स्वीटजरल्याण्डको जुरिचमा देउसी भैलो

गुणराज शर्मा / एचकेनेपाल डट कम-
नेपाली जन सम्पर्क समिति स्वीटजरल्याण्डको आयोजनामा शनिवार देउसी भैलोको साथमा लक्ष्मी जयन्ती एवं तिहार कार्यक्रम जुरिचमा सम्पन्न भएको छ।

लक्ष्मी पुल्भर र पेमा लामाले तयार पार्नु भएको नेपाली सेल रोटी र अचार (अपेरो)को स्वागत संगै शुरु भएको उक्त कार्यक्रम दुई चरणमा सम्पन्न भएको थियो। पहिलो चरणको औपचारिक कार्यक्रममा विभिन्न संघ सस्थाका प्रतिनिधिलाई आसन ग्रहण गराईएको थियो। राष्ट्रिय गानसंगै शुरु भएको कार्यक्रममा समितिका निवर्तमान अध्यक्ष गुणराज शर्मा र गैरआवासीय नेपाली संघ स्विटजरल्याण्डका अध्यक्ष धर्म गुरुङले शुभकामना मन्तब्य राख्न्नु भएको थियो भने रमिता महर्जनले महाकवि देवकोटाका बारेमा कविता वाचन गर्नु भएको थियो। समितिका उपाध्यक्ष प्रेम सापकोटाको स्वागत मन्तब्य, महामन्त्री तिलक थापाद्वारा संचालित उक्त कार्यक्रमको सभापतित्व समितिका अध्यक्ष रामकुमार महतोले गर्नुभएको थियो।

अलि अलि बढ्दै गएको चिसो मौसम बिस्तारै तात्दै थियो जब दोस्रो चरण सास्कृतिक कार्यक्रमको सुरुवातसंगै स्टेजमा आएका स्थानीय कलाकार दृष्टिविहीन दाजुभाई सुदिप र संजय फ्रौंउनफ़ेल्डेरले आफ्नो प्रस्तुति गरेका थिए भने तिलक थापा,लक्ष्मी पुल्भर र पेमा लामाले दोहोरी खेल्नुका साथै लोक गीत प्रस्तुत गर्नु भएको थियो। जब जर्मनीको म्युनिखबाट आएकी अथिति कलाकार रमिता महर्जनले “यो हो मेरो माईती घर” बोलको गीतमा नृत्य गर्दा हलको माहौल नै नेपालमय बनेको थियो उहाँले सबैको मन जित्न सफल हुनु भएको थियो। त्यस लगत्तै कार्यक्रमको प्रमुख आकर्षण देउसी भैलो खेलिएको थियो।

समितिका महामन्त्री तिलक थापाको नेतृत्वमा खेलिएको भैलोले सबैलाई आफूहरु नेपालकै आफ्नो गाउंमा भएको महसुस गराएको थियो। भैलिमा सिमा गौतम, पेमा लामा, दक्षिणा थापा, दिव्या ढकाल, एन्जिला रिमाल, दिपा खड्का, लक्ष्मी महतो श्रेष्ठलगायातले साथ दिनु भएको थियो। उक्त भैलिबाट ३२७ स्विस फ्रान्क संकलन भएको जानकारी गराईएको थियो।

दिल गौतम, दल पुन र विरू गुरुङलगायतको टिमले तयार गरेको स्वादिष्ट नेपाली खानासंगै कार्यक्रमको अर्को आकर्षण भाग्यशाली चिठ्ठा खोलिएको थियो। पुरस्कार जित्न सफल हुने भाग्यमानीहरुमा प्रथम पुरुस्कार बर्न निवासी चिठ्ठा नं- ५८ सोनिमा गुरुङ, दोस्रो पुरुस्कार जुरिच निवासी चिठ्ठा नं -१२८अर्जुन, तेस्रो पुरस्कार -बर्न निवासी चिठ्ठा नं-०३ अच्युत फुयाल र बुख निवासी चिठ्ठा नं ९२ इफ्रान ,सान्त्वना पुरस्कार -जुरिच निवासी चिठ्ठा नं ०६ दिपक थपलिया, दिटीकोन अरगाउ निवासी चिठ्ठा नं – २५ गौरी बर्तौला , डेलीमोन्ट निवासी चिठ्ठा नं – ४७ ,बिन्दु जराल र पुरस्कार सरप्राईज लेन्जबर्ग निवासी चिठ्ठा नं – ११९ एङ्किला रिमाल प्राप्त गर्नु भएको थियो। बारको संयोजन तेम्वा गुरुङले गर्नु भएको थियो भने गुणराज शर्माले संयोजन गर्नु भएको डिजेमा सहभागीहरु अबेर सम्म नाचेका थिए। कार्यक्रमको अन्तमा आयोजक समितिका अध्यक्ष महतोले कार्यक्रम सफल बनाउनका लागि सहयोग गर्नुहुने सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्नु भएको थियो।





Comments

comments

2552