त्रिमूर्ति पुरस्कार, शताब्दी पदक र कृति लोकार्पण

चौधौं त्रिमूर्ति दिवसका अवसरमा वाङमय शताब्दी पुरूष डा.सत्यमोहन जोशीले सोमबार राजधानी काठमाडौमा नेपाली भाषासाहित्यको श्रीवृद्धिमा समर्पित रहँदै शास्त्रीय छन्दकविताको रचना एवम् छन्दकाव्यको प्रचार प्रसार अभियानमा समेत संलग्न भई विशिष्ट योगदान गर्नुहुने दाङका श्री गणेश विषमलाई २०७५ सालको लेखनाथ पौड्याल पुरस्कार प्रदान गर्नुभयो।

ताम्रपत्रका साथै यो पुरस्कारको राशि एक लाख रूपियाँ रहेको छ ।

वाङमय शताब्दी पुरूष डा.सत्यमोहन जोशीले चिरीबाबु महर्जन, लक्ष्मीदास मानन्धर र सुजीव बज्राचार्यलाई ‘सत्यमोहन जोशी शताब्दी पदक’ प्रदान गर्नुभयो ।

त्रिमूर्ति निकेतनले नेपाल लगायत २५ राष्ट्रका हालसम्म २२३ जना महानुभावलाई ‘सत्यमोहन जोशी शताब्दी पदक’ प्रदान गरिसकेको छ ।

सोही समारोहमा शताब्दी पुरूष डा.जोशीले रोल्पाकी गायत्री घर्तीमगरको आत्मकथा ‘एकभूल’ र नरेन्द्रराज प्रसाईद्वारा लिखित ‘विद्रोही प्राज्ञ : प्रेमा शाह’ (जीवनी) पुस्तकको लोकार्पण गर्नुभयो ।

त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित सो समारोहमा शताब्दी पुरुष डा.सत्यमोहन जोशी, पुरस्कृत व्यक्तित्व गणेश विषम, डा.मोदनाथ प्रश्रित, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, प्रा.राजेन्द्र सुवेदी, प्रा.डा.उषा ठाकुर, प्रा.डा.गार्गी शर्मा, मदनदास श्रेष्ठ, यादव भट्टराई र त्रिमूर्ति निकेतनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले आआफ्ना मन्तब्य प्रकट गर्नुभयो ।

समारोहमा त्रिमूर्ति निकेतनका कार्यक्रम संयोजक भगवती बस्नेतले शास्त्रीय छन्दाेबद्ध कविता वाचन गर्नुभएको थियो ।

(नरेन्द्रराज प्रसाई)
सदस्यसचिव
त्रिमूर्ति निकेतन





Comments

comments

Leave a Reply

24586