केमान टापुमा नेपालीबाटै ठगिन्छन्

काठमाडौं – भोजपुरका राजु कार्कीले क्यारिबियन समुद्रमा पर्ने केमान टापुमा साइकल चलाउन थालेको १४ महिना बित्यो । त्यो साइकलमा केमानका गल्लीभित्र छिर्न बाँकी सायदै होला । उनको साइकलको आफ्नै कथा छ।

एउटा नेपाली सुरक्षागार्डले आफू ड्युउटी जानआउन त्यो साइकल किनेका थिए । उनले गाडी किनेपछि जागिर खोज्दै हिंडेका अर्का नेपालीलाई दिए । भिसा अवधि सकिएका ती नेपाली प्रहरीको फन्दामा परेपछि फिर्ता पठाइए । त्यतिकै थन्किएर बसेको त्यो साइकल कार्कीले चलाउन पाए ।

‘यो देशमा मेरा लागि यही साइकल सहारा बनिरहेको छ । हरेक कम्पनीमा बायोडाटा हाल्न जाँदा यसले धेरै सहयोग गर्‍यो,’ उनले फोनमा भने, ‘अब योसँग पनि एक साताभन्दा बढी बिताउन पाइएला जस्तो छैन ।’ कार्कीको भिसाको अवधि जुलाई २२ सम्म मात्रै छ ।

दलालले उनलाई ३ हजार डलर कमाउने लोभ देखाएर केमान पठाइदिएका थिए । ‘म काठमाडौंस्थित वल्र्डवाइड ट्राभलका सञ्चालक पृथ्वीबहादुर शाहीलाई १६ लाख रुपैयाँ बुझाएर आएको हुँ । उसको केमानमै रहेका नारायण भन्ने गिरबहादुर आले मगरसँग सम्पर्क रहेछ,’ उनले भने, ‘उसले भनेको ३ हजार डलरको काम त परै जाओस्, एक डलरको काम पनि पाइएको छैन ।’

यो टापुमा नेपालीको संख्या मुस्किलले तीन सय पनि नाघेको छैन । म्यानपावर एजेन्सीले संस्थागत रूपमा कामदार पठाउने गरेको छैन । त्यहाँ काम गर्ने नेपालीले नै नेपालका ट्राभल एजेन्सी र आफन्तसँग मिलेर कामदार ल्याउने गरेका छन् । कान्तिपुरमा खबर छापिएको छ।





Comments

comments

Leave a Reply

24085