एसियाड भिजेलमा फोहर गर्दा नेपाललाई जरिवाना

काठमाडौं, ५ कात्तिक। खेलाडी र पदाधिकारीले फोहोर गर्दा १७औँ एसियन खेलकुद प्रतियोगिता एसियाडको आयोजकलाई नेपालले जरिवाना तिर्नुपरेको छ। आफू बसेको भिलेजका कोठाका भित्ता बिगारेको, फोहोर पोतेको र ढोकासमेत भाँचेको भन्दै आयोजकले क्षतिपूर्ति तिराएको हो।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले मंगलबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत एसियाडमा खेलाडीहरूले कोठा फोहोर गर्दा नेपालले तीन हजार डलर तिरेको खुलासा गरेका हुन्। उनले लेखेको छन्, ‘लाजमर्नु भयो, नेपालका खेलाडीले भित्तामा कोरेको, कोठा बिगारेको आदिको जरिवाना तीन हजार डलर राखेपले तिर्‍यो १७औँ एसियन खेलकुद आयोजकलाई।’

दक्षिण कोरियाको इन्चोनमा सम्पन्न एसियाडमा सहभागी नेपाली टोलीका सेभ द मिसन छिमी उर्गेन गुरुङले पनि खेलाडी र पदाधिकारीका कारण आयोजकले नेपाललाई जरिवाना गराएको स्विकारे। उनले भने, ‘खेलाडी र पदाधिकारीले गरेको नराम्रो कामका कारण नेपाललाई फाइन लागेको हो।’

इन्चोन भिलेजका लागि नेपालले राखेको डिपोजिटबाट जरिवाना तिरिएको गुरुङले जानकारी दिए। नेपालले ९४ लाख पाँच हजार रुपैयाँ डिपोजिट गरेको थियो। भिलेज खर्च र जरिवाना कटाएर आयोजकले १६ लाख एक सय १२ रुपैयाँ फिर्ता गरेको समाचार अाजको नयाँ पत्रिका दैनिक छापिएको छ।

गुरुङका अनुसार नेपाली टोली बसेको तीनवटा कोठा फोहोर पारिएको थियो। ‘नेपाली राष्ट्रिय यू–२३ फुटबल टोलीका खेलाडीले कोठाका ढोकासमेत क्रयाक पारेर आएका रहेछन्,’ उनले भने, ‘महिला राष्ट्रिय क्रिकेट टोलीले पनि कोठाको सिलिङ नै ड्यामेज गरेका रहेछन् । हामीलाई प्राप्त लिस्टमा महिला क्रिकेट खेलाडीले धेरै क्षति पुर्‍याएको उल्लेख छ।’

एसियाडमा १६ वर्षपछि सहभागिता जनाएको नेपाली पुरुष फुटबल टोली इन्चोनमा १३ गोल खाएर फर्केको थियो। महिला क्रिकेट टोली क्वार्टरफाइनलमा बंगलादेशसँग नराम्रोसँग पराजित हुँदै घर फर्केको थियो।

एसियाडमा गएका राष्ट्रिय खेलकुद परिषद्का प्रशासन प्रमुख कमल खनालको ३११ नम्बर कोठामा पनि फोहोर गरिएकाले जरिवाना तिर्न परेको गुरुङले जानकारी दिए। ‘परिषद्का माथिल्लो ओहोदामा बसेका खनालज्यूको कोठाको भित्ता फोहोर पारिएको रहेछ,’ गुरुङले भने, ‘कोठाभित्रै चुरोट सल्काएर कापर्टेमा ठोसेर निभाउँदा दाग बसेको आयोजकले दाबी गरेको छ।’

तर, खनालले आफू बसेको कोठामा फोहोर नभएको दाबी गरे। ‘हामी बसेको ३११ नम्बरको कोठा सफा पारेर आएका थियौँ,’ उनले भने, ‘हामीमाथि लगाइएको आरोप झुटो हो।’

स्रोतका अनुसार एसियाडमा सहभागी नेपाली पदाधिकारीहरूले आफू बसेको कोठामा रक्सीका बोतल, चुरोटका ठुटा फालेका थिए। ‘खेलाडीले भन्दा पनि नेपाली अफिसियलले नराम्रो काम गरे,’ स्रोतले भन्यो, ‘उनीहरूले कोठामा चुरोट र रक्सीले दुर्गन्धित बनाएर आए।’

परिषद्का आर्थिक विभाग प्रमुख वासु आचार्यले महिला राष्ट्रिय बास्केटबल खेलाडीले पनि आफू बसेको कोठा बिगारेको भन्दै आफूहरूसँग जरिवाना लिएको बताए। ‘हामीलाई प्राप्त लिस्टमा महिला बास्केटबल खेलाडीले भित्तामा फोहोर शब्द लेखेको, भित्ता बिगार्ने काम गरेको उल्लेख छ,’ आचार्यले भने, ‘अरूचाहिँ मलाई थाहा भएन।’

तर, नेपाल बास्केटबल संघका अध्यक्ष लामा टेन्डी शेर्पाले भने आफूलाई यसबारे जानकारी नभएको बताए। ‘मलाई अहिलेसम्म मेरो खेलाडीले आफू बसेको कोठा बिगारेको र उनीहरूका कारण जरिवाना तिर्नुपरेको जानकारी आएको छैन,’ शेर्पाले भने।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष ध्रुवबहादुर प्रधानले यसपटकको एसियाडमा नेपालले बढी फाइन तिरेको बताए। ‘मेरो अनुभवमा इन्चोन एसियाडमै यसपटक सबैभन्दा बढी फाइन तिरेको हुनुपर्छ, यसअघि सामान्य जरिवाना हुन्थ्यो,’ प्रधानले भने, ‘परिषद्कै पदाधिकारीहरू अनुशासनहीन भए।’ प्रधानका अनुसार २०१२ को लन्डन ओलम्पिकमा कोठाको साँचो हराउँदा नेपालले आयोजकलाई ३५ पाउन्ड तिरेको थियो।

लन्डन ओलम्पिकमै आयोजकले खेल अवधिका लागि दिएको सामसुङ मोबाइल ओलम्पिक कमिटीका अध्यक्ष प्रधान, महासचिव जीवनराम श्रेष्ठ, उपाध्यक्ष गंगाराम थापा र छिमी उर्गेन गुरुङले नेपाल नै लिएर आएपछि आयोजकले पत्र नै काटेको थियो। सो बराबरको पैसा खेलाडीलाई आउने पारिश्रमिकबाट काटिएको थियो।

इन्चोन एसियाडमा २५ खेलमा दुई सय चार खेलाडी, अफिसियल र प्रशिक्षकका लागि पाँच करोड ९० लाख ५५ हजार रुपैयाँ खर्च भएको थियो। खेलसँग असम्बन्धित पदाधिकारीले इन्चोन भ्रमण गर्दा थप ५० लाख रुपैयाँ सकिएको थियो। तर, आफ्नै खर्चमा गएकी करातेकी विमला तामाङले मात्र मुलुकलाई कास्यपदक दिलाइन्।





Comments

comments

2461