किशोरी हत्या प्रकरण : सुरु भएन रोशनी र बबिताको थप बयान

निर्मला पन्तको हत्या अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेका रोशनी र बबिता बमको बयान आइतबार पनि सुरु भएको छैन।

प्रहरीले आन्तरिक तयारी नसकिएकाले बयान ढिलो भएको बताएको छ ।

डीएसपी कृष्णराज ओझालाई अनुसन्धान अधिकृत तोकेर सूक्ष्म अनुसन्धान भइरहेको एसपी कुबेर कडायतले जानकारी दिए । ‘हामीले आन्तरिक रूपमा गर्नुपर्ने अनुसन्धानका विभिन्न चरणमा काम गरिरहेका छौं,’ उनले भने, ‘बम दिदीबहिनीलाई पक्राउ गरेपछि आज (आइतबार) म्याद सकिएकाले बयान लिन सकिएन, भोलि म्याद थपेर बयान लिनेछौं ।’

जिल्ला प्रहरीले अनुसन्धान गरिरहेको र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले समेत सघाइरहेको कडायतले बताए । ‘अनुसन्धान जिल्ला प्रहरीले नै गर्ने हो, सीआईबी टोलीले प्राविधिक रूपमा सघाउने मात्र हो,’ उनले भने । डीएसपी अंगुर जीसीको नेतृत्वमा तीन सदस्यीय सीआईबी टोली घटनालगत्तै महेन्द्रनगर आएको थियो ।

‘घटनाको केन्द्रविन्दु नै बम परिवारको घर हो,’ भीमदत्त नगरपालिका–१८, भगतपुरका एक वृद्धले भने, ‘प्रहरीले घटनाको जानकारी पाएपछि बम दिदीबहिनीलाई अनुसन्धान दायरामा ल्याउनुको साटो संरक्षण गर्दै निर्दाेष सर्वसाधारणलाई धरपकड गर्ने काम गर्‍यो ।’ प्रहरीले गाउँका सोझासाझा, शारीरिक रूपमा अशक्त र सुस्त मनस्थितिका व्यक्तिलाई छानी–छानी पक्राउ गरेर हत्याको जिम्मा लिन दबाब दिएको आरोप उनले लगाए । ‘जो पनि आउँछन्, यही घरका विषयमा सोध्छन्, के भएको, के हुन्थ्यो, जवाफ दिँदादिँदा थाकिसक्यौं,’ स्थानीय भन्छन् । कान्तिपुर दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

24574