बिमस्टेक सम्मेलनमा बुलेटप्रुफ गाडी र जामर भाडामा ल्याइने

गृह मन्त्रालयले चौथो बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) सम्मेलनमा बुलेट प्रुफ गाडी र जामर भाडामा ल्याउने भएको छ ।

सुरक्षा निकायहरूसँग भएका साधनस्रोतसमेतलाई प्रयोग गर्नेगरी अपुग सवारी र जामर भारतबाट ल्याउने तयारी भइरहेको सम्मेलन व्यवस्थापन बैठकमा सहभागी एक सदस्यले बताए । यसका लागि परराष्ट्र मन्त्रालयलाई आवश्यक प्रक्रिया थाल्न पनि अर्थ मन्त्रालयले आग्रह गरिसकेको खबर कारोबारमा छापिएको छ।

प्रहरीसँग २ वटा जामर र ४ वटा बुलेटप्रुफ गाडी छन् । तर, नियमित रूपमा सञ्चालनमा नरहेका कारण आपतकालीन अवस्थामा समस्यामा पर्नसक्ने जानकारी प्रहरीले गराइसकेको छ । सम्मेलनका लागि २० वटा जीप, प्रतिगोटा ४० लाख पर्ने ६५० सीसीका ७४ वटा साइरन जडित मोटरसाइकल पनि किन्न प्रस्ताव गरेको छ।

यस्तै, प्रधानमन्त्री कार्यालय र राष्ट्रपति कार्यालयसँग पनि १/१ वटा बुलेटप्रुफ सवारी छन् । सेना र सशस्त्रसँग भएका बुलेटप्रुफ सवारी पनि सम्मेलनमा प्रयोग गर्नुपर्ने प्रस्ताव अर्थ मन्त्रालयले गरेको छ । २०७१ मंसिर १० र ११ गते काठमाडौंमा आयोजना गरिएको दक्षिण एसीयाली क्षेत्रीय सहयोग संगठन (सार्क)को १८ शिखर सम्मेलनमा पनि भारतबाटै सवारी, जामर लगायतका वन्दोबस्तीका सामान ल्याइएको थियो ।

विमस्टेकमा सम्मेलनमा सहभागी हुने भारत, बंगलादेश, श्रीलंका, म्यानमार, भुटान र थाइल्याण्डका सरकार तथा राष्ट्रप्रमुखका लागि भारतबाट बुलेटप्रुफ गाडी र नेटवर्क कन्ट्रोल उपकरण (जामर) ल्याउने तयारी भएको गृह मन्त्रालयका अधिकारीले पनि जानकारी दिए ।

विश्व राजनीतिमा प्रभावकारी मानिएका सरकार तथा राष्ट्रप्रमुखहरू सम्मेलनमा आउन लागेकोले यसको सुरक्षित र प्रभावकारी व्यवस्थापनमा कुनै कसरत बाँकी नराखिने परराष्ट्र मन्त्रालयका अधिकारीले बताएका छन् । बिमस्टेकको चौथो शिखर सम्मेलन आगामी भदौ १४ र १५ गते काठमाडौंमा हुँदै छ।





Comments

comments

Leave a Reply

24330