज उडाउन दिन आग्रह गर्दै उड्डयन प्राधिकरणलाई पत्राचार गरेको हो। ‘विदेशी मुद्रा अपचलन मुद्दामा काठमाडौं जिल्ला अदालतको फैसलाअनुसार अवालेले जरिवाना बुझाइसकेको र उक्त फैसलालाई अन्तिम मानी उडान इजाजत अद्यावधिक गरी उडानमा संलग्न गराउन स्वीकृतिका निम्ति अनुरोध गरिन्छ,’ निगमका महाप्रबन्धक सुगतरत्न कंसारकारले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ। नागरिक दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

23752