पोखरा । खारेजीमा परेका तर अन्यन्त्र नखटाइएका कमैचारीले साउन यताको तलब पाएका छैनन्।
संघबाट खारेजमा परेका कार्यालयमा चालू आर्थिक वर्षका लागि खर्च गर्ने अख्तियारी र बजेट नआएकाले उनीहरु तीन महिना यता बेतलबी बनेको खबर नागरिक दैनिकमा छ।
संघीय र प्रदेश सरकारबीच जिल्ला तहमा कस्तो संरचना बनाउने भन्ने टुंगो लागेको छैन।
नयाँ शासकीय संरचनामा प्रदेश र संघको चेपुवामा पर्दा कर्मचारीले जिम्मेवारी समेत पाएका छैनन्।
कर्मचारीलाई तलब खुवाउन अघिल्लो साता संघीय अर्थ मन्त्रालयको टोली समेत आएको थियो।
संघीय र पूदेशको अर्थ मन्त्रालय तथा प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयबीच स्थायी कर्मचारीको हकमा सम्बन्धित कार्यालयमा अख्तियारी पठाएर तलब खुवाउने समझदारी भएको थियो।
तर, सम्बन्धित कार्यालयमा अख्त्यिारी दिने मानिस नभएको हुँदा कर्मचारी तलबविहीन बनेका हुन्।