हङकङबासी गोरखा दाजुभाइ, दिदीबहिनी तथा भाञ्जाभाञ्जीहरुलाई विशेष आह्वान

आदरणीय हङकङवासी ब्रिटिश गोरखा दाजुभाइ, दिदीबहिनी तथा भाञ्जाभाञ्जीहरु अभिवादन ।

ब्रिटिश गोरखा र गोरखा सन्ततिहरुले युके र हङकङको सम्मानार्थ नागरिकता प्राप्त गरेता पनि आफ्नो नेपाली वंशजको नागरिकता यथास्थिति मै निरन्तर रहने र नेपाल बाहिर जन्मले गोरखाका भावी सन्ततीहरुले वंशजको नेपाली नागरिकता पाउने प्रष्ट ब्यवस्था संबिधान संशोधनमार्फत सुनिश्चित गराउन युद्धस्तरमा पहल भईरहेको अवगत गराउन चाहन्छु।

यो बिषयमा हङकङबाट पनि सशक्त आवाज उठ्न अत्यावश्यक छ भनेर सन २०१६ मा हङकङमा एक जानकारी सभा आयोजना गरी एउटा समितिसमेत गठन गरिएको थियो। तर अपेक्षा गरेअनुसार कुनै पहल हुन सकेन। तर नेपाली वंसजको नागरिकता युकेवासी गोरखा परिवारलाई भन्दा हङकङवासी गोरखा परिवारहरुलाई अझ आवश्यक छ भन्ने हाम्रो बुझाई छ। तर हङकङबाट कुनै पहल या आवाज पनि नउठ्दा, हङकङका गोरखाहरुलाई चाहिएको छैन। उनीहरु बोलेका छैनन् भनेर सम्बन्धित सरकार पक्षले पटक पटक प्रश्न गर्ने गरेका छन्। तर हामीले यो बिषयमा हङकङ र युकेलाई अलग-अलग देशका रुपमा हेर्न नहुने तर्क राख्दै आएका छौं।

यथार्थमा, नागरिकता भनेको लिने नलिने, त्याग्ने सम्बन्धित नागरिक कै सर्वभौम अधिकार भएकाले हङकङबासीले आँफै आफ्नो नागरिकता निरन्तरताको दाबी नगरिन्जेल सही अर्थमा यो मुद्धा दह्रो बन्दैन। त्यसैले तपाईंहरु यो अवसरमा आफ्नो र भावी सन्ततिको नेपाली नागरिकताको अधिकार सुरक्षित गर्न, “ ब्रिटिश गोरखा नेपाली नागरिकता निरन्तरता संघर्ष समिति युके, नेपाल ” (BGNCCSC-UK/Nepal) सँग आर्थिक, नैतिक एवं भौतिकरुपले जोडिन अत्यावश्यक छ।

साथै यो ऐतिहासिक एवं महत्वपूर्ण अभियान भएकाले यसमा योगदान पुर्याउने गोरखा र गोरखा परिवारको नाम र योगदानको बिवरण अभिलेखिकरणका लागि पुस्तक र शिलालेख समेत निर्माण गर्ने योजना गरिएकोछ । जसले गर्दा आन्दोलन सफल, असफल जे भए पनि आफ्ना अविभावकको योगदान भविष्यमा आफ्नै सन्ततिहरुले हेर्न सक्नेछन्।

BGNCCSC- UK/Nepal को अहिलेको योजना, संसदको हिउदे अधिवेशन आरम्भ हुनअघि सभामुख र सबै पार्टीका प्रमुख सचेतकहरुसँग परामर्श गरी सम्पूर्ण संसदहरु समावेश गर्नेगरी सभामुख कै प्रमुख आतिथ्यमा एउटा बिशेष सहमति सभा सम्पन्न गरे पश्चात हिउदे अधिवेशन आरम्भ भएपछि संसोधन प्रस्ताव दर्ता गराउने कार्यक्रम रहेको छ। यो कार्यक्रम सम्पन्न गर्न र अन्य बिभिन्न प्रभावकारी कार्यक्रमहरु गर्न ठूलो धनराशी चाहिने भएकाले प्रत्येक गोरखा र सरोकारवाला सन्ततिहरुले यो जटिल एवं महत्वपूर्ण समयमा यथासक्दो आर्थिक योगदान पुर्याइ आफ्नो र आफ्नो भावी सन्ततिको पहिचान र राष्ट्रियताको अधिकार सुनिश्चित गर्न यहाँहरु सबैलाई आह्वान गर्दछौ।

हाम्रो पुस्ता यो अधिकार स्थापित गर्न असफल भयौं भने भावी पुस्ताले यो अधिकार सधैंका लागि गुमाउने छन्।

आफ्ना सन्ततिहरुको उज्वल भविष्य खोज्दै हङकङ, युकेमा बसोवास गरेर भविष्यमा तिनै प्यारा सन्ततिहरुलाई शरणार्थी त बनाउदै छैनौ? छातिमा हात राखेर सोचौं।

धन्यवाद !!! जय गोरखा !!!!

सन्तोष थलङ
संयोजक
BGNCCSC – UK/Nepal





Comments

comments

Leave a Reply

25389