बन्दुक बनाएर बेच्ने पक्राउ

रौतहट, ११ कार्तिक। अवैध रूपमा हतियार बनाई बिक्रीवितरण गर्दै आएका एक जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ।

लामो समयदेखि घरेलु बन्दुक (नलकटुवा) बनाएर बिक्री गर्दै आएका जिंगडवा, बेलबिछवा–१ का ५५ वर्षीय बिन्दा हजरा दुसाध रंगेहात फेला परेको समाचार नागरिक दैनिकमा छापिएको छ।

गोप्य सूचनाका आधारमा उनलाई दुई थान बन्दुकसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। भारत, बिहारको मोतहारीस्थित ललबगियामा नलकटुवा पेस्तोल बनाएर नेपालमा बिक्री गर्ने गरेको सूचना पाएलगत्तै कार्यालयले सादा पोसाकमा प्रहरी खटाएको थियो। ग्राहक बनेर गएका प्रहरीले हजरालाई नलकटुवा बन्दुक बनाउन अर्डर दिए। मूल्य तोकियो, दस हजार रुपैयाँ। हजराले उनलाई करुनिया–१ स्थित लालबकैया नदीको बाँधमा बन्दुक ल्याइदिने बताए।

बाँधमा हतियार पुर्‍याउन आएका बेला प्रहरीले हजरालाई रङ्गेहात पक्राउ गरेका हुन्। उनलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। हजरा विगत दुई दशकदेखि बारा, पर्सा, रौतहट र सर्लाहीका विभिन्न स्थानमा भारतीय अपराधीको सहयोगमा डकैती तथा लुटपाटमा पनि संलग्न रहेको प्रहरीले जनाएको छ। आवश्यक अनुसन्धानपछि उनीविरुद्ध हातहतियार तथा खरखजाना ऐनअन्तर्गत मुद्दा चलाइने प्रहरी उपरीक्षक सानुबाबु थपलियाले बताए।





Comments

comments

2519