एउटै स्कुलका ७ विद्यार्थीले ल्याए ४ जीपीए

पोखरा — गत शनिबार एसईईको परिणाम सार्वजनिक हुँदा सुरुमा ३.९५ जीपीए देखियो सफल सुवेदीको । पोखरा लेखनाथ २९ का उनी र अभिभावकको खुसीको सीमै थिएन । भोलिपल्ट आइतबार खुसी साटासाटमै व्यस्त थिए।

साँझपख विद्यालयबाट बाबु बद्रीनाथलाई फोन आयो, ‘सफलको ४ जीपीए आएको रहेछ है ।’ साथीसँग फुटबल खेल्दै गर्दा उनलाई पनि खबर पुग्यो । सुरुमा उनले पत्याएनन् । आफ्नै बाबुले भनेपछि नपत्याई सुखै भएन । नेटबाट मार्कसिट हेर्दा ४ जीपीए प्रस्टै थियो । ‘प्राविधिक कमजोरीले त्यस्तो भएको रहेछ,’ सफलले भने, ‘खुसी थपियो।’

उनी पढ्ने क्रममा मसिना विषयवस्तुमा ध्यान दिन्थे । ‘सर्टफर्म’ बनाएर ‘साना’ कुरालाई पनि नोट गर्थे । शिक्षकले पढाएको र भनेको ध्यानपूर्वक सुन्थे । अनुसरण गर्थे । ‘पहिलो कुरा मिहिनेतको परिणाम हो,’ उनले भने, ‘सुरुबाटै मसिना विषयमा ध्यान दिएर पढेमा एसईईको परीक्षामा बढी मिहिनेत गर्न पर्दैन।’

मालेपाटनकी झरना पौडेलले पनि ४ जीपीए ल्याइन् । मिहिनेतअनुसारको फल पाएको भन्दै उनी दंग छिन् । ‘घोटिएर पढ्नुभन्दा पनि शिक्षकले देखाएको बाटोमा हिँड्यो भने सफलता पाइने रहेछ,’ एसईईको परिणामको अनुभव उनले सुनाइन्, ‘घरमा अलिकति मात्रै पढ्ने आधार (वातावरण) बनाए पुग्ने रहेछ । शिक्षकको गाइड, साथीको संगत, पारिवारिक वातावरण र आफ्नो मिहिनेत सफलताका कारण हुन् ।’ घरमा गएर धेरै समय पढ्नुभन्दा पनि शिक्षकले पढाएको र भनेको कुरामै ध्यान केन्द्रित गर्न उनले आग्रह गरिन्।

सुवेदी र पौडेल मात्र होइन, यहाँको मासबारस्थित मदरल्यान्ड माविबाट यसपटकको एसईईमा ७ विद्यार्थीले ४ जीपीए ल्याएका छन् । मासबारकी कृति बराल, कास्की धितालका प्रयास पौडेल, बिरौटाकी वर्षा बराल, सिरहा विष्णुपुरका रञ्जन यादव र पामेका राजेश अधिकारीले पनि ४ जीपीए ल्याए। कान्तिपुरमा खबर छ।





Comments

comments

Leave a Reply

23846