चीनको सर्वाधिक महँगो फिल्म पहिलो सातामै फ्लप

बेइजिङ– चिनियाँ फिल्मको इतिहासमा हालसम्मकै सर्वाधिक महंगो बजेटमा निर्माण भएको फिल्म ‘असुरा’लाई रिलिजको पहिलो सातामै हलबाट हटाइएको छ।

झण्डै ७५ करोड युआन अर्थात ११ दशमलब २ करोड डलरको लागतमा बनेको फिल्मले रिलिजको पहिलो सातामा पाँच करोड युआन भन्दा कमको निराशाजनक व्यापार गरेपछि हल सञ्चालकले फिल्म उतारेका हुन्।

फिल्म एक हप्तामा नै हलबाट उत्रिएपछि यसका निर्माताले पुनः फिल्ममा सुधार गर्दै रिलिज गर्ने योजना बनाएका छन् । फिल्मले दोस्रो पटक पनि राम्रो कारोबार गर्न सकेन भने १० दशमलब ५ करोड डलर घाटाका साथ चिनियाँ फिल्मको इतिहासमा सबैभन्दा बढी असफल फिल्मको सूचीमा यो फिल्म सूचीकृत हुनेछ।

विशेष इफेक्ट, स्टार कलाकार र ठूलो निर्माण समूह तथा उनीहरुलाई गरिएको खर्चका आधारमा यो फिल्मलाई सर्वाधिक महंगो फिल्मका रुपमा चित्रण गरिएको थियो । फिल्म रिलिज हुनु अघि फिल्मका एक प्रमुख निर्माता तथा निङजिआ फिल्म समूहका अध्यक्ष याङ होङताओले फिल्म ‘आसुरा’ चल्नेमा आफू विश्वस्त रहेको बताएका थिए । ‘यो एउटा काल्पनिक फिल्म हो । यो फिल्ममार्फत हाम्रो संस्कृति र स्थानीय प्रतिभालाई संस्कृतिको बारेमा आत्मविश्वास बढाउन चाहन्छौं,’उनले भनेका थिए।

यो फिल्मलाई झण्डै ६ वर्ष लगाएर अलिबाबा पिक्चर्स, झेन्झियान फिल्म स्टुडियो र निङजिआ फिल्म ग्रुपले निर्माण गरेको थियो । फिल्मले एक गोठालोले पौराणिक स्वर्गीय साम्राज्यलाई बाहिरी आक्रमणबाट कसरी बचाउँछ भन्ने कथा प्रस्तुत गरेको छ । फिल्म रिलिज हुनु अघि सरकारी मुखपत्र चाइना डेलीले ‘हिउँद यामको सबैभन्दा ठूलो ब्लकब्लष्टर फिल्म’को रुपमा ‘असुरा’ रहेको उल्लेख गरेको थियो ।फिल्मको आधिकारिक वेइबो एकाउण्टबाट गत आइतबार फिल्म हलबाट उत्रिएको सूचना प्राप्त गरेपछि निर्माताले फिल्म हेर्न नपाएका दर्शकसँग माफी मागेका छन् । फिल्म असफल भएपछि चिनियाँ तथा फिल्ममा आबद्ध अन्तर्राष्ट्रिय सदस्य प्रति पनि क्षमा मागेका छन् ।

फिल्म रिलिजको तीन दिनमा चिनियाँ फिल्म समिक्षा गर्ने वेभसाइट डौबेनमा अत्यन्त कम रेटिङ पाएको थियो । फिल्म हेरेपछि दर्शकले १० मा ३ दशमलब १ रेटिङ दिएका थिए ।विश्वकै ठूलो फिल्म बजार रहेको चीनमा ‘असुरा’ले हलिउडका प्रमुख फ्रेञ्चाइजी फिल्म ‘लर्ड अफ द रिङ्स’ वा ‘गेम अफ थ्रोन्स’को रेकर्डलाई ब्रेक गर्ने अनुमान गरिएको थियो । यसअघि झण्डै १ सय ५० मिलियन अमेरिकी डलरमा निर्माण गरिएको फिल्म ‘दी ग्रेट वाल’ पनि चिनियाँ बक्स अफिसमा नराम्रोसँग फ्लप भएको थियो।

चिनियाँ बक्स अफिस मोजोका अनुसार यसअघि पनि महंगो बजेटमा निर्माण गरिएका फिल्महरु दुःख लाग्दो किसिमले फ्लप बनेका छन् । जस अनुसार १ सय ५० मिलियन डलरमा बनेको ‘मार्स निड्स मम्स’ले ३९ मिलियन डलर, १ सय ३५ मिलियन डलरमा बनेको ‘स्टिल्थ’ले ७७ मिलियन डलर, १ सय ७ मिलियन डलरमा बनेको ‘द अल्माओ’ले २६ मिलियन, १ सय मिलियन डलरमा बनेको ‘द एडभेन्चर्स अफ प्लुटो नास’ले ७ मिलियन र ९८ मिलियनमा बनेको ‘कथरोट आइसलेण्ड’ले १० मिलियन मात्र ग्रस गरेको थियो। नागरिकमा खबर छ।





Comments

comments

Leave a Reply

24068