मन्त्री मगरको लोकप्रिय नाराको कसले खुस्काइदियो हावा ?

मेलम्चीको चर्चा अझै सकिएको छैन । मेलम्ची आउला र धित मरुञ्जेल पानी पिउला भन्ने काठमाडौँ उपत्यकावासीको सपना अझै अधूरै छ ।

मेलम्चीको पानी ल्याएर काठमाडौँको धूलो मैलो पखाल्ने उद्घोष गर्दा गर्दै पूर्वप्रधानमन्त्री साधु नेता कृष्णप्रसाद भट्टराईको देहावसान नै भयो । नेपाल समाचारपत्रमा खबर छ।

जीवनभर शान्तिपूर्ण आन्दोलनमा लागेका नेपाली काँग्रेसका नेता भट्टराईले प्रधानमन्त्री हुँदा पनि ‘मेलम्ची सपना’ पूरा गर्न सक्नुभएन । उहाँले मात्र होइन, त्यसपछि बनेका विभिन्न प्रधानमन्त्री र खानेपानीमन्त्रीले त्यसलाई पूरा गर्न सकेको देखिएन । यद्यपि जो आए पनि त्यसलाई छिट्टै सम्पन्न गर्ने भाषण गरेर सर्वसाधारणलाई भ्रममा पार्न भने छाडेनन् ।

जनयुद्ध लडेर आएकी बहालवाला खानेपानीमन्त्री बिना मगरले पनि आफ्नो कार्यकालको लोकप्रिय नारा मेलम्चीलाई नै देख्नुभयो । र, मन्त्री पद सम्हालेको केही दिनमै भन्न थाल्नुभयो– ‘यो दशैँसम्म त मेलम्ची आउँछ ।’ तर उहाँको भाषण आधारहीन र हावादारी हुँदै जान थालेको उहाँ आफैँलाई महसूस भएको छ । किनकि यो दशैँमा पनि उपत्यकावासीले मेलम्ची पानीले चोखिने सम्भावना छैन ।

मंगलबार प्रतिनिधिसभाको बिकास तथा प्रविधि समितिको बैठकमा पटक–पटक सोधिएको प्रश्नमा मन्त्री मगरले मेलम्ची दशैँमा आउँछ भनेर भन्न सक्नुभएन ।

बरु विषयवस्तुलाई अन्यत्र मोड्दै उहाँले आफू मन्त्री भएपछि मेलम्ची ल्याउन दिनरात खटिएको दावी गर्नुभयो । अघिका मन्त्रीले काम नगरेकाले मेलम्ची ल्याउन अझै समय लाग्ने बताउँदै मन्त्री मगरले समस्या खानेपानी ऐनतिर तेस्र्याउनुभयो । उहाँले ऐन बनाउने काम अघि बढेको जानकारी दिँदै मेलम्चीको ३१ अर्वको योजनामध्ये २५ अर्व रुपैयाँ खर्च भएको स्वीकार्नुभयो ।

मंगलबारको छलफलमा सांसद्हरुले जनतालाई धेरै मेलम्ची सपना देखाइएको, उपत्यकामा खानेपानी पु¥याउन नसकेको, योजना गर्दा अन्तरमन्त्रालय समन्वय नभएको, पिउने पानी शुद्ध नभएको भन्दै मन्त्रीसँग जवाफ मागेका थिए । सबैजसो सांसद्ले भइरहेका पानीका स्रोत सुकेको, नयाँ सम्भावना नखोजिएको र अहिले बनाइएको मापदण्ड प्रभावकारी नभएको भन्दै मन्त्रीको ध्यानाकर्षण गराएका थिए । सबैजसो साँसद्ले मन्त्री मगरको आलोचना गरे भने केहीले आलोचना गर्दागर्दै अर्ती पनि दिए । धनकुटाबाट निर्वाचित प्रतिनिधिसभाका सांसद् राजेन्द्रकुमार राई (नेकपा) ले भन्नुभयो ‘सबैले गफ बढी गरे तपाईँ काम गरेर देखाउनुस्, युवा जोश जाँगर छ राम्रो काम तपाईँबाटै सुरु गर्नुहोला ।’

यति भन्दै राईले थप्नुभयो–अरुभन्दा खानेपानीमै काम ढिला हुन्छ, किन होला ? काठमाडौंबासीले पानी मात्र खान पाए ठुलो कुरा हुन्छ, तपाईको मन्त्रालयले गरेको राम्रो काम के हो त ?

सांसद् कमला रोकाले मेलम्चीको काममा भएको प्रगति विवरण जस्ताको त्यस्तै राख्न मन्त्री मगरसँग आग्रह गर्नुभएको थियो ।

सांसद्हरू केदार सिग्देल, टोपबहादुर रायमाझी, गौरीशंकर चौधरी, रंगमती शाही, आशाकुमारी बिक, टेकबहादुर बस्नेत, गणेश पहाडी, निरुदेवी पाल, मिनाक्षी झालगायतले उक्त मन्त्रालयका विषयमा गुनासो र भावी योजनाबारे प्रश्न गर्नुभएको थियो ।

समिति सभापति जीपछिरिङ लामाले खानेपानीको विषयमा धेरै गुनासो आएकाले मन्त्रालयको तयारी र योजनाबारे प्रष्ट पार्न मन्त्रीलाई बोलाइएको बताउनुभयो । समितिले यसअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई पनि बोलाएर छलफल गरिसकेको छ । समिति सचिव बंशीराज पौडेलले अन्य मन्त्रीसँग पनि यसरी नै छलफल गर्ने गृहकार्य भइरहेको जनाउनुभयो ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

24604