संसदीय समिति सभापतिमा हानथाप, को को हुन् बलियो दाबेदार?

प्रतिनिधिसभा नियमावली बनेको दुई महिनापछि संसदीय समितिहरूले पूर्णता पाएसँगै संसदीय समितिमा सभापतिका लागि शीर्ष नेताहरूको दौडधुप सुरु भएको छ ।

आजको राजधानी दैनिकले संसदीय समितिः सभापतिमा हानथाप शिर्षकमा पहिलो पृष्ठमा यो समाचार छापेको छ । प्रतिनिधिसभाका १० र राष्ट्रिय सभाका चारका साथै संयुक्त दुई समितिको सभापति चयन प्रक्रिया सुरु भएको हो ।

संसदीय दलले आवश्यक गृहकार्य गरेपछि समितिका सभापति चयन गर्ने प्रक्रिया अघि बढाउनेछ । समितिको सभापति चयनका लागि नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र प्रमुख सचेतक देव गुरुङले शीर्ष तहमा परामर्श गरिरहेका छन् ।

सबै समितिमा नेकपाको बहुमत रहेकाले लेखा समितिबाहेक अन्य समितिमा सोही पार्टीका सभापति हुने सम्भावना रहेको छ । यद्यपि, सत्तारूढ संघीय समाजवादी फोरमले एउटा समितिको सभापति अपेक्षा गरेको छ ।

नेता योगेश भट्टराई संसदीय सुनुवाइ विशेष समितिको सभापतिका बलियो दाबेदार हुन् । नेकपाका नेता घनश्याम भुसाल प्रतिनिधिसभाको अर्थ समितिको सभापतिको बलियो दाबेदारका रूपमा उभिएका छन् । कानुन न्याय तथा मानवअधिकार समितिमा कृष्णभक्त पोखरेल सभापति बन्ने लगभग निश्चित भएको छ ।

प्रतिनिधिसभाका संसदीय समितिमध्ये कम्तीमा तीन महिलाले सभापति पाउनेछन् ।

समाचारमा लेखिएको छ, राज्य व्यवस्था समितिको सभापतिमा अहिलेसम्म नेकपाले छलफल चलाएको छैन । पम्फा भुसाल, कृष्णगोपाल श्रेष्ठ र पूर्वडीआईजीसमेत रहेका नवराज सिलवालको नाम सभापतिको चर्चामा छ ।

विकास तथा प्रविधि समितिको सभापतिमा यज्ञराज सुनुवार र गणेश पहाडीको नाम चर्चामा आएको छ । त्यस्तै, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा पूर्णकुमारी सुवेदी र कृष्णप्रसाद दाहालले दाबी गरेका छन् । शिक्षा तथा स्वास्थ्य समितिको सभापतिमा खगराज अधिकारी र हितबहादुर तामाङको चर्चा छ ।





Comments

comments

Leave a Reply

24332